PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

धानखेतमा हेलिकप्टरको आकस्मिक अवतरण : प्रतिकूल मौसममा किन उडाइए हेलिकप्टरहरु



वसन्तराज उप्रेती

धानखेतमा हेलिकप्टरको आकस्मिक अवतरण : प्रतिकूल मौसममा किन उडाइए हेलिकप्टरहरु

काठमाडौं : काठमाडौंको मौसम प्रतिकूल छ भनेर जान्दाजान्दै पनि हेलिकप्टर कम्पनीले उडान भर्दा आज बिहान लुक्लाबाट उडेका १० हेलिकप्टरमध्ये केही हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण गर्नुपर्‍यो। तीन दिनदेखि बिग्रिएको लुक्लाको मौसममा अलि कति सुधार भएलगत्तै  लुक्लाको सुर्केबाट उडाएका थिए हेलिकप्टर। 

तर, हतारहतार पर्यटकलाई राखेर उडान गर्दा विभिन्न स्थानमा हेलिकप्टरको आकस्मिक अवतरण गर्नुपर्‍यो। 

लुक्लाको मौसम तीन दिनदेखि लगातार बिग्रिरहेको छ, मौसम खुलेको छैन। आइतवारदेखि बिग्रिएको मौसम मंगलवारसम्म पनि राम्रो सुधार आएको थिएन।

‘उडान अवरुद्ध भएपछि सगरमाथा क्षेत्र घुम्न आएका करिब ४ सय पर्यटक अलपत्र थिए,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ’लुक्लाको मौसम केही खुल्नेबित्तिकै विभिन्न कम्पनीका हेलिकप्टरले उडान अनुमतिका लागि लुक्ला विमानस्थलबाट अनुमति मागे। लुक्ला विमानस्थलको कन्ट्रोल टावरले त्यहाँको मौसम हेरेर अनुमति दियो। तर देशैभरि मौसम बिग्रिएको विषयलाई बेवास्ता गर्दा भिजिबिलिटी नदेखेर हेलिकप्टरले आकस्मिक अवतरण गर्नुपर्‍यो।‘

ती अधिकारीका अनुसार लुक्लामा रहेका पर्यटकको दबाब र हेलिकप्टर कम्पनीले आफ्नो नाफामात्र हेर्दा यस्तो परिस्थिति उत्पन्न भएको हो। ‘विदेशी पर्यटकले आफ्नो निश्चित योजना बनाएर घुम्न आएका हुन्छन्। उनीहरु एकै स्थानमा धेरै दिन बस्नुपरे उनीहरुको सेड्युल नै बिग्रिन्छ,’ ती अधिकारीले भने, ’पर्यटकले समेत दबाब दिने र हेलिकप्टर कम्पनीले पनि त्यही बेला राम्रो रकम असुल्न प्रतिकूल मौसमको समेत बेवास्ता गरी उडान गर्ने प्रवृतिसमेत देखिन्छ। मंगलबारको घट्ना त्यसरी नै भएको हुनसक्छ।’

ती अधिकारीका अनुसार यसरी एकै पटक ८ वटा हेलिकप्टरको आकस्मिक अवतरण भने पहिलो पटक नै भएको हो। ‘नेपालको इतिहासमै पहिलो पटक विभिन्न स्थानमा हेलिकप्टरको आकस्मिक अवतरण भयो। र सौभाग्यवश सबै सुरक्षित भए। तर यो घट्नाले हेलिकप्टर कम्पनीले नाफाकै लागि कतिसम्म हेलचक्र्यार्ईँ गर्छन् भन्ने पनि पुष्टि भएको छ,’ ती अधिकारीले भने, ’अहिले घरबाहिर निस्किने सामान्य मान्छेले त मोबाइलको एप हेरेर मौसमको बारेमा जानकारी लिन्छ। तर हेलिकप्टर चलाउने कम्पनीले मौसम नहेरी उडान गर्नु लापरवाही नै हो।’

नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले लुक्लाको मौसम केही खुलेपछि हेलिकप्टर उडानको अनुमति दिएको बताए। ‘यहाँको मौसम केही खुलेपछि हामीले उडान अनुमति दिएका हौं। १० नटिकल माइलसम्म मात्रै हाम्रो नेटवर्कमा रहन्छ,’ कर्णले टेलिफोनमा भने, ’हामीले उडान अनुमति दिए पनि अन्यत्रको मौसम राम्रो नभएपछि सुरक्षित अवतरण गरेर राखेको खबर आयो।’

उनका अनुसार कम्पनीहरुले हेलिकप्टर आकस्मिक अवतरण गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई खबर गरेका थिए। ‘हामीलाई कम्पनीका प्रतिनिधिले खबर गरेपछि जहाज कुन/कुन ठाउँमा अवतरण गरेको रहेछ भन्ने थाहा पायौं,’ कर्णले भने।

अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पाले छिनछिनमा मौसम परिवर्तन हुने भएकाले अनुमान लगाउन नसकिने बताउँदै भिजिबिलिटी कम भएपछि हेलिकप्टर अवतरण हुनु सामान्य विषय भएको तर्क गरे।

'कहिलेकाहीँ उडान गर्दा मौसम राम्रो हुन्छ। फेरि उडान गरेको केहीबेरमै मौसम प्रतिकूल भइदिन्छ। मौसम कतिखेर परिवर्तन हुन्छ ठ्याक्क थाहा हुँदैन। यो एउटा चुनौती पनि हो। यस्तो अवस्थामा पाइलट इन कमान्डले सुरक्षित अवतरण गर्छन्,' शेर्पाले भने।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मौसम प्रतिकूल भएपछि हेलिकप्टर अवतरण गरेर सुरक्षित राख्नु स्वाभाविक भएको बताए। प्रतिकूल मौसमका कारण सेफल्यान्डिङ गर्नु स्वाभाविक रहेको उल्लेख गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागका एक उच्च पदाधिकारीले भने, 'प्रतिकूल मौसमका कारण यसरी सेफल्यान्डिङ गर्नु स्वाभाविक हो। सुरुमा उडान गर्दा मौसम अनुकूल देखिए पनि एक्कासी भिजिबिलिटी कम भयो भने जहाँ पनि अवतरण गर्न सकिन्छ। यो सेफ प्राक्टिस हो।'

ठूला दुर्घटनाबाट समेत सिकेनन् पाठ

केही महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेर ७ जनाको निधन भयो। मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको अध्ययन समितिसमेत गठन भयो।

यो समितिले प्रतिकूल मौसम हुँदाहुँदै हेलिकप्टर उडाएको निष्कर्ष निकाल्यो। वहालवाला पर्यटनमन्त्रीको निधन भएपछि गठित समितिले दिएको सुझावपछि पनि हवाई उड्डयन क्षेत्रमा सुधार नभएको देखिएको आज बिहान भएको ८ हेलिकप्टरको आकस्मिक अवतरणको घटनाले देखाएको छ।

कुन हेलिकोप्टर कता भए अवतरण?

९ एन-अल्फा नोभेम्बर ब्राभो कलसाइनको हेलिकोप्टर फाप्लुको पूर्वपट्टि ६.८ नर्टिकल माइलमा सुरक्षित अवतरण गरिएको छ।

सिम्रिकको ९ एन-अल्फा लिमा माइक, ९ एन-अल्फा जुलियट जुलियट र कैलाशको ९ एन-अल्फा माइक ट्याङगो कलसाइनको हेलिकोप्टर काठमाडौंदेखि पूर्वपट्टि १३ नर्टिकल माइल(बनेपा)मा अवतरण गरिएको छ।

यसैगरी मनाङको ९ एन-अल्फा माइक भिक्टर कलसाइनको हेलिकोप्टर रामेछापदेखि १३ नर्टिकल माइल उत्तर पश्चिम दिशामा अवतरण गरिएको छ।

अल्टिच्यूड ९ एन-अल्फा माइक एक्सरे कलसाइनको हेलिकोप्टर काठमाडौंदेखि २० नर्टिकल माइल उत्तर पश्चिम(रोशी खोला)मा अवतरण गरिएको छ।

यसैगरी श्रीको ९एन-अल्फा लिमा फक्सफर्ड कलसाइनको हेलिकोप्टर रामेछापमा अवतरण गरिएको छ।

समिटको ९ एन- अल्फा जुलियट रोमियो कलसाइनको हेलिकोप्टर वासामा अवतरण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell