
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले गत विहीवार बाँकेको खजुरमा भएको घटनाबारे संसदमा जवाफ दिएका छन्। आइतवार गृहमन्त्री बादलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै उक्त घटनालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे।
कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणबारे गृहमन्त्री थापाले दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया समेत अघि बढाइएको बताए। घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई २८ गते राति पक्राउ गरी अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए।
उनले भने, 'घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान गरी कानून अनुसार कारबाही गर्न मन्त्रालय दृढ छ। घटनामा संलग्न रहेका अन्यको खोजी कार्य भइरहेको छ।'
गृहमन्त्री थापाले उक्त घटनामा सत्तारुढ दलको निर्देशन नरहेको पनि बताए।
'सत्ताधारी पार्टी नेकपाको निर्देशनमा नेपाली कांग्रेसको कार्यकम बिथोल्ने यो घटना घटेको होइन। यसमा नेकपाका कार्यकर्ता संलग्न चाहिँ हुन सक्छन्। नेकपाको यो नीति होइन, निर्देशन पनि होइन', गृहमन्त्रीले भने।
राष्ट्रिय जागरण अभियान अन्तर्गत २६ भदौमा बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा आक्रमण हुँदा कांग्रेसकी जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन्।
गृहमन्त्री थापाले उक्त घटनालाई गम्भीरताका साथ लिइएको पनि बताए। गृहमन्त्रीको यस्तो जवाफपछि कांग्रेसले गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै सदन अवरोध गरेपछि सभामुख कृष्ण बहादुर महाराले १० मिनेटका लागि बैठक स्थगित गरे। तर बैठक अझै सुरु हुन सकेको छैन्।