PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

वीरगंजमा डेंगुका विरामी १३० पुगे, जनचेतना फैलाउन शिक्षक र विद्यार्थी परिचालन गर्दै महानगर



राधेश्याम पटेल

वीरगंजमा डेंगुका विरामी १३० पुगे, जनचेतना फैलाउन शिक्षक र विद्यार्थी परिचालन गर्दै महानगर

वीरगंज : वीरगंजमा डेंगुका विरामीको संख्या एक महिना भित्र १३० पुगेको छ।

वीरगंजको करिब आधा दर्जन अस्पताल तथा दुई दर्जन क्लिनिकहरुबाट आएको तथ्यांकअनुसार वीरगंजमा करिब १ सय ३० जना डेंगु रोगीको उपचार भएको छ। १३० मध्ये ५० प्रतिशत रोगी उपचार गरी घर फर्कि सकेको नेपाल मेडिकल एसोसिएसन नारायणी वीरगंजले जनाएको छ। अन्यको विभिन्न अस्पतालमा उपचार गराइको एसोसिएसनका महासचिव डा उदय नारायण सिंहले जानकारी दिए।

उनले नारायणी अस्पतालमा ६० जना, नेसनल मेडिकल कलेजमा ३० जना, तराई अस्पतालमा ११ जना, गण्डक अस्पतालमा ६ जना, हेल्थ केयरमा ६ जना, एडभान्समा १४ जना र भवानीमा ३ जना गरी करिब १३० जना रोगी अस्पताल तथा क्लिनिकको सम्पर्कमा आइसकेको बताए।

अहिलेको मौसम वर्षातको मौसम भएकोले पानी जम्ने ठाउँ भइरहदासम्म डेंगु रोगीको सख्यामा वृद्धि भइरहने चिकित्सकहरुले बताएका छन्। वीरगंजमा फेला परेको डेंगुमध्ये करिब १० प्रतिशत भारत विहारका पनि रहेको बताइएको छ।

नारायणी अस्पतालका अर्का डा निरज कुमार सिंहका अनुसार हेटौंडा र चितवनमा काम गर्ने तराईका जिल्लाका बासिन्दा पनि हाल गृह जिल्ला फर्केर उपचार गराईरहेकोले पनि वीरगंजको तथ्याकमा बढोत्तरी भएको बताए। भारत बिहारका डेंगु रोगी पनि वीरगंजमा आएर उपचार गराई रहेको उनले बताए।

अवस्था चिन्ताजनक रहे तापनि भयावह नरहेको वीरगंज महानगर स्वास्थ्य तथा समाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोले बताए। उनले वीरगंजमा फेला परको डेंगु रोगी मध्ये ३७ जना मात्र वीरगंजवासी रहेको र बाँकी छिमेकी जिल्ला र भारतीय रहेको बताए। 

महानगरले डेंगु रोग नियन्त्रणको लागि वडावडामा औषधी छर्ने तथा विद्यार्थी–शिक्षकलाई परिचालन गर्ने काम पनि शुरु गरेको उनले जानकारी दिए।

उनले भने, 'आइतवारदेखि महानगरका ५० वटा विद्यालयका ५० जना शिक्षकलाई तालिम दिइ कक्षा ८, ९, १० मा पढ्ने विद्यार्थी परिचालन गरी घरघरमा शिविर चलाई डेंगुबाट बच्ने ज्ञान स्थानीयलाई दिइने कार्यक्रम छ। शिक्षक विद्यार्थीले वडा स्तरमा स्थानीयलाई आफनो घर, स्कूल, विभिन्न कार्यालय वरपर रहेको डेंगु रोग फैलाउने लामखुट्टेको बासस्थान सफाइ गर्ने सीप सिकाउने छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell