PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'विप्लव' समूहका जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ



रासस

'विप्लव' समूहका जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ

सुरुङ्गा : नेत्रविक्रम चन्द 'विप्लव' समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन्।

विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

केही दिनअघि बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै हुम्लामा पनि प्रहरीले विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ। विभिन्न सरकारी कार्यालयमा चन्दा माग गरेको भन्ने सूचनाका आधारमा विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र रावतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

रावतको साथबाट आर्थिक सहयोग गरिदिन भन्दै विभिन्न कार्यालयलाई लेखिएको चिठी भेटाएका कारण अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ। ताजाकोट गाउँपालिका–५ भदौराका रावतलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell