
काठमाडौं : केआर खम्बू ‘छायाँको लस्कर’ आत्मकथा विमोचनको तयारीमा छन्। उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले आफ्ना कथाहरुसँगै झापा आन्दोलनताकाको राजनीतिक र सामाजिक परिवेशको चित्रण आत्मकथामा गरेको बताएका छन्।
झापा आन्दोलनमा प्रधानमन्त्री केपी ओली र उनका समकालीन कम्युनिस्ट नेताहरूसँग राजनीतिक सहयात्रा गरेका खम्बूको किताब ऐतिहासिक दस्तावेज बन्ने प्रकाशक नेपालयले जनाएको छ। पुस्तकबारे लेखेको छ- ‘खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र संघर्ष बोलेको छ। यसले एउटा राजनीतिक कालखण्डको संघर्षको प्रतिनिधित्व पनि गर्छ।’
झापा आन्दोलनबाट शुरु भएको कम्युनिस्ट क्रान्तिका स्तम्भ कार्यकर्ता रहेका उनले मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल, गोविन्द न्यौपानेहरूसँगको राजनीतिक यात्रासम्बन्धी संस्मरणलाई पुस्तकमा समेटेका छन्।
केआर खम्बूले स्कुले जीवनदेखि नै तत्कालीन भूमिगत पार्टी ‘नेकपा माले’को निकट रहेर राजनीति शुरु गरे। पछि उनी सक्रिय राजनीतिबाट भने पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए ।
पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै आँखाको ज्योति गुमाएका प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’मा जीवनको त्यो सेरोफेरो पनि कथामा जोडेका छन्।
हाल मेची क्याम्पसमा प्राध्यापन गरिरहेका केआर खम्बूको ‘छायाँको लस्कर’ दशैँअघि सार्वजनिक हुनेछ।
पुस्तकबारे खम्बू भन्छन्, 'आफ्नो जीवनको कथामार्फत् मैले मेरो परिवेश र उतिबेलाको समयको कथा बुनेको हुँ। आफ्नो कथा भन्दै गर्दा मेरा अगुवा र दौंतरीहरूको समय र कथा पनि जोडिएर आएका छन्।‘
पुस्तकको मूल्य ५ सय ४५ रुपैयाँ तय गरिएको छ।