PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

‘पलेँटी शृङ्खला’मा गीतसँगै तीनवटा पुस्तक विमोचन



पहिलोपोस्ट

‘पलेँटी शृङ्खला’मा गीतसँगै तीनवटा पुस्तक विमोचन

काठमाडौं: मासिक सांगीतिक प्रस्तुति ‘पलेँटी शृङ्खला’मा यस पटक फरक प्रयोग हुने भएको छ। सांगीतिक माहोलबीच तीनवटा पुस्तक सार्वजनिक हुँदैछ। साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीती यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने भएका हुन्।

योपटक पलेँटी शृङ्खलामा लेखकद्वय तीर्थ श्रेष्ठ, कालीप्रसाद रिजाल र मञ्जुलले रचना गरेका गीतहरू गुञ्जने छन्। असोज १० गते कवि तीर्थ श्रेष्ठ प्रस्तुत हुनेछन्। त्यसदिन उनको पुस्तक विमोचनसहित उनका गीत र कविताबारे चर्चा र अन्तरसंवाद कार्यक्रमको केन्द्रमा रहनेछ। तीर्थ श्रेष्ठको नयाँ कृतिमाथि निबन्धकार रोशन शेरचनको संक्षिप्त मन्तव्य रहेनेछ। सो अवसरमा कवि श्रेष्ठले नयाँ संग्रहमा संकलित केही र केही पूराना कवितासमेत वाचन गर्नेछन्।

असोज ११ गते शनिबारको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन्। साहित्यकार रिजालको नयाँ कृति ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक हुनेछ। उनको गीति लेखनको यात्रा र नव प्रकाशित पुस्तकका सन्दर्भसँग सम्बन्धित रहेर अन्तर संवाद समेत हुनेछ। उनको कृतिमाथि भने समालोचक रजनी ढकालले मन्तव्य व्यक्त गर्नेछिन्।

घटस्थापनाको साँझ हुने यस महिनाको अन्तिम पलेँटी शृङ्खलामा अर्का कवि तथा गीतकार मञ्जुल प्रस्तुत हुनेछन्। नेपालय पब्लीकेसन्सले ‘नेपालय क्यासिक’ शीर्षक अन्तरगत मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’लाई पुनः प्रकाशित गरेको छ। यो पुस्तकमा मञ्जुल र रामेशको चर्चित सांगीतिक जोडीले पूर्वी नेपालको सांगीतिक भ्रमण गर्दाको यात्रा विवरण समेटिएको छ।

यस महिनाको पलेँटीले संगीत र साहित्यलाई प्रत्यक्ष रुपमा निकट बनाउन मद्दत पुर्‍याउने आशा संयोजक आभासले व्यक्त गरे। पलेँटी श्रृङ्खलाका लागि थुप्रै डटकम वा फोन र इमेलमार्फत टिकट बुक गर्न मिल्ने जानकारी आयोजकले दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell