PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

काठमाडौंपछि सिसी क्यामराको ठूलो सञ्जाल मोरङमा, मुख्यमन्त्री राईले गरे उद्घाटन



अनन्तराज न्यौपाने

काठमाडौंपछि सिसी क्यामराको ठूलो सञ्जाल मोरङमा, मुख्यमन्त्री राईले गरे उद्घाटन

विराटनगर: मोरङ जिल्लामा पर्ने राजमार्गका विभिन्न ३ खण्डमा ६० किलोमिटर क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ।

सोमबार विराटनगरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे।

मोरङका हाइ वेमा राखिएको ६० किलोमिटर क्षेत्रफलको सिसीटिभीको क्षेत्रलाई काठमाडौंपछिको ठूलो सञ्जाल भनिएको छ।

सिसी टिभीका लागि रानी–धरान कोशी राजमार्गको सीमान्त क्षेत्र रानीदेखि महानगरपालिकाको ढाटसम्म अप्टिकल फाइबर बिछ्याइएको छ।

त्यस्तै महेन्द्र राजमार्गको इटहरी बुढीखोलादेखि पूर्व भाउन्नेसम्म र पथरीदेखि उर्लाबारीसम्म दुई खण्ड अप्टिकल फाइबर राखिएको छ।

मोरङका प्रहरी उपरीक्षक विश्वराज अधिकारीका अनुसार उल्लेखित स्थानमा फिक्स्ड र पिटिजेड गरी दुई प्रकारका क्यामेरा जडान गरिएका छन्। जसमध्ये विराटनगर हाई वे एरियामा १९ थान फिक्स्ड र १३ थान पिटिजेड क्यामरा जडान गरिएको छ।

त्यस्तै इटहरी बुढीखोलादेखि भाउन्नेसम्म तथा पथरीदेखि उर्लाबारीसम्म ९–९ थान फिक्स्ड र ४–४ थान पिटिजेड क्यामरा जडान गरिएका छन्।

सिसी टिभीको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय बेलबारी र पथरी गरी तीन ठाउँमा हुने प्रअधिकारीले बताए।

सिसी टिभी मनिटरिङका लागि कन्ट्रोल रुमको स्थापना गरिएको र यसमा ३ महिनासम्मको भिडिओ स्टोरेज गर्न सकिने बताइएको छ।

सिसी टिभीको जडानका लागि प्रदेश नम्बर १ को सरकारले १ करोड १३ लाख ५८ हजार खर्च गरेको अधिकारीले जानकारी दिए।

प्रउ अधिकारीका अनुसार प्रदेश सरकारबाट प्राप्त ५८, विराटनगर महानगरपालिकाबाट प्राप्त १०, नेपाल सरकारबाट प्राप्त ५२ र अन्य क्षेत्रबाट प्राप्त ३४ गरी कुल १ सय ५४ वटा क्यामरा यस सञ्जालमा प्रयोग गरिने छ।

सिसी टिभीको उक्त सञ्जालबाट हाई वेमा सवारी साधनलाई व्यवस्थित गर्न नेटवर्कमा ट्राफिक लाइट र राडर गन जडान गर्न सकिने तथा विभिन्न प्रहरी एकाइसँग सूचना आदानप्रदान गर्न हाल रहेको नेटवर्कमा आइपी इन्टरकम फोन जडान गर्न सकिने लगायतका फाइदा रहेको उनको कथन थियो।

साथै हाल रहेको नेटवर्कमा आवश्यकताअनुसार क्यामराको सङ्ख्या बढाउन सकिने उनले उल्लेख गरे।

सिसी टिभीको सञ्जाल हाल हाईवे क्षेत्रमा मात्र भए पनि भविष्यमा यसलाई महानगरपालिकाभित्र नेटवर्किङ गरेर र विराटनगरलाई स्मार्ट सर्भिलेन्स सिटीका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।

प्रदेश नै डिजिटल हुने

उद्घाटन समारोहमा मुख्यमन्त्री राईले प्रदेशलाई नै डिजिटल पद्धतिमा विकास गर्न प्रदेश सरकारले योजना बनाएको र डिजिटल साक्षरता तथा अनलाइन शिक्षाका कार्यक्रम सुरु गरिएको जानकारी दिए।

उनले प्रदेशमा परियोजना बैङ्क तयार गरेर लगानी सम्मेलन गर्न लागिएको चर्चा गर्दै प्रदेश नम्बर १ मा लगानी गर्ने वातावरण उपयुक्त भएको दाबी गरे।

मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सरकारले प्रदेशभित्रका सरकारी र सार्वजनिक जमिनको पहिचान गरेर विवरण तयार गरिसक्ने जिकिर गरे।

प्रहरी महानिरीक्षक खनालले विकास र सुरक्षा सँगसँगै अघि बढ्ने तत्त्व भएको धारणा प्रकट गरे।

प्रमनि खनालले विखण्डनकारी र विध्वंशकारीसित नेपाल प्रहरी मुकाबिला गरेर अघि बढिरहेको उल्लेख गर्दै सबैभन्दा ठूलो अडिट समाजले गर्ने विचार व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell