PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

ठूलो परिमाणको लागुऔषधसहित तीन भारतीय र चार नेपाली पक्राउ



पहिलोपोस्ट

ठूलो परिमाणको लागुऔषधसहित तीन भारतीय र चार नेपाली पक्राउ

काठमाडौं : लागु औषध नियन्त्रण ब्युरोको टोलीले ठूलो परिमाणको लागुऔषधसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई ब्युरोले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको बिहारस्थित ग्रिन पेलेस डुमरवाना वडा नम्बर २० बैरगनिया सितामढी बस्ने ३७ वर्षीय राजा कुणाल, सोही स्थान बस्ने ३२ वर्षीय राजेशकुमार जयसवाल र ३७ वर्षीय अभिषेक कुमार जयसवाल रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले डाइजेपाम १ हजार ४७ एम्पुल, नुर्फिन १ हजार ३७ थान र फेनारगन १ हजार ४२ थान बरामद गरेको छ। विशेष सूचनाका आधारमा ब्युरोको टोलीले काठमाडौं महानगरपालिका-३१ शान्तिनगरबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उक्त स्थानमा बिआर ३० पि ८६०७ को भारतीय नम्बर प्लेटको स्कोर्पियोमा चामल र पिठोमा लुकाएको अवस्थामा सो लागुऔषध ब्युराेले बरामद गरेको हो।

त्यस्तै ब्युरोको टोलीले गोकर्णेश्वर नगरपालिका-५ जम्बु डाँडाबाट ४ जना नेपालीलाई लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले सिरहा जिल्ला गोलबजार नगरपालिका-४ बस्ने ४२ वर्षीय उतिमलाल साह, उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१३ बस्ने ३४ वर्षीय सुजेन्द्र लोहनी, काभ्रे जिल्ला रोशी गाउँपालिका-७ बस्ने २८ वर्षीय पेमा लामा र सिरहा जिल्ला गोलबजार नगरपालिका-३ बस्ने २३ वर्षीय अशोक तामाङलाई पक्राउ गरेको हो।

उनीहरुलाई प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले डाइजेपाम ४१०, एम्पुल, फेनारगन ३७५ र नुर्फिन ४१५ थान बरामद गरेको ब्युरोले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको ब्यूरोले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell