PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गोल्डन ट्रेलका लागि व्यस्त मीरा : सपना युटिएमइ रेस सम्मको



मुकुन्द घिमिरे

गोल्डन ट्रेलका लागि व्यस्त मीरा : सपना युटिएमइ रेस सम्मको

मीरा राई नेपाली खेलकुद क्षेत्रमा नयाँ नाम होइन। भोजपुर एक गाउँमा जन्मिएकी मीरा राई अहिले अन्नपूर्ण बेसक्याम्पमा ट्रेल रनिङ् आयोजना गर्न जुटेकी छिन्। उनको योगदानलाई कदर गर्दै हालै अमेरिकाको प्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले मानार्थ विद्यावारिधि समेत प्रदान गर्‍यो। अहिले उनी अन्नपूर्ण क्षेत्रमा गोल्डन ट्रेल आयोजनाका लागि खटिएकी छिन्।

फरक फरक क्षेत्रमा संघर्षका पहाड नाघेकी उनले चुनौती लिन अझै छाडेकी छैनन्। कहिले अयोग्य लडाकु भनेर फ्याँकिइन, कहिले खेलहरुबाट राष्ट्रिय स्तरमा जान नसकेर फ्याँकिइन। कहिले पारिवारिक दायित्वको बोझले थिचिइन्। सबैतिरको असफलतापछि भाग्य खोज्न मलेशिया हिँड्नै लागेकी उनको अल्ट्रा रेसमा लागेपछि जीवनको बाटो नै बदलियो।

‘सानोदेखि नै टाढाटाढा जान मन लाग्थो। पढ्न मन लाग्थ्यो,’ उनले सुनाइन्।

उनीको जीवनमा धेरै सरप्राइज र मोड आए। ती सबैमा उनी चुकिनन्।

‘सानैमा पढाइ स्थगित गरेँ। धेरै संघर्ष र हिम्मत पनि गरेँ। अनुभव पनि धेरै बटुलेँ। धेरै खेलकुदमा पनि हात हालेँ। आर्मी ट्रेनिङ पनि गरियो। अहिले अनौठो लाग्छ,’ गम्भीर हुँदै मीरा राईले सुनाइन्, ‘सबैतिर असफल भएपछि मलेशिया जान हिँडेको थिएँ। ध्रुव सरले सही मार्ग देखाउनु भयो।’

त्यसपछि उनको बाटो मोडियो। उनी पहिलो पटक विदेशमा दौडेको सम्झिदै भन्छिन्, ‘आँट गरेर कुदियो। रेकर्ड पनि हानियो। विदेशीसँग कुदिरहँदा नेपालमा पनि यस्तै वातावरण बनाउन पाए, भने जस्तो लाग्थ्यो।’

त्यतिखेर रेस जितेर नेपालको झण्डा फर्फराउँदै दौडदाको क्षण उनलाई जीवनकै सबैभन्दा महत्वपूर्ण लाग्छ। तर, कुनै बेला अवसर नपाउनुको पीडा अझै झल्किन्छ उनमा।

‘म केही नलागेर जसरी विदेशिन लाग्दा अवसर पाएको थिएँ। त्यसरी नै नयाँ पुस्तामा सम्भावना भएका भाइबहिनीहरुलाई पनि सहयोग गर्न चाहन्छु,’ उनले सुनाइन्।

राईले भर्खरै वेस्टक्लिफ युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पाइन्। विजनेसमा विद्यावारिधि पाउँदा बाल्याकालमा गरेको सानोसानो ब्यापारलाई सम्झिइन उनले।

खोर्सानी फिँजाएर बसेको र भागको ५ रुपैयाँमा बेचेको सम्झिँदा भावुक सुनिन्छिन् उनी। ‘बिजनेसमा डिग्री पाउँदा अत्याधिक खुशी लाग्यो। मैले त त्यतिबेला खुर्सानी, वनको फँडिर बेचेर पैसा कमाएको सम्झिएँ,’ राईले भनिन्, ‘खेतीमा धेरै संघर्ष गरियो। तर, जति गरे पनि खानलाई नै धौधौ।’

विद्यावारिधि त सपनाभन्दा पनि परको कुरा हो उनको। त्यसैले यसलाई ‘विग सरप्राइज’ ठान्छिन्।

उनले सिन्धुलीबाट एसएलसी पास गरेकी हुन्। ‘सानैदेखि पढाइमा रुची लाग्थ्यो। तर, बाध्यताले पछि बीचमै छोड्न पर्‍यो। जे होस् पछि भए पनि एसएसी पास गर्दा ठूलै भए जस्तो लागेको थियो,' उनले सुनाइन्, 'गाउँमै बसेको थिएँ भने त ८ कक्षा पनि पास गरेको हुन्न थिएँ होला। हाम्रो गाउँमा एलएसी पास गर्नु भनेको धेरै ठूलो कुरा।’

२०१७ मा नेसनल जियोग्राफीको एडभेन्चर अफ दी इयर जितेकी मीरा राई पछिल्लो समय भने कुनै पनि प्रकारको रेसमा संलग्न छैनन्। कारण हो उनको खुट्टाको चोट। चोट कसरी लाग्यो उनैलाई थाहा छैन। तर, कबड्डी खेल्दा चोट लागेको हुनसक्ने अनुमान छ।

‘फरक फरक खेल खेलियो। कबड्डी पनि खेलियो। त्यहाँ एकपटक नराम्ररी लडेको थिएँ। सायद त्यहीबाट चोट सुरु भएको हुनु पर्छ,’ उनको खु्ट्टाको लिगामेन्ट गएकाले थेरापी गरिरहेको उनले बताइन्।

उनकै सक्रियतामा छिटै अन्नपूर्णमा गोल्डन ट्रेल सुरु हुँदैछ। त्यहीबाट खेलमा पुनरागमन गर्ने योजनामा छिन् उनी।

‘प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका अधिकांश एथलेट्सहरु आउने छन्। यो युरोपमा भएको विभिन्न प्रतियोगिता पछिको फाइनल खेल हो,' गोल्डन ट्रेलप्रति निक्कै उत्साही सुनिन्छिन् उनी, 'यो नेपालमा आयोजना गर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो।'

२६ अक्टोबरमा गोल्डन ट्रेल रेसको फाइनल खेल हुँदैछ। यो प्रतियोगिताको अगाडिका चरणहरु अमेरिका, बेलायत, फ्रान्स, स्पेन, इटलीमा भएका थिए। प्रतियोगितामा मुख्य ३ इभेन्टहरु छन् - पहिलो ५५ किमी, दोस्रो १०० किमी रेस जुन वार्षिक रुपमा नेपालमा भइरहेको छ। त्यस्तै तेस्रो इभेन्ट गोल्डन सिरिज रहेको छ जुन युरोपमा सम्पन्न विभिन्न प्रतियोगिताको फाइनल हो। र, नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको चाहिँ तेस्रो नै हो।

‘अन्नपूर्णको रेसमा टिप्सहरु केके हुन सक्छन्?’

राईलाई अहिले विभिन्न विदेशी धावकहरुले गरिरहने प्रश्न हो यो। यो प्रतियोगिता सालोमन भन्ने संस्थाले आयोजना गर्दैछ, जसको निर्देशक हुन् रिचार्ड बो। अध्यक्ष चाहिँ मीरा राई।

ठूला प्रतियोगिता आयोजना गर्न सजिलो छैन। त्यो मीराले बुझेकी छिन्। यसअघि भोजपुर ट्रेल रेस, नेपाल ट्रेललगायतका विभिन्न रेसहरु आयोजना गराइसकेकी छिन उनले। तर, यसपाला युरोपकै प्रतिष्ठित प्रतियोगिताको फाइनल गराउने चुनौती लिएकी छिन्।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ। उनी चाहिँ कुनै बेला संसारकै सबैभन्दा चर्चित ट्रेकिङ रुटमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जुटेकी छिन्। नेपाललाई ब्रान्डिङ गर्न उनको प्रयास सानो हुने छैन। त्यसो भए सरकारले उनको प्रयासलाई कसरी लिएको छ त?

‘सरकार तथा पर्यटन बोर्डलगायतका निकायहरुलाई हामीले प्रतियोगिताबारे जानकारी गराइसकेका छौं तर अहिलेसम्म जवाफ आएको छैन,’ राईले भनिन्। विदेशी नै करिब १ हजार जना दौडमा सहभागी हुँदैछन्। नेपाली पनि सहभागी रहने छन्। पर्यटन प्रवर्द्धनका लागि यस्ता गतिविधि महत्वपूर्ण नै हो। उनी यतिमै सीमित छैनन्। एक हजार होइन, दसौं हजारले भाग लिने युटिएमइ रेस गराउन सके हजारौं खेल पर्यटक भित्र्याउन सकिने महत्वकांक्षासमेत पलाइसकेको छ उनमा। त्यसैले सरकारको सहयोगको आवश्यकता टड्कारो रहेको सुनाउँछिन्।

‘उहाँहरुले सहयोग गर्नुहुन्छ भनेर हामीले काम गरिरहेका छौं। लेट्स वर्क टुगेदर,' उनले भनिन्, ‘खेल पर्यटनमा नेपाल उद्गम विन्दु बन्न सक्छ। यसको वातावरण बनाउन सरकारले पहल गरिदिने हो भने राम्रो सम्भावना छ।’

विश्वमा ट्रेल रेस तथा अल्ट्रारेस हिमाली तथा पहाडी भेगमा गरिन्छ। नेपालमा त जहाँतही यसको सम्भावना। त्यसमाथि उच्च हिमाली क्षेत्रमा बसोबास रहेकाले खेल जित्न पनि अनुकुल।

‘जसरी क्यानडाका खेलाडीहरु तेर्सो बाटोमा बढी सक्षम हुन्छन्, त्यसरी नै हामी पनि हाइ अल्टिट्युडमा सक्षम छौं,’ राईले भनिन्।

हुन् पनि हो, एभरेस्ट म्याराथनमा धेरैजसो जित्नेमा हिमाली भेगकै नेपाली हुने गरेको छ। 'हामी अनुकुल प्लेटफर्म छ, सरकारले चाहने हो भने चाँडै राम्रो हुन सक्छ,’ उनले भनिन्।

उनलाई पनि रेसमा भाग लिने रहर छ। ठीक भइन् भने पक्कै सहभागी हुनेछिन्।

'अझै धेरै रेस दौडिन बाँकी नै छ। देश विदेशका समर्थकहरुले सहयोग र माया गर्नु भएको छ। म जस्तै दौडन चाहनेहरुलाई सहयोग गर्न मन छ,' उनले योजनासहित सुनाइन्, 'विदेशमा सहभागिता जनाउनु पनि ठूलो कुरा हो। क्षमतावान साथीहरु त्यहाँ पुग्न सके क्षमता प्रदर्शनको मौका मिल्न सक्छ। तर सही समयमा सही मौकाको आवश्यकता छ। त्यसका लागि म सकेसम्म प्रयासरत रहने छु।'

तत्काल नजिकिँदै गरेको गोल्डन ट्रेल सिरिजमा केन्द्रित छिन् उनी। त्यसो त पर्यटन बोर्ड या अन्य सरकारी निकाय खेल पर्यटन र अहिले नेपालले पाएको अवसरलाई बुझ्न सकेका छैनन्। थियो त केही पहल सरकारी तवरबाटै सुरु भइसक्थ्यो यतिखेरसम्म।

अल्ट्रा रेस र ट्रेल रेसबारे नै नेपालमा धेरैलाई थाह नहुन सक्छ। यो सामान्य प्रकारको रेस भन्दा फरक हो।

'अल्ट्रा रेस ४२ किलोमिटर भन्दा माथिको रेस हो। यो भित्र पनि धेरै मापदण्डहरु हुन्छन्। बाटोहरु अफ्ठ्यारो हुन्छ। उकालो ओरालो या गोरेटो बाटो हुन सक्छ। जंगलमा पनि दौडिन पर्छ,' राईले भनिन् 'कुनै कुनै रेसमा त डोरीबाट पहाड चड्ने समेत हुन्छ।'

ट्रेल रेस भने ४२ किलोमिटर भन्दा कम दुरीको रेस हो। तर, यसमा पनि अफ्ठ्यारो बाटो र चुनौतीहरु प्रशस्त हुन्छ। अगस्टमा अन्नपूर्ण क्षेत्रमा हुन गइरहेको प्रतियोगितमा दुवै अल्ट्रा र ट्रेल रेस हुनेछ। यी रेसहरु आँफैमा चुनौतीपूर्ण हुन्छ। तर, साहसिक र खेल पर्यटनका लागि भने पर्यटक आकर्षित गर्ने एउटा राम्रो माध्यम बन्न सक्छ। मीराको मेहनत त्यसैका लागि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell