
नेपालगन्ज : काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगन्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ।
काठमाडौंबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगन्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगन्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए।
उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगन्जदेखि करिब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ। उक्त विमान अब बिहीवार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगन्ज आउने शाहले जानकारी दिए।
नेपालगन्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगन्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ।