
वीरगंजः करारमा शिक्षक नियुक्त गरिदिने भन्दै एक आवेदकबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयको टोलीले शुक्रवार साँझ ७ बजे वीरगंजमा ६ जनालाई घुससहित पक्राउ गरेको हो। हेटौंडा कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण खड्का नेतृत्वको टोलीले वीरगंज –८ पानीट्याङ्कीस्थित एक खाजा पसलमा घुस लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालय प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं ३१ बेल्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा परसौनीका प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनीर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जालिम मियाँ, इजलास मियाँ एवं विद्यालय व्यवस्थापन समितिकी सदस्य सबिता खातुनका श्रीमान् नजमुद्दीन देवान गरी ६ जना रहेका छन्।
अख्तियारले परीक्षा पास गराई दिने भन्दै घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ। सबुत प्रमाणसहित पक्राउ परेका ६ जनालाई थप अनुसन्धानको लागि हेटौंडा लगिएको छ।
भदौ २८ गते शनिबारका दिन शिक्षक छनोट समितिले गणित विषयको लागि आधारभूत तहको लागि करारमा शिक्षक नियुक्ति गर्न लिखित परीक्षाको समय तोकेको छ।