PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

चिनियाँ संस्कृतिसँग पहिलो साक्षात्कार : गुरुसँगको 'चियर्स' देखि मुन केकको स्वागत



विधुर ढकाल

चिनियाँ संस्कृतिसँग पहिलो साक्षात्कार : गुरुसँगको 'चियर्स' देखि मुन केकको स्वागत

बिहीवार मध्यरातदेखि नै एकनास पानी परिरहेको छ। चीनमा अधिक मनाइने पर्व मध्येको एक 'मिड अटम फेस्टिभल'को बिदामा शुक्रबार पुरै चीन रमाइरहेको छ। आठौँ लुनार महिनाको १५औँ दिनमा मनाइने यो पर्वको आफ्नै मान्यता रहेको छ।

चीन आएको दोस्रो सातामा चीनको संस्कृतिसँग साक्षात्कार हुने दुई मौका मिल्यो। पहिलो 'टिचर्स डे' दोस्रो 'मिड अटम फेस्टिभल' (पूर्णिमा)। चीन यतिवेला एक महिनादेखि आफ्नो ७०औँ स्थापना दिवस मनाउने तयारी गरिरहेको छ। अक्टोबर १ मा मनाइने चीनको स्थापना दिवसका लागि शहरहरु यतिवेला रंगीरहँदा शुक्रबार चीनभर मिड अटम फेस्टिभल मनाइएको छ।

मिड अटम फेस्टिभलको अघिल्लो दिन चिनियाँ राष्ट्रपति सी जिङपिङ बेइजिङको पहाडी बस्ती जहाँ पार्टीका संस्थापक माओसेत्तुङले आफ्नो संघर्षपूर्ण जीवन बिताएका थिए त्यहाँ पुगे र पछिल्लो सात दशकमा देशले हासिल गरेको उपलब्धिलाई एकतावद्ध गराउन पार्टी तथा देशले मिलेर काम गर्नुपर्ने बताए।

सन् १९४९ मार्च २३ मा माओले हेवेइमा रहेको क्रान्तिकारी बेस क्याम्प छाडेर बेइजिङ प्रस्थान गरेका थिए र यही पहाडी बस्तीमा अड्डा जमाएका थिए। यही बस्ती चिनियाँ क्रान्ति तथा नयाँ जनवादी क्रान्तिको हेडक्वार्टर थियो।

उनले यति भनिरहँदा पूरा देश मिड अटम फेस्टिवलमा गर्मीलाई बिदा गर्दै जाडो यामलाई स्वागत गर्ने तयारीमा थियो। भलै दिनभर सूर्य देखिएन्। बादलले आकाश ढाकेको थियो। पूर्ण चन्द्रको दर्शन असम्भव जस्तै तर पनि मानिसहरू आफ्नो पारिवारिक मिलनमा व्यस्त थिए।

के हो मिड अटम फेस्टिभल?

३००० वर्ष पुरानो चोउ शासनकालदेखि यस वर्षको सुरुवात भएको मान्यता रहँदै आएको छ। आदिमकालमा अधिकांश शासकहरूले चन्द्रमालाई वर्षमा एकपटक पूजा गर्दै आएका थिए। पछि यो परम्परा अगाडि बढ्दै गयो शासकहरूले यस पर्वलाई अन्न भित्र्याउने पर्वको रूपमा मनाउँदै आएका थिए। अहिले पनि यो पर्वलाई अन्न भित्र्याउने पर्वको रूपमा मनाइँदै आइएको छ।

यस पर्वमा सबै भन्दा बढी खाइने पकवना मुन केक हो। यसको सुरुवात युआन शासनकाल देखि सुरुवात भएको मानिन्छ। मंगोलहरुको शासन हुँदा मंगोल विरुद्ध विद्रोहको सन्देशसहित मुनकेकको सुरुवात भएको मानिन्छ।

आजभोलि यो पर्वलाई देशैभर मनाइँदै आएको छ। सन् २००८ देखि चीन सरकारले यस पर्वमा बिदा दिँदै आएको छ। अधिकांश कामदार तथा विद्यार्थीहरू यसलाई व्यस्त जीवनबाट आराम लिँदै परिवारसँगको मिलनका लागि सदुपयोग गर्ने गर्दछन्।

त्यसैले यस पर्वलाई परिवारसँगको पुन:मिलनका साथ चन्द्रमाको भोजनसहित मनाउने प्रचलन रहेको छ।

चन्द्र पर्वको रूपमा परिचित यस पर्वको विषयमा पौराणिक कथा पनि लुकेको छ।

एकादेशको कथा भन्दै अझै पनि बालबालिकाहरूलाई होउ यी र चाङ इका कथाहरू सुनाइन्छ। एकादेशमा १० सूर्य थिए। उनीहरूले खाद्यान्न नष्ट गर्नुका साथै मानिसहरूको मृत्युको कारण बनेका थिए। राजा होउ यीले १० मध्ये ९ सूर्यलाई खसाले। उनले मौसम परिवर्तन गराए। र धेरैको जीवन बचाए। होउ यी अझै पनि पृथ्वीमा रहेको मौसम परिवर्तन गराइरहेको मान्यता रहेको छ। होउ यीले चाङसँग भेट गरे प्रेममा परेर विवाह पनि गरे।

होउले आफ्नो सम्पूर्ण जीवन चाङसँग बिताउन चाहन्थे। उनी पश्चिमा महारानीकोमा पुगेर आफूले पृथ्वीका लागि राम्रो काम गरेको भन्दै मृत्यु नहोस् भनेर वर मागे। रानी सहमत भइन्। होउ घर फर्किए। आठौँ पूर्णमासको १५औँ दिन पूर्ण चन्द्र देखिँदै थियो। होउ र चाङ बसेर पिउने योजना बनाएका थिए। फेङ मेङ नामको राक्षस आएर सञ्जीवनी दाबी गर्‍यो।

१५औँ दिनको दिन होउ सिकाबाट घर फर्किँदै थिए। फेङ होउको घरमा गएर चाङसँग जबरजस्ती सञ्जीवनी लिन खोज्यो। चाङ लडेर फेङलाई परास्त गर्न सक्दैनथिन्। त्यसैले उनले सबै सञ्जीवनी पिइन्। जब होउ घर फर्किए त्यतिवेला चाङ स्वर्ग पुगिसकेकी थिइन्। चाङले स्वर्गमा चन्द्रमामा बस्ने निधो गरिन् जुन पृथ्वीबाट नजिक थियो। होउले चन्द्रमा हेर्दै फलाहार चढाउन थाले। योसँगै मानिसहरू पनि चन्द्रमालाई पूजा गर्न थाले।

+++++

आज पनि यही कथा जताततै सुनाइन्छ। चीन आएको दोस्रो साता यही पर्व लाग्दै थियो। म आएको विश्वविद्यालयको स्कुल अफ पब्लिक अफियर्स एण्ड एडमिनिस्ट्रेसनको सेमिनारमा पनि यही कथासहितको भिडियो देखाएर शुभकामना साटासाट गर्दै मुन केक बाँडियो। यो नै युनिभर्सिटीभित्र स्कुलले गरेको पहिलो स्वागत थियो अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई। अबको दुई वर्ष सबै एक भएर पूर्ण रूपमा परिवारको जस्तै एक ढिक्का भएर मिहिनेतका साथ सफलताको शुभकामना पाइयो गुरुहरुबाट।

मुन केकभित्र पनि आफ्नै मान्यता लुकेको। परिवारको पुन:मिलनको सेम्वोलका रूपमा मुन केक खाइँदो रहेछ। गोलो आकारको सानो यो केक ज्यादै मिठो। यसको गोलाईले परिवारको पूर्णता र एकतालाई सम्बोधन गर्ने गरेको छ। पूर्ण चन्द्रमाको आकारले परिवारको समृद्धि र पुनर्मिलनलाई अंकित गर्ने रहेछ।

लाग्छ मुन केक एउटा परिकार मात्र होइन यो एउटा चिनियाँ सांस्कृतिक परम्परा नै हो। जुन चिनियाँहरूको मनमा बसेको छ। परिवारमा सबै एक साथ बसेर मुन केक खाँदै मनाइने यो पर्वमा अहिले साथी भाइ इस्टमित्रहरुमा प्रेम प्रकट गर्ने पर्वको रूपमा विकास हुँदै आएको छ।

गुरुसँग चियर्स

नेपालमा रक्सी खानु त्यो पनि परिवार र गुरुका साथ अझै पनि सोच्न र कल्पना भन्दाको बाहिरको कुरो लाग्छ। हुन त बेला बेलामा गुरुहरूसँग पनि खाइयो। तर विशेष होइन।

चीन आएको दोस्रो साता हुन लाग्दा मंगलबार विच्याटमा एक अफगानी साथी फैसलको (हामी भन्दा सिनियर)को म्यासेज आयो-‘भोलि यहाँको टिचर्स डे हो। चिनियाँ विद्यार्थीहरूले सुपरभाइजर प्रोफेस हान होङलाई मिलेर खुवाउने कार्यक्रम छ। हामीलाई पनि बोलाएका छन्। सँगै जाउँला।’

लगत्तै चिनियाँ साथी लियोङको पनि म्यासेज आयो- ‘टिचर्स डेमा प्रोफेसरलाई ट्रिट दिने कार्यक्रम बनेको छ। सक्नुहुन्छ भने तपाईँ पनि आउनुहोला।’ लियोङ हाम्रै व्याजका उनी चिनियाँ भाषामा पत्रकारितामा स्नातकोत्तर गर्दैछन्। उनका सुपरभाइजर र मेरा सुपरभाइजर हुन हान होङ।

मैले ओके भने।

खासै चिनियाँ संस्कृतिसँग साक्षात्कार नभएको मलाई कस्तो होला के होला भन्ने थियो। पुगेपछि रमाइलो अलि आश्चर्य दुबै एकैसाथ भयो।

विश्वविद्यालय बाहिरको प्याराडाइज वाल्कमा थियो कार्यक्रम। अफगानी साथी फैसलले अन्तिम समयमा सहभागी हुन नसक्ने सन्देश पठाए। चिनियाँ विद्यार्थीहरू पहिले नै पुगेका थिए। हामी दुई नेपालीमात्र थियौँ कार्यक्रममा विदेशीका नाममा।

प्रोफेसरको आगमन भयो। आफ्नो रोजाइको परिकार टेबुलमा लिएर राखियो। चिनियाँहरूले के के ल्याए थाहा भएन। तर मैले फ्राइड राइस ‘भुटेको भात’ अलिकति चाउमिन ‘चो मियान’ अलिकति चिकन्। अलिकति गोपी सेमीको तरकारी ल्याएँ।

कार्यक्रमको सुरुवात ‘चियर्स’बाट। सबैको अगाडि बियरको क्यान थियो। मेरो अगाडि थिएन। सबैले चियर्स गर्दा खाली बस्नु त भएन। अर्को टेबलमा एउटा क्यान सायद मलाई नै हेरिरहेको थियो कि? उठाएँ चियर्स गरेँ। चिनियाँ भाषामै शुभकामना साटासाट। नबुझे पनि बुझेजस्तै गरेँ।

खाना चल्दै थियो। चारवटा टेबलमा हामी बसेका थियौँ। पहिलो टेबलमा बसेका पाँच जना विद्यार्थी उठेर आए। प्रोफेसरसँग फेरि चियर्स गरे। चिनियाँ भाषामा के के भने। प्रोफेसरले पनि के के भने। बुझे पो। उनीहरू बसे। प्रोफेसरले अर्को चुस्की लगाउन भ्याएका थिएनन्। फेरि अर्को टेबलका सिनियर उठेर आए। चियर्स गरे। के के भलाकुसारी गरे। पालो जुनियर चिनियाँ विद्यार्थीको। उनीहरू पनि त्यस्तै क्रम दोहोरियो। अब त पालो हाम्रै होला।

संस्कृतिसँग नभिजेका हामी दुई नेपाली अलमलमा। अगाडि बसेकी ‘क्याण्डी’ चिनियाँ विद्यार्थी अरूभन्दा बेसी अङ्ग्रेजी बोल्न जानेकी। तर, बेला बेलामा आफ्नो अंग्रेजी नाम नै भुल्ने। विदेशीलाई सहज होस भनेर अंग्रेजी नाम राखेकी थिइन्।

उनले भनिन्- ‘यो हाम्रो कल्चर हो। गुरुलाई खुसी पार्ने। गुरुसँग नजानेको कुरा सोध्ने। गुरुको आशीर्वाद लिने। तिमीहरू पनि गर्न सक्छौँ।’

हामी पनि उठ्यौँ। ‘प्रोफेसर, इट्स आवार प्लेजर टु ह्याभ यु एज आवर सुपरभाइजर,’ हामीले भन्यौँ।

‘स्पिक अप मोर,’ प्रोफेसरले भने।

सायद यो लामो अवधिभर मौन भएर सबै क्रियाकलाप हेरिरहेको नोटिस गरेका थिए कि।

बेलाबेलामा अनौपचारिक साक्षात्कार हुन्थ्यो। नेपाली रक्सीको नेपाली बियरको। चीनको लोकल रक्सी वाइच्यो। हामीले हाम्रो मार्फाको लोकल रक्सीको प्रचार गर्‍यौँ। नेपाली खानाको। मोमोको।

उनलाई मोमोको बारेमा थाहा रहेछ। यो त हाम्रै हो नि तिमीहरूले लगेको। उनी भन्दै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell