PahiloPost

May 15, 2024 | २ जेठ २०८१

शुक्रवारबाट साफ यू १८ सुरु, नेपाली टिमका कप्तान भन्छन् : ह्याट्रिक गर्ने लक्ष्य छ



मुकुन्द घिमिरे

शुक्रवारबाट साफ यू १८ सुरु, नेपाली टिमका कप्तान भन्छन् : ह्याट्रिक गर्ने लक्ष्य छ

काठमाडौं : दक्षिण एसियाली खेलुकुद अन्तर्गत शुक्रवारबाट साफ यू १६ को प्रतिस्पर्धा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सको सामना गर्दैछ।

प्रतियोगिताबारे कुरा गर्दै नेपाली टोलीका कप्तान जय गुरुङले आफूहरुको ह्याट्रिकको लक्ष्य भएको बताए।

'अभ्यास राम्रो भएको छ। पहिलाभन्दा धेरै सुधार भइसकेको छ,’उनले भने, ‘अभ्यासका क्रममा ए डिभिजन क्लबहरुसँग पनि खेलेर जित निकाल्यौं। आत्मविश्वासी छौं। ह्याट्रिक गर्ने योजना छ।'

त्यस्तै, नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिता चुनौतीका रुपमा रहेको बताएका छन्।

'उमेर समूह र ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडीहरु छन्। अभ्यास र मैत्रीपूर्ण खेलहरु पनि खेलेका छन्,' श्रेष्ठले भने, 'आक्रामक खेलमा जोडदिएका छौं। सेमिफाइनल सबैभन्दा टफ हुने अनुमान गरेको छु।'

नेपाली टिमको मिडफिल्ड सबैभन्दा राम्रो पक्ष रहेको उनको भनाइ छ।

शुक्रवारबाट सुरु हुने प्रतियोगिताको सबै खेल हल्चोक स्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ।

यता माल्दिभ्सका प्रशिक्षक साज्ले मोहम्मदले क्याप्टेन लगायतका खेलाडीहरु सिनियर टिमबाट आएकाले आफ्नो टिम बलियो रहेको बताए।

नेपालसँगको पहिलो खेलबारे कुरा गर्दै उनले भने, 'कुनै पनि टिमसँग गृह मैदानमा खेल्न कठिन कुरा हो। त्यसमा पनि नेपाल डिफेन्डिङ् च्याम्पियन हो,’ उनले भने, 'तर, हामीले पछिल्लो समय धेरै सुधार गरेका छौं। अहिले हाम्रो फोकस पहिलो चरणमा छ।’

मोहम्मदले साफ च्याम्पियनसीप नै कडा प्रतिस्पर्धात्मक हुने भन्दै आफूहरुले पनि त्यस अनुसारको तयारी गरेको बताए।

त्यस्तै, माल्दिभ्सका कप्तान हसन नजिम पनि आफै राष्ट्रिय खेलाडी हुन्।

'यो प्रतियोगिता त्यति सहज छैन। अहिले हाम्रो ध्यान समुह चरणमा छ,’ नजिमले भने।

प्रतियोगिताका लागि एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। प्रतियोगितामा टिकटको मूल्य ५०० रुपैयाँ राखिएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन प्लसबाट हुनेछ।

नेपालको पहिलो खेल भोलि माल्दिभ्सविरुद्ध खेल्ने छ। त्यस्तै, दोस्रो खेलमा नेपालले ५ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ।

समूह 'ए'मा नेपालसहित भुटान र माल्दिभ्स रहेका छन्। यता समूह 'बी'मा भने बंगलादेश, भारत र श्रीलंका रहेका छन्।

त्यसो त अरु टिमहरुले पनि राम्रो तयारी गरेको बताएका छन्। उपाधि दावेदार तर बलियो मानिएको टिम भारत पनि साफ यू १८ को उपाधि हात पार्ने लक्ष्यका साथमा आएको छ। भारतका प्रशिक्षक फ्लोयड पिन्टो आफूहरुले राम्रो तयारी गरेको बताउँछन्।

भारतीय सिनियर टिममा समेत समावेश भइसकेका खेलाडी यू १८ टिममा समावेश भएकाले भारतले बलियो दावेदारी दिने संकेत गरेको छ। भारतका प्रशिक्षक पिन्टोले पछिल्ला २/३ वर्षमा भारतीय टिमले धेरै सुधार गरेको बताए।

'तयारी राम्रो गरेका छौं। सिनियर टिमसँगको अभ्यासले पनि हाम्रो टिम बलियो छ। एक्पोजर र अभ्यास खेल पनि राम्रो खेलेका छौं,' प्रशिक्षक पिन्टोले भने, 'प्रतियोगिता टफ छ। जित्न सहज छैन भन्ने हामीले बुझेका छौं।'

त्यस्तै श्रीलंका भुटान तथा बंगलादेशका प्रशिक्षक तथा कप्तानहरुले आफ्नो तयारी राम्रो रहेको बताए।

'सबै टिम यहाँ जित्न आएका छन्। हामी त्यसबाट फरक छैनौं,' बंगलादेशका प्रशिक्षक एन्ड्रिउ पिटर ट्रनरले भने, 'हामी प्रयास गर्नेछौं। र, च्याम्यियन बन्न चाहन्छौं।'

यता भुटानका प्रशिक्षक उगेन दोर्जीले पनि नेसनल लिगमा लगायत राम्रो अभ्यास र तयारी रहेकाले आफ्नो बलियो चुनौती प्रस्तुत गर्ने संकेत गरे।

तेस्रो संस्करणको रुपमा आयोजना हुन गइरहेको उक्त प्रतियोगिताको नेपाल साबिक विजेता हो। नेपालले पहिलो र दोस्रो संस्करणमा नै भारतलाई पराजित गर्दै उपाधि हात पारेको थियो।

यस्तो छ नेपाली टिम :

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी, पूजन होना

डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डर :शिशिर लेखी, रोशन राना मगर, आकाश बूढा मगर, जय गुरुङ(कप्तान), मनिष थापा, कुशल फुँयाल, नितिन थापा(उप कप्तान)

फरवार्ड :ब्रिजेस चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell