सुर्खेत : सुन्दा आश्चर्य लाग्न सक्छ, पशुलाई म्याट? तर आश्चर्य मान्नु पर्दैन, सुर्खेतको वीरेन्द्रनगरका किसानले पशुलाई म्याटमा राख्न थालेका छन्। म्याटको प्रयोगले गाइभैँसी निरोगी हुनुका साथै सरसफाइमा पनि सजिलो भएपछि किसानहरुले यसको प्रयोग बढाएका हुन्।
वीरेन्द्रनगर नगरपालिकाले नमुना प्रयोगका लागि ल्याएको गौम्याट पछिल्लो समय प्रभावकारी बनेको भन्दै किसान स्वयंमले म्याट किनेर प्रयोग गर्न थालेका हुन्। वीरेन्द्रनगर–२ मा रहेको सञ्जीबनी भैँसी फार्मका सञ्चालक गजबहादुर बुढाले नगरपालिकाले नमुना प्रयोगको लागि दिएको एउटा म्याटले आफूले पालेका १७ वटा भैँसीलाई नपुगेपछि आफैँले म्याट किनेर ओछ्याएका छन्।
'नगरपालिकाले एउटा म्याट नमुना प्रयोगका लागि दिएका थियो। पछि भैँसीका लागि एकदमै प्रभावकारी हुने भएपछि हामीले थप आफैँ मगाएर ओछ्याउन थालेका छौँ’ उनले भने, ‘अहिले म्याटको प्रयोगले भैँसीमा कुनैपनि चोटपटक लाग्ने, छाला खुईलिने जस्ता केहीपनि समस्या देखिएको छैन्। पहिला औषधि गर्न हैरानै भाथ्यो। अहिले आनन्द भएको छ। भैँसीले पनि म्याट खोजी खोजी बस्छन्।'
वीरेन्द्रनगर–९ मा रहेको कार्की गाई फार्मका लागि पनि नगरपालिकाले नमुना प्रयोगका लागि एउटा म्याट अनुदान दिएको थियो।
'नगरपालिकाले दिएको म्याट एकदमै राम्रो छ। पशुलाई राम्रो हुने रहेछ। बाच्छा बाच्छीका लागि झनै राम्रो हुने, चिसोबाट जोगिने' फार्म सञ्चालक निता कार्कीले भनिन्, 'सरकारले एक/दुई वटा मात्रै नभएर अलि धेरै दिएको भए राम्रो हुने थियो।'
वीरेन्द्रनगर नगरपालिकाले पहिलो पटक नमुना प्रयोगका लागि ल्याएको गौम्याट प्रभावकारी बनेको छ। नगरपालिकाले पशु मैत्री कार्यक्रम अन्तरगत किसानलाई नमुना प्रयोगका लागि म्याट अनुदान दिएको हो। किसानलाई सूचना र जानकारी दिने उद्देश्यले उक्त गौम्याट वितरण गरेको नगर पशु शाखा प्रमुख नारायण न्यौपानेको भनाई छ।
गत आर्थिक वर्षको बजेटबाट नगरपालिकाभित्र रहेका १० वटा पशु फर्मलाई नमुना प्रयोगका लागि एक/एक वटा गौम्याट अनुदान दिएको थियो। न्यौपानेका अनुसार झण्डै प्रति म्याट आठ हजारका दरले खरिद गरी वितरण गरिएको थियो। गौम्याटको प्रयोग प्रभावकारी देखिएकाले यस वर्षका लागि पनि बजेटको व्यवस्था गरेर थप म्याट ल्याउने योजना रहेको उनले बताए।
'हामीले नमुना प्रयोगका लागि गौम्याट ल्याएका थियौँ। ०७५ को एक लाख बजेटबाट नगरभित्रका जसले १० भन्दा बढी गाई भैँसी पालेको छ। उनीहरुलाई नमुनाका लागि एक/एक वटा वितरण गरिएको हो' उनले भने, 'यो नमुना प्रयोगका लागि ल्याईएको थियो। यो प्रभावकारी बनेको देखिएको छ। त्यसैले यस वर्षका लागि पनि बजेटको व्यवस्था गरेर थप म्याट ल्याउने योजना छ।'