PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

६ महिना अगावै बन्यो तीन सय शैयाको प्रदेश अस्पतालको भवन



पी बी खड्का

६ महिना अगावै बन्यो तीन सय शैयाको प्रदेश अस्पतालको भवन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको तीन सय शैयाको नयाँ भवन प्रदेश अस्पताललाई हस्तान्तरण गरेको छ। शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच नवनिर्मित अस्पताल भवन शहरी विकास मन्त्री मो इश्तियाक राईले प्रदेश अस्पताललाई हस्तारन्तरण गरेका हुन्।

भवन हस्तान्तरण गर्दै मन्त्री राईले अब कर्णाली प्रदेशका नागरिक उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता हट्ने बताए।

'अस्पतालको भवन बनेसँगै कर्णालीका नागरिक नेपालगञ्जलगायत अन्यत्र जानुपर्ने अवस्था हट्ने छ' उनले भने, 'अब थप जनशक्ति र उपकरणको राम्रो व्यवस्था गरि गुणस्तरिय सेवा दिनतर्फ लाग्नुपर्छ।'

कर्णाली प्रदेशमा नमुना शहरको काम अघि बढिसकेको मन्त्री राईको भनाई छ। कर्णालीमा रुकुम चौरजहारी, दैलेखको राकम कर्णाली र सुर्खेतको भेरीगंगा नगरपालिकाको काम अघि बढेको उनले बताए। संघीय सरकारले नमुना शहरको काम पनि अब छिट्टै अघि बढाउने उनको भनाइ थियो।

त्यस्तै, कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सरकारले तीन सय शैयाको अस्पताल बनाउने लक्ष्यसहित काम अघि बढाएको भन्दै अब थप आवश्यक पूर्वाधार तयार गर्न तर्फ लाग्ने बताए।

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारले आफु मातहत ल्याएसँगै यसको स्तरोन्नती गर्नतर्फ केन्द्रित बनेको स्पस्ट पारे। अस्पतालका लागि चाहिने उपकरणलगायत आवश्यक औजारहरु अब तत्काल प्रक्रिया अघि बढाएर ल्याईने उनले बताए।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतसँग निर्माण कम्पनीले झण्डै अढाई वर्ष अघि सम्झौता गरी अस्पताल निर्माणको काम थालेको थियो। करिव ५४ करोडको लागतमा निर्माण गरिएको भवन सम्झौता मितिको ६ महिना अगावै सकिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका सव–ईन्जिनियर नरेन्द्र बुढाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell