काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नेहरूले विकासका सपना किन देखाएको भने पनि आफूले मुर्छित सपनामा पानी छर्किएको बताएका छन्। संविधान दिवसको अवसरका आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपना साकार पार्नकै लागि पानी छर्किएको बताएका छन्।
सम्बोधनमा उनले भनेका छन् ‘भन्नकै लागि त भन्न सकिन्छ नि खै त रेल? खै त पानीजहाज? कहाँ छ सुरुङ खनेको? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको?अझै जोड दिएर सोध्न सकिन्छ, हामीलाई सपना किन देखाएको? हामीमा आशा किन जगाएको? म बिनम्रताका साथ स्वीकार्छु, हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ। मैले भनेको हुँ निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौँ।'
प्रधानमन्त्रीले आफ्नो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनीप्रति विश्वास बढाउनु भएको बताएका छन्। विश्वास साकार पार्न हरेकले प्रयास गर्नुपर्ने प्रधानमन्त्रीले बताए। देश विकासको सपनालाई सम्भव बनाउन आफूले कोसिस गरेको पनि प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्री ओलीले आफू र आफ्नो दलको काम फगत सपनाका सौदागार नभएको बताए। भत्कियो, अब हुन्न भन्ने मनस्थिति फेर्न तत्कालीन समयमा आफूले आशाको सञ्चार गरेका पनि उनले बताए। प्रतिवद्धतालाई विश्वास गरेकोमा प्रधानमन्त्रीले जनतालाई धन्यवाद पनि दिएका छन्।