PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६

पाइलटको क्यामरा लेन्सबाट हेर्दा सगरमाथा क्षेत्रका पग्लिरहेका हिमनदी

पाइलटको क्यामरा लेन्सबाट हेर्दा सगरमाथा क्षेत्रका पग्लिरहेका हिमनदी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सगरमाथा र अन्य विभिन्न हिमशिखरबाट आरोहीहरुलाई आपत्कालीन हवाई उद्धार गर्न वर्षौंदेखि हेलिकप्टर उडाइरहेका पाइलटहरुले चराकोझैं विहंगम दृष्टिबाट हिमालयको अवलोकन गरिरहेका छन्। जलवायु परिवर्तनले हिमालयका हिमनदीहरुमा कस्तो पारिरहेको छ त? जलवायु परिवर्तनले हिमालय शृंखलाका हिमनदीहरुमा पारेका असरबारे कतारी समाचार एजेन्सी अल–जजीराले मंगलबार ‘अ रेस्क्यू पाइलट्स पर्सपेक्टिभ अन एभरेस्ट्स मेल्टिङ ग्लेसियर्स’ शीर्षकमा एलेक्जेडर लेर्चेको एउटा फोटो समाचार प्रकाशित गरेको छ।

‘धेरै पर नजानुस् र कृपया कतै नहराउनु होला। यस्तो ठाउँमा हामी अतिरिक्त इन्धन खर्च गर्न सक्दैनौं,’ उनले उडाएको हेलिकप्टरले खुम्बू हिमनदीको किनारमा हिमसतह छुनासाथ नेपाली रेस्क्यु पाइलट क्याप्टेन किरण पुन पर्वतारोही÷पर्यटकलाई चेतावनी दिन्छन्।

क्याप्टेन किरण यस्ता एक मात्र रेस्क्यु पाइलट हुन्, जसले ०७२ सालमा गएको भूकम्पमा सगरमाथामा २० जनाभन्दा बढी पर्वतारोहीको मृत्यु भएका बेला पर्वतारोहीको उद्धार गरी सगरमाथा आधारशिविरबाट फेरिचेसम्म कैयौंपल्ट ओसारेका थिए।

सगरमाथाको आधार शिविरबाट लेर्चे लेख्छन्– एभरेस्ट बेस क्याम्प रहेको ५ हजार ३ सय ६० मिटरको उचाइमा हेलिकप्टरका पाइलटहरुले हत्तपत्त हेलिकप्टरको इन्जिन बन्द गर्ने जोखिम उठाउँदैनन्। किनभने त्यति उचाइमा अक्सिजनको अभावमा फेरि इन्जिन स्टार्ट नै नहुने डर हुन्छ।

त्यस्तै इन्जिन बन्द गरेका बेला एक्कासी हिउँले ठाउँ छाडेमा हेलिकप्टर नै पिर्लिक्क पल्टिन सक्छ वा चिप्लिने सम्भावना पनि उत्तिकै रहन्छ।
विश्वकै सबैभन्दा खतरनाक उडान क्षेत्रमा यी रेस्क्यु पाइलटहरु महत्वपूर्ण औषधि दुर्गममा रहेका समुदायसम्म ढुवानी गर्छन्, घाइते पर्वतारोहीहरुलाई फेरिचे वा काठमाडौंका अस्पतालमा पु¥याउँछन् र प्राकृतिक प्रकोपपछिका उद्धार कार्यमा संलग्न हुन्छन्। उनीहरुले जस्तोसुकै कठिन मौसममा पनि उनीहरु केही नभनी यी काम गर्छन्, जबकि उडान भर्दा कुनै पनि बेला हेलिकप्टर आकस्मिक अवतरण गराउनुपर्ने सम्भावना पनि उत्तिकै प्रवल रहन्छ।

तर विहंगम दृष्टिबाट हिमालय पर्वत शृंखला तथा यसको भूदृश्य अनि जलवायु परिवर्तन र यसले सगरमाथा क्षेत्रका हिमनदीहरुका साथै त्यस क्षेत्र वरपरका पहाडमा पारिरहेको असरहरुबारे सामान्य मानिसभन्दा उनीहरुमा अनौठो र फरक दृष्टिकोण हुन्छ।

‘विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्रमा रहेका हिमनदीहरुको आकारमा आएको परिवर्तनको टड्कारो अनुभूति मैले गरेको छु,’ क्याप्टेन पुन भन्छन्, ‘हिमनदीहरुको आकार मसिनो हुँदै गएको छ र पहिले हिउँले आच्छादित हिमचुलीहरुका कतिपय भागहरु नांगिँदै गएका छन्।’

यो क्षेत्रमा जलवायु परिवर्तनको अनुगमन गरिरहेका वैज्ञानिकहरुका अनुसार गएको दशकयता हिमालय क्षेत्रमा हिमनदी पग्लिने दर ठ्याक्कै दोब्बर भएको छ। वैज्ञानिकहरुले सन् १९७५ मा सगरमाथा क्षेत्रमा रहेका हिमनदीको अध्ययन गरेका थिए। उनीहरुले अहिले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा यस क्षेत्रका हिमनदीको आकार सन् १९७५ को तुलनामा घटेर ७२ प्रतिशत मात्र छ।

हिमनदीको आकार सानो भएपछि वा हिउँको मात्रा घटेपछि त्यसको गहन असर हिमाली क्षेत्रमा मात्र नभएर व्यापक रुपमा अन्यत्र पनि पर्छ र पहाड तथा पर्वतीय क्षेत्रभन्दा मुन्तिर बसोवास गर्ने समुदायमासमेत यसले अनेकौं वातावरणीय जटिलता निम्त्याउँछ।

(लेख र सबै तस्बिरः अलेक्जेन्डर लेर्चे/अल-जजीरा)

सन् १९९५ देखि क्याप्टेन किरण पुनले पर्वतीय उडान गर्दै आएका छन्। ‘सधैं उडान गर्ने ठाउँमा तपाईंलाई पूर्वअनुमान गर्न सक्नु हुन्छ, त्यहाँ के हुन्छ भनेर,’ क्याप्टेन पुन भन्छन्, ‘तर मौसम साह्रै खराब भए तुरुन्तै उडान मार्ग फेर्न तयार हुनुपर्छ। देख्न सकिएन (भिजिबिलिटी नभए) भने, उडाउन सकिँदैन र असुरक्षित पनि हुन्छ। उद्धार अभियानमा यही कुरा लागू हुन्छ।’
पुस्तौंदेखि किसानले पहाडका टाँड परेका गरामा धानखेती गर्दै आएकोमा नेपालको भूबनोट प्रसिद्ध छ। ‘आकाशबाट धान लहलहाउने ती गरा हेर्दा साह्रै सुन्दर देखिन्छन्,’ क्याप्टेन पुन भन्छन्, ‘धान र मकै उब्जाउन ती महत्वपूर्ण छन्। तर बर्खायाममा मुसलधारे पानी पर्दा तिनै गरा भत्केर पहिरो जाने सम्भावना हुन्छ। पहिरोको समस्या अहिले झन् झन् बढ्दै गएको छ।’
बितेका दशकहरुभन्दा अहिले नेपालका हिमनदीहरु तीव्र गतिमा पग्लिँदै जान थालेका छन्। यसको परिणामस्वरुप पहाडी भूभागमा धेरै बादल लाग्न र पानी पर्न थालेको छ। मौसममा एक्कासी परिवर्तन हुँदा पहाडका टाकुराहरु छोपिन्छन् र यस्तो परिस्थितिका लागि पाइलटहरु हरहमेशा तम्तयार रहेर पाइलटले कुहिरोभित्र उडान गर्नुपर्छ। किनभने जति जति सगरमाथाको नजिक पुगिन्छ, त्यति त्यति अग्ला पहाडहरु उडानमार्गमा पर्छन्।
समुद्र सतहबाट ४ हजार ३ सय ७१ मिटरको उचाइमा अवस्थित फेरिचे अस्पताल विश्वकै सर्वाधिक उचाइमा रहेको अस्पताल र एएमएस (एक्युट माउन्टेन सिकनेस) रिसर्च स्टेसन हो। सन् २०१५ अप्रिलमा गएको भूकम्पले सगरमाथा आरोहणमा गएकामध्ये २० जनाभन्दा बढी पर्वतारोहीको ज्यान लिएको थियो। त्यसबेला क्याप्टेन पुन मात्र एक यस्ता रेस्क्यु पाइलट थिए, जसले त्यसबेला सगरमाथा आधारशिविरबाट फेरिचेसम्म डक्टरहरु र पर्वतारोहीलाई उद्धार गरी कैयौंपल्ट ओसारेका थिए। अति बाक्लो हुस्सुका कारण अन्य हेलिकप्टरले काठमाडौंबाट आधारशिविरसम्म उडान गर्नै सकेनन्।
सगरमाथा आधारशिविर पुग्नै लाग्दा पाइलटहरुले हेलिकप्टरलाई खुम्बू हिमनदीमाथि तर छुने हो कि  जस्तो गरेर लम्पसार परेका बांगाटिंगा चट्टानको बीचबाट उडाउनु पर्छ। हिमनदीको नजिक पुगेपछि हिउँको निकट अवलोकन गर्न पाइन्छ, हालैका अध्ययनले हिमनदीको भित्री मुख्य भागको हिउँको तापक्रम नै अपेक्षा गरेजस्तो ठन्डा नभएर कैयौं डिग्री बढेको पाइएको थियो।
सगरमाथाको आधारशिविरको फैलावट खुम्बू हिमनदीको किनारमा सयौं मिटरसम्म छ, जुन अहिले खुम्चिन थालेको छ। ‘१० वर्षअघिभन्दा अहिले यहाँ हिउँको उचाइ निकै घटेको छ र यो प्रष्टै देखिन्छ,’ क्याप्टेन पुन भन्छन्, ‘तपाईंले केही महिनाअघि मात्र यहाँ उडान गर्नु भएको हुनसक्छ। तर अहिले  यहाँ हिउँमा ढुंगा देखिन थालेका छन्, जुन यसअघि कहिल्यै देखिएको थिएन। वैज्ञानिकहरुबाट हामीले जानकारी पाएका छौं कि हिमनदीहरु ५० औं वर्षदेखि पग्लिरहेका छन् तर गएका २०÷३० वर्षयता भने पग्लिने दर तीव्र भएको छ।’
हेलिकप्टरलाई फेरिचे सहायता चौकीतर्फ झार्दै क्याप्टेन पुनले बाढीले चौडा बनाएको बाटेको चुल्ठोजस्तो नदी नजरसामु पार्छन्। कुनै पनि हिमपोखरी फुटेमा वा भत्किएमा करोडौं घनमिटर पानीले खुम्बू उपत्यकालाई डुबाउने मात्र नभएर त्यसमुन्तिरका भूभागमा अचानक आउने बाढीले प्रलयंकारी असर पार्नेछ।
तापक्रम वृद्धिले त्यस्तो ठाउँहरुमा हिमपहिरो जाने र हिमपात हुने सम्भावना बढाउँछ, जहाँ भीर वा पहराको छेउबाट हिमनदीहरु मोडिन्छन्। प्राथमिक उपचारकर्ता सुदीप लिङथेप आफू सन् २००८ मा पहिलो पटक सगरमाथा आधारशिविर पुगेयता बारम्बार हिमपहिरो जान र हिमपात हुन थालेको अनुभव सुनाउँछन्। ‘जाडोयाममा औसतमा भन्ने हो भने दिनहुँ दुई वटा हिमपहिरो जान्छ,’ उनी बताउँछन्, ‘कुनै कुनै ठाउँमा जानु पर्दा म सधैं वैकल्पिक बाटोबाट जान्छु। हामीले जनसमुदायलाई यसका जोखिमहरुबारे जागरुक बनाउनु आवश्यक छ।’
हिमनदी पग्लिँदाको पानीले पहिरो जाने जोखिमसमेत बढाउँछ। ‘अहिलेको तुलनामा सन् २००८ मा म अलि उचाइमा हिँडडुल गरेजस्तो लाग्छ,’ सुदीप सम्झन्छन्, ‘हिजोआज पानी धेरै पर्न थालेकाले पहिरो पनि धेरै जान थालेको छ। कहिलेकाहिँ त आफ्नो पैतालामुनिको जमिन नै सर्दै गएजस्तो आवाज सुनिन्छ। जतिबेला तपाईं आफूले राम्ररी थाहा पाएको ठाउँमा हिँड्दा पनि धरातल फरक पाउँदा तपाईंलाई अनौठो लाग्छ।’
काठमाडौं उपत्यकाको केही भूभाग मनसुनका बेला बाढी आएर डुबानमा पर्ने गरेको छ, जसले १० लाखभन्दा बढी नेपालीको जनजीवन नै अस्तव्यस्त हुने गरेको छ। उपत्यकाको अधिकांश भागमा ढल निकासको प्रवन्ध भए पनि बढ्दै गएको वर्षाको मात्रा र हिमनदीको पग्लिने दर वृद्धिले चिन्ता बढाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell