PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पोखराको क्षेत्रीय एयरपोर्टलाई सजिलो बनाउन दशैंपछि डाँडा नै काट्ने तयारी, विमानस्थलको आधा काम सकियो



वसन्तराज उप्रेती

पोखराको क्षेत्रीय एयरपोर्टलाई सजिलो बनाउन दशैंपछि डाँडा नै काट्ने तयारी, विमानस्थलको आधा काम सकियो

काठमाडौं : पोखरा क्षेत्रीय विमानस्थल निर्माण काम करिब आधा सकिएको छ। गएको साउनसम्मको प्रगति विवरण अनुसार विमानस्थल निर्माण कार्य ४७ प्रतिशत सकिएको विमानस्थलका उपनिर्देशक विनेश मुननकर्मीले जानकारी दिए।

हाल विमानस्थलमा टर्मिनल विल्डिङको ९० प्रतिशत काम सकिएको बताउँदै उनले भने, 'टर्मिनल विल्डिङको काम ९० प्रतिशत सकिएको छ।आउँदो डिसेम्बरभित्र भवनको छानो छाउने काम सकिनेछ। टर्मिनल विल्डिङ बाहेक १३ वटा भवन मध्ये १० वटा भवन निर्माण सम्पन्न गर्नेछौँ। वालमा आरसीसी ढलान गरिएको कन्ट्रोल टावरको छैटौँ तल्लाको ढलान सुरु भएको छ। काम तीब्र गतिमा अगाडि बढिरहेको छ।'

उनका अनुसार विमानस्थलमा माटो भर्ने काम ८५ प्रतिशत सकिसकेको छ।

विमानस्थल प्रयोजनका लागि आवश्यक उपकरणका लागि चीनमा अर्डर गरिसकेको उनले बताए। आउँदो डिसेम्बर भित्र विमानस्थलमा प्रयोग हुने स्केलेटर, ब्यागेज ह्याण्डलिङ सिस्टम लगायत उपकरण ल्याउने योजना रहेको उनले जानकारी दिए। हालसम्म विमानस्थल  निर्माणका लागि छुट्टाइएको छ अर्ब रुपैयाँ मध्ये ३२ प्रतिशत भुक्तानी भइसकेको मुननकर्मीले बताए। यससँगै उडानमा अवरोध गर्ने डाँडा भने दशैंपछि मात्रै कटान गरिने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज/उडान अवतरण गर्न कठिन हुन देखिएपछि अर्गौँचोकबाट दक्षिण भागमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने भएको हो। प्राधिकरणको प्रविधिक टोलीले विमानस्थलमा जहाज उडान/अवतरण गर्दा चालकलाई मानसिक रुपमा असर पर्ने देखिएपछि डाँडाको २४.७ मिटर उचाई काट्नैपर्ने जनाएको थियो।

उनका अनुसार विमानस्थल संचालनका लागि डाँडा कटान छ महिनामा सकिनेछ।

'जग्गाधनीले डाँडा कटानका लागि काम सुरु गरिसक्नुभएको छ। डाँडा कटान गरेर निस्किएको माटो व्यवस्थापनका लागि बेसमेन्ट बनाइसक्नुभएको छ। रुख कटानका लागि वन मन्त्रालयसँग समन्वय गर्दै हुनुहुन्छ। दशैं लगत्तै उहाँहरुले डाँडा कटानको काम सुरु हुने आशा लिएका छौँ,' उनले भने।

उनका अनुसार डाँडा कटानका लागि छ महिना समय लाग्नेछ। विमानस्थल संचालनका लागि डाँडा कटानसँगै मैदी ताल विस्तार गरिने भएको छ। डाँडा कटान गर्दा नजिकै रहेको मैदी ताल विस्तारको लागि छलफल भइरहेको स्थानीय गोविन्द तिमल्सिनाले जानकारी दिए।

'डाँडा नजिकै मैदी ताल रहेको छ। माटो उत्खनन गर्दा ताललाई चार गुणा ठूलो बनाइने योजना रहेको छ। पर्यटन प्रवर्द्धनका लागि ताल विस्तार गर्न लागिएको हो,' उनले भने।

डाँडा कटान गर्दा न्यूनतम पाँच लाख घनमिटर ग्राभेल माटो उत्खनन हुने प्रक्षेपण रहेको जग्गाधनी तिमल्सिनाले जानकारी दिए। उनका अनुसार ग्राभेल माटो परीक्षण गर्दा विमानस्थल निर्माणका लागि उपयोगी देखिएको छ।

'डाडा कटान गर्दा रातो माटो र ग्राभेल माटो निस्कने सर्वेक्षणले देखाइसकेको छ। परीक्षण गर्दा यहाँबाट निस्कने रातो माटो बाहेक न्यूनतम पाँच लाख घनमिटर ग्राभेल माटो निस्किनेछ। माटो खरिद गर्ने चिनियाँ कन्स्ट्रक्टर कम्पनी हो। कम्पनीले इच्छा देखाएको अवस्थामा हामी ग्राभेल माटो विमानस्थल निर्माणका लागि बिक्री गर्नेछौँ। ढुवानी सहजताको हिसाबले उहाँहरुले खरीद गर्नुहुन्छ भन्ने आशा लिएका छौँ,' तिमल्सिनाले भने।

माटो उत्खननका लागि हाल बेसमेन्टको काम ४० प्रतिशत सकिएको उनले जानकारी दिए। स्थानीय र प्राधिकरणको सहकार्यमा बेसमेन्टसम्म पुग्नका लागि तीन सय मिटरको २५ फिटे सडकमार्ग तयार गरिसकेको उनले बताए।

हाल निर्माण गरिएको बाटोमार्फत दैनिक दुई हजार घनमिटरको परिणाममा माटो ओसार्न सकिने उनले जानकारी दिए। उनका अनुसार सरकारसँग १० लाख ७० हजार घनमिटर परिणामको माटो उत्खनन गर्नका लागि इजाजत लिइएको छ।

'नगरपालिकाको निर्णय अनुसार हामीले १० लाख ७० हजार घनमिटर माटो उत्खनन गर्ने अनुमति पाएका छौँ,' उनले भने। जग्गाधनीले माटो उत्खननका लागि पहिलो  चरणमा पाँच प्रतिशत धरौटीवापत एक लाख ८० हजार रुपैयाँ  बुझाइसकेको उनले बताए।

उनका अनुसार रुख कटानका लागि वन मन्त्रालयमा एक महिना अगाडि पत्र बुझाइसकिएको छ। वन तथा वातावरण विभागको इजाजत आएपछि डाँडा कटानको काम सुरु गर्ने तिमल्सिनाले बताए। रिठ्ठेपानी डाँडामाथि १४ रोपनी आफ्नै जग्गा रहेको तिमल्सिनाले जानकारी दिए।उनका अनुसार डाँडामा रहेको नेपाल टेलिकमको टावर पनि स्थानान्तरण भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell