PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सकियो कुमारी, गणेश र भैरवको रथ यात्रा, बुधवार बिहान य:सिं ढालिने



सहयोग रञ्जित

सकियो कुमारी, गणेश र भैरवको रथ यात्रा, बुधवार बिहान य:सिं ढालिने

काठमाडौं: येँया: (इन्द्रजात्रा) को अन्तिम दिन मंगलवार 'नानिचा:या' (बीचको टोल परिक्रमा) गराउँदै जीवित देवी कुमारीसँगै जीवित देवताहरु गणेश र  भैरवको रथयात्रा गर्दै सम्पन्न भयो। क्वनेया: (तल्लो टोल) र थनेया: (माथिल्लो टोल) मा पुरुषहरुले रथ तान्ने गर्छन्। नानिचा:या: मा भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गर्ने गर्छन्। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो।

कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि कुमारी घर पुगेर रथ यात्रा समापन भएको थियो। रथ यात्राका क्रममा किलागल स्थित पुलुकिसि राखिने मन्दिरमा र इन्द्रचोकस्थित आकाश भैरवको मन्दिर परिसरमा कुमारी, गणेश र भैरवको विशेष पूजा गरिएको थियो।

रथयात्रा समापनपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर गई श्री कुमारी, श्री गणेश र श्री भैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गरिन्।

मंगलवारबाटै पुलुकिसी, मजिपा लाखे,सवभक्कु र दी: प्याखं पनि एक वर्षका लागि समापन हुनेगर्छ।

 

बिहान ढालिने भयो य:सिं

हरेक वर्ष नानिचा:याको रात शुभ साइतमा हनुमानढोकामा ठड्याइएको य:सी ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै मात्रै येँया विधिवत् रुपमा सम्पन्न हुने गर्छ। तर यसपटक भने येँया:को विधिवत् समापन भने मंगलवार भएन। यसपटक येँया:को आठौं दिनमा नभइ नवौं दिन अर्थात असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा य:सिं ढालिनेछ।

राष्ट्रिय पञ्चांग निर्णायक समितिले तय गरेको साइत अनुसार यसपटक बिहान साइत जुरेको केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धरले बताए।

पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल भने यःसिं ढाल्ने साइत जुराउँदा नक्षत्र नमिलेकाले यसपटक बिहान साइत निस्किएको बताउँछन्।

उनले भने, 'हामीलाई धरणी नक्षत्र चाहिन्थ्यो। तर ३१ गतेको रात अश्विनी नक्षत्र थियो। यस्तै, नक्षत्रसँगै य:सिं ठड्याउने दिनदेखिको बार, सूर्योदय, सूर्यास्त, चौथी तिथि सबै मिल्नुपर्छ। नक्षत्र नमिलेकोले यसदिन बिहानको साइत जुरेको हो।'

उनका अनुसार ज्योतिषशास्त्रले सूर्योदय नभएसम्म नयाँ दिन सुरु भएको नमानिने भएकाले असोज १ गते बिहान ५ बजेर ३५ मिनेटको शुभ साइत निकालिएको हो। सो दिन सूर्योदय बिहान ५ बजेर ५० मिनेटमा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell