काठमाडौँ: भाद्र २८ गते राति चा:वही: (चाबहिल) को ब:हिती निवासी लक्ष्मी डंगोलको मृत्यु भयो। भोलिपल्ट बिहान करिब ९ बजे चाबहिलका डंगोल समुदायको सी गुठीका गुठियारहरूले लक्ष्मीको पार्थिव शरीरलाई ओम अस्पताल पछाडि रहेको पिंग द्य: (गंगाहिटी) स्थित दिप(घाट) मा लगे।
गुठियारहरूले शवलाई बोकेर घाटभित्र लग्ने तयारी के गरेका थिए। केही व्यक्तिले आएर शवको दाहसंस्कार गर्न रोक्ने प्रयास गरे। घाट प्रवेश गर्ने ढोका नपुग्दै उनीहरूले शव जलाउन रोक्नेहरूको विरोध सामना गर्नुपर्यो। नेवार समुदायमा बाहिरका व्यक्तिले शवलाई छुन हुँदैन। तर त्यहाँ त्यसो भएन। उनीहरूले शवलाई छोइदिए। त्यसपछि शोकाकुल रहेको वातावरण एकाएक अशान्त बन्न पुग्यो। दुईपक्षबीच धक्काधक्की नै सुरु भयो।
नौ महिना पछि फेरि पिंग द्य: क्षेत्र अशान्त हुन पुग्यो। पिंग अजिमाबाट: ओम अस्पताल जाने बाटोमा रहेको सो दिपमा चा:बहीका डंगोलहरुले वर्षौँदेखि आफ्नो समुदायका दिवङ्गतहरूको दाहसंस्कार गर्दै आएका छन्। आफ्नो परम्परा अनुसार नै त्यहाँ शव जलाउँदै आएका छन्। तर विगत केही वर्षदेखि भने केही व्यक्तिले सो स्थानमा शव जलाउन नदिने भन्दै विरोधमा उत्रिएका हुन्।
२०७५ मङ्सिर २३ गते आइतबार चाबहिलकी ४९ वर्षया भीममाया डंगोलको मृत्यु भएको थियो। गुठियारहरूले उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पिंग द्य: स्थित दिपमा नै लगेका थिए। तर हाल पिंग द्य: रहेको स्थानमा जग्गा किनेर बस्न आएका मध्ये केही व्यक्तिले दाहसंस्कार गर्न रोके। घटना चाबहिलमा मात्र सीमित रहेन। सामाजिक सञ्जालमा भाइरल बनेपछि नेवार समुदायमा भूकम्प नै गएको थियो। नेवा: अभियान्ताहरुले शव नै जलाउन रोक्नेलाई 'आप्रवासी' को संज्ञा दिँदै परे रगत बगाउन तयार रहेको प्रतिक्रिया समेत दिएका थिए।
घटना त्यतिखेर काठमाडौँ महानगरपालिकासम्म पुग्यो। सरोकालवालाहरुसँगको छलफलपछि महानगर प्रमुख विद्या सुन्दर शाक्यले घाटलाई यथावत् संचालन गर्न दिने, दाहसंस्कारका लागि सुरक्षा प्रदान गर्ने, दिपलाई व्यवस्थित गर्ने सहमती भएको थियो।
तर, आज एकाबिहानै फेरि लक्ष्मी डंगोलको मृत्युसँगै दिपको (घाट )विषय ब्युँतियो।
महिलाले विरोधीलाई रोके, पुरुषले शव जलाए
स्थानीय हेम डंगोलका अनुसार आज बिहान ९ बजे लक्ष्मी डंगोलको मृत शरिरलाई दिप पुर्यायइएसँगै करिब ४ जना व्यक्तिले शव नै तान्ने आउने काम गरेका थिए। मृत्युको पीडा एकातिर हुँदा आफन्तहरु भने शव जलाउने ठाउँमा उठेको समस्याले बेचैन देखिन्थे त्यहाँ। परम्परागत रुपमा शव जलाउने ठाउँमा पुगेका हेम डंगोल भन्छन्,' लास घाट प्रवेश गराउने ढोका पुर्याएसगै चार जना बाटो रोक्न आए। हाम्रोमा अरुले लास छुनु हुँदन। उनीहरूले छोएपछि लास बोक्नेले लास छोएका व्यक्तिलाई धकेले। पछि लास नै तानातान भयो।'
छेउमै बसेर उनको कुरा सुनिरहेका मृतक लक्ष्मीका श्रीमान तीर्थमान डंगोल निराश देखिन्थे। ।
श्रीमतीको वियोगमा शोकाकुल बनेका लास तान्दा आफू नै लडेको सुनाउँदै तीर्थमानले रुदैं भने,'अस्ती रोक्न मात्रै आएका थिए।यसपटक लास नै तान्न आए। हामी यहाँ झगडा गर्न आएका होइनौं। आफ्नो ठाउँमा आफ्नो परम्परा निर्वाह गर्न आएका हौं।'
धक्काधक्कीबीच नै डंगोल र शाक्य परिवारका सदस्यले दिपभित्र लास लगे र दाहसंस्कार सुरु गरे।
हेम भन्छन्,' हामीले जवरजस्ती लास जलाउन भित्र लगेर चितामा हाल्यौं। महिला दिदीबहिनीहरुले ढोका बसेर विरोध गर्नेहरुलाई रोके। हामीले भित्र दाहसंस्कारको काम सुरु गर्यौं। त्यो बेलासम्म प्रहरी त्यहाँ पुगेको थिएन। लास जलाएपछि हानाहानको अवस्था आइसकेको थियो।'
शोकमा रहेको समुदाय र दाहसंस्कार रोक्न पुगेकाबीच फेरि ठूलै झगडा हुने अवस्थामा पुग्दा प्रहरी बल्ल पिंग द्य: परिसर पग्यो। दिपको चारै तिर प्रहरी बस्यो। यद्यपि, प्रहरीकै उपस्थितिमा दाहसंस्कार रोक्ने र शोकमा रहेका परिवारबीच धक्काधक्की भयो।
लास जलाउन रोकिएको सुनेर नेवा: अभियन्ताहरु दिप पुगेका थिए भने फेसबुकबाट सबैजनालाई पिंग द्य: आउन आह्वान गरिएको थियो। सयौं मानिस शव जलाउन रोकेको विरोधमा पिंग द्य: पुगेका थिए। यद्यपि,दुई पक्षबीचको भगडाले अनुकुल रुप भने लिएन।
मंसिरमा पिंग द्य:मा रहेको डंगोलहरुको दिपमा दाहसंस्कारका क्रममा सुरक्षा दिदै प्रहरी, फोटो: सचिन शाक्य
मलामी आएकी एक महिलाले शव जलाउन रोक्न आएकाहरुले शवलाई पशुपति ल्यैजान भनेर धक्काधक्की गरेको बताइन्। भनिन्,'अब उनीहरूले हामीलाई शवको दाहसंस्कार कहाँ गर्ने कहाँ नगर्ने भनेर भन्ने? हामीले उनीहरुको कुरा मान्ने अवस्था नै छैन।'
स्थानीय परमानन्द शाक्य भन्छन्,' तीनपटक यस्तो भइसक्यो। यसबारेमा धेरै वार्ता भयो। शोकको बेलामका झगडा गर्ने नै होइनौं नि। यो त हामी सबैले एक दिन बेहोर्नुपर्ने दु:ख हो।'
हाल शव जलाउन रोक्नु पर्ने भन्दै विरोध गर्नेहरुले चारैतिर मानववस्ती भएको कारण बस्तीको बीचमा शव जलाउनु हानिकारक हुने तर्क गर्दै आएका छन्। बस्तीमा घरहरू बढ्दै गएको कारण परम्पराको नाममा बस्तीको बीचमा दाह संस्कार गर्ने संस्कारको विकल्प खोज्नु पर्ने उनीहरुको तर्क छ।
करिब दुई वर्ष अघिदेखि दिप नजिकै घर किनेर बस्दै आएका मिलन जोशीले नौ महिना अगाडी पहिलोपोस्टसँग भनेका थिए, 'यो धेरै पहिलादेखिको समस्या हो। दायाँबायाँ घर भएपछि उहाँहरुले पनि बुझ्नुपर्ने कुरा हो यो।'
मिलनले आफूहरुले शव नजलाउन आग्रह गर्दा त्यसको उल्टो शव जलाउन ल्याएकाले झडपको परिस्थित बनेको बताएका थिए। उनले त्यस क्षेत्रमा बस्दै आएका मानिसहरुले शाक्य र डंगोलहरुलाई पशुपति क्षेत्रमा छुट्टै दाहसंस्कार गर्ने स्थान बनाउन आग्रह गरिदिने, आफूहरुकै खर्चमा दिपको संरक्षण गरिदिने वाचा गरेको बताएका थिए।
यद्यपि, शाक्य र डंगोल समुदायले भने त्यस घाटलाई व्यवस्थित गर्ने तर शव जलाउन भने नरोक्ने बताउँदै आएका छन्।
परमानन्द भन्छन्,' हामी हाम्रो परम्परा अनुसार यहाँ शव जलाउन ल्याइ राख्छौं। उहाँहरु विरोध गरिरहनु हुन्छ। उनीहरु यहाँबाट दिप नै हटाउ भनिरहेका छन्। हामी त्यो मान्दैनौं। हामि जानीजानी यहाँ उनीहरुलाई डिस्टर्ब गर्न आएका होइनौं।'
नेवा: अगुवाहरु भने वस्ती बाक्लिँदै गएकोले घाट हटाउनुपर्ने कुरा मान्य नहुने बताउँछन्। घाट देख्दादेख्दै घर बनाउने र अहिले धुँवा आयो, बच्चाले देख्यो भन्ने कुरा गरेर घाटलाई नै हटाउँ भन्नु त जंगलको छेउमा गएर घर बनाएकाले बाघ, भालु आयो भनेर जंगल नै सार्नु पर्छ भनेको जस्तै भएको तर्क गर्छन्।