PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

दागींसँगै इन्द्रदह पुगेर स्वर्गलोकको यात्रा



सहयोग रञ्जित

दागींसँगै इन्द्रदह पुगेर स्वर्गलोकको यात्रा

काठमाडौँ कथाको सहर हो। यहाँका हरेक गल्ली, बहा: बही, सडक , सत्तलहरु कथाले भरिएका छन्। हाल चलिरहेको येँया: (इन्द्रजात्रा) मा ती कयौँ कथाहरू फेरि ब्युँतिएका छन्। जात्रामय बनेको कान्तिपुर नगरीमा कत्तै कुमारीको कथा सुनिन्छ कत्तै इन्द्रको। लाखे प्रेममा परेकोदेखि इन्द्रलाई खोज्दै हिँड्ने पुलुकिसीका कथाहरू आउने केही दिनसम्म चलिरहनेछ।

धेरैलाई येँया: पुन्हीका दिन जीवित देवी कुमारीसँगै जीवित देव गणेश र भैरवको रथ यात्रा र केही विशेष नाचहरु प्रदर्शनको बारेमा मात्रै थाहा हुन्छ। हाम्रो पाठ्यक्रमदेखि आधुनिक कथाहरूमा तिनैको बारेमा मात्रै चर्चा हुन्छ। यसैबीच सोही दिन मनाइने केही जात्राहरू भने ओझेलमा परेका छन्। ती मध्ये एक हो – दागींको कथा।

दागीं अर्थात् इन्द्रकी आमा। येँया पुन्हीका दिन कुमारी सहित गणेश र भैरवको रथ यात्राले तल्लो टोलको परिक्रमा गरेर पुन: कुमारी घर पुगेपछि दागीं आफ्नो छोरा इन्द्र खोज्दै सहरको यात्रा हिँड्छिन्। दागींको पछाडि वर्ष भरी दिवंगत भएका व्यक्तिको परिवारका सदस्य सेतो कपडा लगाएर सतबिउ छर्दै हिँड्छन्।

सेतो ख्वापा र रातो वस्त्र लगाउर छिटो छिटो हिँड्दै नगर परिक्रमा गर्ने दागीं हेर्न मानिसहरू रातभर जाग्राम बस्ने गर्छन्।

जात्रा सकिएपछि रातिमात्रै दागीं निस्कने भएकाले धेरैलाई यस यात्राका बारेमा थाहा हुन्न्।

किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल दिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र यहाँका मानिसहरूको स्वीकृतिविना उनीहरूको जग्गामा फूल टिपे। फूल चोर्दै गरेको देखेपछि किसानले इन्द्रलाई नियन्त्रणमा लिन्छ र डोरीले बाँधेर नगर परिक्रमा गराएर मरुमा बन्धनमा पारेर राख्छन्। इन्द्रलाई बन्धनमा राखेपछि इन्द्रको बाहन एरावत हात्ती आफ्नो देवताको खोजीमा आउँछ। हात्तीलाई किलागलका मानिसले समाउछन्। हात्ती पनि नफर्किएपछि आमा इन्द्रको खोजीमा 'दागीं' बनेर पृथ्वी आउँछिन्। इन्द्रलाई खोज्दै भौतारिंदै हिँडेकी दागींले छोरालाई डोरीले बाँधेर राखेको देख्छिन्। तर, किसानको शक्ति सामु न इन्द्रको केही लाग्यो न त दागींको नै।

उल्टै इन्द्रलाई छोड्न किसानहरुले दागींसमक्ष सर्त राख्छन्। छोरालाई छोडदिए काठमाडौंलाई उबर बनाउन पानी पार्ने र मृत्युपछि स्वर्गलोकमा जान पाउनुपर्ने।

दागींले किसानको सर्त स्वीकार गर्छिन् र स्वर्ग पुग्न इन्द्रदहमा स्नान गर्नुपर्ने बताउँछिन्।

यही किम्बदन्तीको निरन्तरता स्वरूप मध्यरातमा काठमाडौँमा दागीं निस्किन्छ। आफ्ना दिवंगत आफन्तहरुको स्वर्गलोकमा बास होस् भन्दै मानिसहरू दागींलाई पछ्याउँदै सतबिउ छर्दै नगर परिक्रमा गर्छन्। केही भने दागींसँगै इन्द्रदह (यँकीदह) पुग्छन्।

स्वर्गलोक जान दागींसँगै इन्द्रदह

कुमारीको रथ यात्रा सकिँदा प्राय जसो बेलुकी १० – ११ बज्छ। त्यसबीच मरुस्थित लुकुफल्चामा रहेको दुई तल्ले घरबाट दागीं निकाल्ने तयारी गरिन्छ। सानो घर, सानो कोठा। बाजाको आवतजावत, मानिसहरूको हिँड्डुलबीच त्यससमय धेरै नै व्यस्त रहन्छन् मंगलमान डंगोल।

२०५२ सालदेखि मंगलमान नै दागीं बनेर नगर परिक्रमा गरिरहेका छन्। उनको बुबापछि उनले आफ्नो पारिवारिक विरासतलाई निरन्तरता दिँदै आएका छन्।

यसवर्षपनि मंगलमानले दागीं बनेर नगर परिक्रमा गरे। करिब ११ बजे उनी मरुबाट दागींका रूपमा मरुस्थित लुकुफल्चाबाट निस्किए। मरुगणेश परिक्रमा गर्दै उनी प्याफल, नरदेवी, थ्यामरु, असन,इन्द्रचोक, हनुमानढोका, अट्कोनारायण, चिकंमुग:, मजिपात, लगन, ब्रहमटोल, ह्युमत, जैशीदेग:, क्वहिती, भीमसेनस्थान हुँदै फेरि लुकुफल्चा पुगे।

दागींका रूपमा नगर यात्रा सकिएपछि इन्द्रदह जानुपर्ने हुन्छ। गएको दुई वर्ष भने यो परम्परा रोकिएको थियो।  यसपटक चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा फेरि दागीं इन्द्रदह पुगेका थिए।

नगर परिक्रमा सकिएको करिब एक घण्टापछि परोपकार विद्यालयबाट दागींसँगै करिब २०० मानिस स्वर्गको यात्रामा निस्किएका थिए। वर्षभरि दिवंगत भएकाहरुका आफन्तका साथै स्थानीयहरु यात्रामा सहभागी थिए। यात्रामा जान सातवटा बसको व्यवस्था गरिएको थियो। 

रातिको १ बजेर ३५ मिनेटमा दागींसहित जात्रालुहरु दिवंगतहरुको स्वर्गवासको कामना गर्दै इन्द्रदह प्रस्थान गरेका थिए। इन्द्रहमा पुगेर स्नान गर्दा स्वर्गलोक पुग्ने जनविश्वास समेत रहेको छ।

काठमाडौँबाट करिब १२ किलोमिटर टाढा, चन्द्रागिरि नगरपालिका १ मगर गाउँमा अवस्थित रहेको छ इन्द्रदह। परोपकारबाट करिब दुई घण्टाको बस यात्रा र आधा घण्टाको हिँडाइपछि ३ बजे जात्रालु इन्द्रदह पुगेका थिए।

इन्द्रदह पुग्ने बाटो सहज थिएन। झरीका बीच हिलो र चिप्लो बाटो हुँदै इन्द्रदह पुग्दा चन्द्रागिरि नगरपालिका वडा १ का अध्यक्ष राजेन्द्र केसी लगायत स्थानीयले टीका लगाएर काठमाडौँबाट आएकाहरूलाई स्वागत गरेका थिए।

इन्द्रदह पुग्ने बित्तिकै तीर्थालुहरु दहको पानीले मुख धुने र स्नान गर्नेमै व्यस्त रहे। 

दागीं बनेका मंगलमान भन्छन्,' अहिले समय सहज भएको छ। गाडीको सुविधा छ र मानिसहरूले यात्रा गर्न पाएका छन्। तर पनि यसलाई कायम राख्न अझै धेरै गर्नुपर्छ।'

उनी पहिला आर्थिक कारणका कारण इन्द्रदहको यात्रा रोकिएको बताउँछन्। दुई वर्षपछि फेरि इन्द्रदह पुगेका उनी अब यस प्रथाले निरन्तरता पाउनेमा आश्वस्त छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell