
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा एक लाख धरौटीमा रिहा भएका छ्न्। बुधवार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा थापा भदौ २६ मा पक्राउ परेका थिए। उनी गृहमन्त्री थापाका साँइला भाइ हुन्।
थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको थियो।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा थुनामा रहेका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोग थापामाथि लगाइएको थियो। बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन्।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिकै गोली हानी हत्या भएको थियो।