PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

वीरगंजमा खुल्यो 'रोजगारी पसल', तीन वर्षमा ४२ हजारलाई रोजगारी दिने प्रदेश सरकारको लक्ष्य 



राधेश्याम पटेल

वीरगंजमा खुल्यो 'रोजगारी पसल', तीन वर्षमा ४२ हजारलाई रोजगारी दिने प्रदेश सरकारको लक्ष्य 

वीरगंज : वीरगंजमा शुक्रवारदेखि ‘रोजगार पसल’ सञ्चालनमा आएको छ। बेरोजगार व्यक्तिलाई सीप र क्षमताको आधारमा रोजगारी दिन र रोजगारदातालाई चाहिने दक्ष जनशक्ति सहजै उपलब्ध गराउने उद्देश्यका साथ रोजगार पसल सञ्चालनमा ल्याइएको हो।

‘रोजगार पसल’को उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले हिजो साझ एक समारोहका बिच गरेका थिए। उद्घाटनपछि औपचारिक रुपमा पसल सञ्चालनमा आइ काम शुरु भएको छ।

प्रदेश नम्बर २ का होटेल, कल कारखाना, उद्योग, अस्पताल, विद्यालय लगायत अनेकौँ प्रकारका ब्यापारिक प्रतिष्ठानमा आवश्यक पर्ने दक्ष कामदारहरुको माग यो पसलले पुरा गरी बेरोजगारलाई रोजगारी दिने छ।

मुख्यमन्त्री राउतले तीन वर्षमा प्रदेश २ का ४२ हजार युवालाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारले लक्ष्य लिएकोले त्यो नीतिमा रोजगारी पसल पनि सहकार्य गर्ने चर्चा गर्दै सरकारसँग ६ वटा रोजगारदाता संस्थाले रोजगारी दिने सम्झौता समेत गरेको बताए।

सम्झौता अनुसार प्रभु बैंक, नेपाल एसबीआई बैंक, रोजगार पसल, एमेजोनको सहकार्यमा जेनिस, फ्युज मेसिनका साथैं मोरङ अटो वर्क्ससँग रोजगारी दिने सम्झौता गरेको समेत उनले जानकारी गराए।

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्न प्रदेश सरकारको योजना अनुरूप पहिलो चरणमा प्रदेश सरकार, डिफिड र सेवा प्रदायक विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरूलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता भएको मुख्यमन्त्रीले उल्लेख गरे।

सो कार्यक्रम प्रदेशमा रहेका बेरोजगार युवा तथा वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरी सञ्चालन गरिएको प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले बताए।

एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एककदम अगाडि बढेको उनले बताए। रोजगारदाता संस्थालाई प्रदेश सरकारले आवश्यक जुनसुकै सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरको छ।

रोजगार पसलका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले यो पसलले रोजगारदाता संघ–संस्था र रोजगार गर्न चाहनेको लागि एउटा पुलको काम गर्ने धारणा राखे।

‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौँ’ उनले भने, ‘विदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरी आयआर्जन गर्न सकिन्छ।’

सन २०१२ मा स्थापना भइ देशका काठमाडौं, ईटहरी तथा पोखरा जस्ता सहरबाट पसलले यो सेवा प्रदान गरि रहेको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए। हाल सम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए।

उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघसंस्थाले आवद्धता जनाएका छन्। करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसल मार्फत रोजगारी गरिरहेको उनले बताए।

रोजगार पसल शाखा वीरगंजले प्रदेश नम्बर २ का बेरोजगार व्यक्तिले वीरगंज शाखा कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने बताएको छ। साथै आफनो सीप अनुसारको जागिर प्राप्त गर्नको लागि सक्दो प्राविधिक सहयोग गर्ने परियोजना प्रमुख मनोज कुमार सुनुवारले बताए।

सीप नेपालको प्राविधिक सहकार्यमा वीरगंज शाखा संचालनमा आएको सीप कार्यक्रमका क्षेत्रीय प्रमुख मोहम्मद साबीरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell