PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

थिम्पुका मेयर दोर्जी भन्छन् : खुशीको सर्वोच्च सूचक सांस्कृतिक विरासत हो



सहयोग रञ्जित

थिम्पुका मेयर दोर्जी भन्छन् : खुशीको सर्वोच्च सूचक सांस्कृतिक विरासत हो

काठमाडौं: संयुक्त राष्ट्रसंघको खुशी राष्ट्रको सूचीमा दक्षिण एसियाको सबैभन्दा अग्र राष्ट्रमा पर्छ भुटान। भुटानको कूल जनसंख्या साढे सात लाख बढी रहेको छ। विश्वमा सबैभन्दा चलायमान हुँदै छिटो कूल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि गर्ने राष्ट्रमा पनि भुटान अब्बल छ। दक्षिण एसियाली अरु  राष्ट्रलाई पछि पार्दै भुटानको बढ्दै गरेको जिडिपी नै मुख्य कारण हो।

तर, भुटानको राजधानी थिम्पुका मेयर किन्ले दोर्जी भने जिडिपीले मात्रै खुशीयालीको मापन नहुने बताउँछन्।

येँया: (इन्द्रजात्रा) अवलोकनका लागि काठमाडौं महानगरपालिकाको निम्तोमा काठमाडौं आएका दोर्जीले भुटान खुशी हुनुमा उसको जिडिपी मात्रै ठूलो मानक नरहेको बताएका हुन्।

विकासका नाममा हजारौं वर्ष पुरानो पुर्ख्यौली विरासतको रुपमा पाएको संस्कृति र सम्पदा अहिलेको समाजले बिर्सिदै गएको उल्लेख गर्दै भने, 'अहिले सबैलाई खुशीको मानक जिडिपी हो भन्ने लागेको छ। तर, त्यो मात्रै होइन। यो समाजमा हामीले हाम्रो अभिभावकले सिकाएर गएको कुरा, हाम्रो संस्कृति, सम्पदालाई संरक्षण गर्नुपर्छ। अनि हामी खुशी हुन सक्छौं।'

विश्वको खुशी राष्ट्र भएपनि नेपालबाट आफूहरुले संस्कृति र सम्पदा संरक्षणमा धेरै कुरा सिकिरहेको उल्लेख गर्दै दोर्जीले कुनै पनि समाज खुशी हुनु त्यहाँको रैथाने संस्कृति, भाषा, सम्पदाको संरक्षण र प्रवर्द्धन महत्वपूर्ण रहने बताए। त्यसको संरक्षणमा लागेका नेपालीहरुलाई आफूले जहिल्यै भाग्यमानी ठानेको बताउँदै भने,'भुटानमा पनि हामीले तपाईहरुकै पथ पछ्याइरहेका छौं। हामी पनि हाम्रो संस्कार र संस्कृति संरक्षण गर्न चाहन्छौं। हाम्रो अस्तित्वको संरक्षण गर्न चाहन्छौं। यी कुराहरुको सुनिश्चितता भएमा मात्रै हामी खुशी रहन सक्छौं।'

काठमाडौं महानगरको निमन्त्रणमा येँया: हेर्न विभिन्न राष्ट्रका ४८ जना विदेशी पाहुनाको टोली काठमाडौं आइपुगेका थिए। त्यो डेलिगेसनबीच दोर्जी र उनकी श्रीमती भने प्रस्त नेपाली बोल्न र बुझ्न सक्थे। अरु पाहुनासहित उनीहरुले भदौ २७ गते काठमाडौंको भित्री शहर - झ्व: छेँ, ओमबहाल, इतुम्बहाल, इन्द्रचोक, वसन्तपुरको भ्रमण गरे र गद्दी बैठकबाट जीवित देवी कुमारी, जीवित देवता गणेश र भैरवको रथ यात्रा अवलोकन गरेका थिए। चन्द्रागिरी, स्वयम्भु, भक्तपुर र ललितपुरको भ्रमणमा नेपाली बोल्दै यहाँका संस्कार र सम्पदाबारे जिज्ञासु देखिन्थे।  

नेपाल र काठमाडौंमा आफू धेरै पटक आएको बताउने दोर्जी यसपटकको यात्रा भने अविष्मरणीय रहेको बताउँछन्। हजारौं वर्ष पुरानो संस्कृति र सम्पदाबारे जान्न पाएकोमा खुशी रहेको भन्दै उनले भने,' इन्द्रजात्रा मेरो लागि अद्भुत रह्यो। त्यति ठूलो संख्यामा आएका मानिसहरु एक आपसमा मिलेर रमाउँदै थिए। बाजाका तालमा नाचिरहेका मानिस र विविध नाचहरुले उल्लासमय वातावरण भएको थियो। यो पर्वले जीवनलाई जीवन्त बनाउन सहयोग गर्छ।'

दोर्जी विकासका नाममा संस्कृतिलाई बिर्सिने पक्षमा छैनन्। विकासमा नाममा संस्कृतिलाई परिस्कृत गर्दै लाग्दा विकास दिगो नहुने तर्क गर्छन्।  तीन दिन काठमाडौं उपत्यका घुम्दा सबै क्षण रमाइलो भएको बताउँदै उनले नेपालमा पाएको स्वागत र आतिथ्यले हामी निकै उत्साहित भएको बताए।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनकै क्रममा महानगरपालिकाले विदेशी पाहुनाहरुलाई निमन्त्रणा गरेको थियो। भ्रमणमा भारत, दक्षिण दिल्लीका मेयर सरदार अवतार सिंह, ल्हासाका मेयर गोगो, चिनियाँ कम्युनिस्ट पार्टी लान्झाउ सिटीकी उपाध्यक्ष जियाङ सियाहोङसमेत काठमाडौं आएका थिए। जापान र अमेरिकाका विभिन्न शहरबाट प्रतिनिधिहरु नेपाल आएका थिए।

दोर्जीले सबै अतिथिहरुको सत्कारमा नेपालले विशेष ध्यान दिएको भन्‍दै नेपाल भ्रमण वर्ष २०२० मा ठूलो संख्यामा भुटानीहरु नेपाल घुम्न वाचा गर्दै नेपालबाट बिदा हुने तरखरमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell