PahiloPost

Jun 15, 2025 | १ असार २०८२

चिनियाँ राष्ट्रपति नेपाल आउँदा केरुङ-काठमाडौं सुरुङ मार्गको सम्झौता : रक्षा मन्त्री पोखरेल



रासस

चिनियाँ राष्ट्रपति नेपाल आउँदा केरुङ-काठमाडौं सुरुङ मार्गको सम्झौता : रक्षा मन्त्री पोखरेल
टोखाको झोरमहाँकालस्थित बालमैत्री पार्कको अनावरणपछि अवलोकन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल। फोटो : रासस

काठमाडौँ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्।

टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए। उनले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको बताए।

'सार्वजनिक खरीद ऐन संशोधन हुँदै छ,' उनले भने, 'ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन्।' उनले विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए। विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अहम हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न जनप्रतिनिधिलाई उनले निर्देशनसमेत दिए।

उनले स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने बताउँदै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीनरुपमा टिकाउ हुने बताए। पोखरेलले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने बताए।

'कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुन्छ,' उनले भने, 'विकासका पूर्वाधार तयार भएपछि ठाउँको महत्व बढ्ने हुँदा अवरोध गर्न खोज्नु हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell