PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आँचल शर्मा भन्छिन्, ‘सँगै फिल्म खेलेकै मान्छेसँग विहे गर्नुपर्छ भन्ने छैन’



हेम रोकाहा

आँचल शर्मा भन्छिन्, ‘सँगै फिल्म खेलेकै मान्छेसँग विहे गर्नुपर्छ भन्ने छैन’

नायिका आँचल शर्मालाई यतिबेला विभिन्न ब्राण्डका विज्ञापनको लागि फोटोसुट तथा भिडियो छायांकन गर्न भ्याइनभ्याइ छ। साथमा उनले नयाँ फिल्मको तयारी पनि गरिरहेकी छिन्। ‘नाइ नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले हालसम्म ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’ र ‘दाल भात तरकारी’मा अभिनय गरिसकेकी छिन्। पहिलो फिल्मबाट नै उनको अभिनयको तारिफ गरिएको थियो। फिल्मसँगसँगै म्युजिक भिडियोमा अभिनय गर्न पनि उनी सक्रिय छिन्। उनको आगामी फिल्म ‘झिंगे दाउ’ प्रदर्शनको तयारीमा रहेको छ। ‘झिंगे दाउ’ फिल्म तिहारपछि प्रदर्शनमा आउनेछ। आगमी फिल्म तथा फिल्मी यात्राबारे पहिलोपोस्टले गरेको कुराकानीः-

‘नाइ नभन्नु ल ४’देखि ‘दाल भात तरकारी’सम्म आइपुग्दा फिल्मी यात्राको अनुभव कस्तो रह्यो?

राम्रो काम गर्‍यो भने एक न एक दिन कामको कदर हुन्छ भन्ने। त्यही नै हो।

तपाईँको अनुभवमा नेपाली चलचित्र बजारमा आफूलाई बिकाउन अभिनय चाहिने रहेछ कि बोल्डनेस?

अभिनय इम्पोर्टेन्ट छ, अभियस्ली। किनकी म त बोल्ड छैन। मैले बोल्ड ड्रेस, ग्लामरस ड्रेस युज गर्दिनँ, फिल्म गर्दाको समयमा। मैले बोल्ड हुने भनेर किस सिन दिएको छैन। जहिले पनि मान्छेले हेर्ने भनेको अभिनय नै हो जस्तो लाग्छ। तर बोल्डनेस पनि उत्तिकै महत्वपूर्ण छ, कहिँकतै स्क्रिप्टको माग अनुसार। तर मेरो पर्सनल कुरा गर्दा अभिनय इम्पोर्टेन्ट।

यो हदसम्म बोल्ड हुन सक्छु भनेर तय गर्नुभएको छ कि?

मैले जति राम्रो अभिनय गर्छु, मेरो बोल्डनेस त्यसैमा देखिन्छ। बोल्ड हुनु भनेको आफैँमा नराम्रो होइन नि त। बोल्डनेस इज अ नाइस थिङ। यो मेरो बोल्ने तरिका, म स्ट्रेट छु, त्यहि नै होला बोल्डनेस ममा भ’को भनेको। बोल्डनेसले मात्रै पब्लिसिटी हुन्छ भने चाइएन।

फिल्ममा क्यारेक्टरले बोल्डनेस माग्यो भने चाहिँ?

कोही कोहीले गर्न सक्नुहुन्छ होला क्यारेक्टरले मागेको खण्डमा। मचाहिँ त्यो पनि सक्दिनँ। म फिल्मभित्र पनि क्यारेक्टरले माग्यो भन्दैमा बोल्ड हुन सक्दिनँ।

एउटै फिल्ममा देखिएका नायक नायिकाहरु प्रेममा परे भनेर समाचार आइरहेको हुन्छ, त्यो उनीहरुले गर्ने पब्लिसिटी स्टन्ट हो या अफवाह मात्र हो?

त्यो व्यक्तिमा भर पर्छ। कसैले स्टन्ट नै गर्नुहुन्छ, फिल्मको समयमा पब्लिसिटीको लागि। कसैले चाहिँ गर्नुहुन्न। पर्सनल्ली मेरो कुरा गर्नुपर्दा, मैले नचाहेरै आएको र्‍युमर्स हुन्छ धेरैजसो। मैले त्यस्तो कहिल्यै चाहिनँ। जब चाहन्छु, मैले नै भन्छु।

केही समयअघि पल शाहजीले फेसबुकमा राखेको स्टाटसमा ‘आँचलको नयाँ जीवन’ भन्ने लाइन उल्लेख भा’थ्यो, त्यो ‘नयाँ जीवन’को खास अर्थ के हो?

अब जीवन त उही नै हो, पुरानो नयाँ भन्ने नै हुँदैन। कोही नयाँ व्यक्तिसँग भेट भएको या अन्य कुनै अर्थमा लेख्नु भएको होला। तर मैले त्यो स्टाटसलाई धेरै ध्यानै दिएको छैन। मेरो यति काम छ कि मैले आफ्नै काम गर्दा फेसबुक खोलेर कसले के लेखिरहेको छ भनेर हेर्ने समय नै हुन्न। उहाँले मलाई ट्याग पनि गर्नु भएको थिएन, त्यो भएर पनि मैले पछि मात्रै थाहा पाएँ।

पलजीले ‘हाम्रो नाम जोडेर आँचललाई गाली गलौज नगर्नुहोला’ भनेर पनि भन्नुभा’थ्यो, तपाईँलाई सामाजिक संजालमा गाली गलौज गरिएको हो र?

मलाई त्यसमा केही पीर छैन। यो मेरो पर्सनल लाइफ हो। पर्सनल लाइफलाई लिएर कसैले आँप जोडी नै हुनुपर्छ। विहे नै गर्नुपर्छ।भनेर गाली गर्नुहुन्छ भने त्यो भन्दा मुर्खता केही होइन। म पढेलेखेको मान्छे हो नि त, त्यसैले रियाक्ट गर्ने वा नगर्ने मेरो हातमा छ। पढेलेखेको भएर, बुझेको भएर, विवेकशील भएर नै मैले त्यसमा रियाक्ट नै गर्दिनँ। किनभने त्यो अननेसेसरी कुरा हो। अब दाल भात फिल्म खेलेर आँचलले किन दाल भात खाएन? किन मोमो खायो? भन्ने प्रश्नमा मैले रियाक्ट गरेँ भनेँ त्यो त मेरो मुर्खता हुन जान्छ। अनावश्यक कुरालाई लिएर टाउको किन दुखाउने?

त्यसो भए अडियन्सको प्रतिक्रियाको मतलव गर्नुहुन्न?

अहँ। मुभी खेलेर मेरो कसैसँग नाम जोडिन्छ र उहीसँग विवाह गर्नुपर्छ भन्ने जमातलाई मेरो भन्नु केही छैन।

अनि अभिनयको बारेमा गरिएको प्रतिक्रियामा चाहिँ?

अभिनयको विषयलाई लिएर उहाँहरुले ‘आँचलजी तपाईँको एक्टिङ राम्रो भएन’ भनेर भन्नुभयो भने पनि त्यो जतिको खुसीको कुरा अरु केही लाग्दैन। किनकि फ्यान भएपछि सबैले मन पराउनुहुन्छ तर कमेन्ट गर्न सक्नुपर्छ। मलाई एकदम खुसी लाग्छ, ‘आँचलजी तपाईँ मोटाउनु भएन है’ भनेर पनि लेखिरहनुहुन्छ। कति राम्रो। उहाँले मलाई सल्लाह दिइरहनुभएको छ। गुड एडभाइस, म जहिले पनि लिने मान्छे हो।

कुनै त्यस्तो कमेन्ट छ, जसले एकदमै चित्त दुखेको थियो?

मलाई खासमा पहिले पहिले चाहिँ एकदम चित्त दुख्थ्यो। पहिले जे कुराले पनि चित्त दुख्थ्यो तर अहिले त मलाई चित्तै दुख्दैन। ‘आँचलजी तपाईँ कति काली’ पनि भन्नुहुन्छ, अब कति हाँस्नु के। यो त हाँस्ने कुरा होइन त? यस्ता कुरालाई हाँसेरै टार्दिन्छु।

कुनै कमेन्टले रुवायो कि?

रुवाउने त हैन तर बेक्कार आएछु यो फिल्डमा, केही गरेनि अप्रिसियट नगर्ने मान्छेले, जहिल्यै खुट्टा तान्न मात्र लाग्ने भने जस्तो हुन्थ्यो। किनकि मैले यस्तोसम्म हुन्छ लाइफमा भनेर केहिल्यै सोचेकी थिइन। त्यो भएर पहिले चित्त दुख्थ्यो तर अहिले चाहीँ जे गरेनी चित्त दुख्दैन।

तपाईँबारे फैलिएका त्यस्ता केही अफवाहहरु छन्, तपाईलाई नफैलिदिएको भएपनि हुन्थ्यो जस्तो लागेको?

अँ..... छैन। जे जति भयो त्यसले मलाई राम्रै गर्‍यो होला, कुनै हदसम्म। जे भयो ठीकै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell