PahiloPost

Oct 24, 2019 | ७ कात्तिक २०७६


चीनमा कश्मीर रुन्छ : ‘अम्मीको याद आउँछ’



विधुर ढकाल

चीनमा कश्मीर रुन्छ : ‘अम्मीको याद आउँछ’

सिचुवान : जनगणतन्त्र चीनको सिचुवान प्रान्त। राजधानी छेन्दु। यहाँको एउटा ठूलो विश्वविद्यालय युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना। हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुको जमघट। विश्वविद्यालयको साउथ गेट अगाडिको प्याराडाइज वाल्क, नुनदेखि सुन सम्म एकै ठाउँमा पाउने स्थान।

यही प्याराडाइज वाल्कभित्र स्याउ सुम्सुम्याउँदै गरेका अख्तर हुसेन। स्याउ सुम्सुम्याउँछन्। टोलाउँछन्। उनलाई घरको यादले सताउँछ।

पसलका कर्मचारीलाई इसाराले सोध्छन् कति पैसा? चिनियाँ कर्मचारी बुझ्दिनन्। अर्का साथीले सोधीदिन्छन्- तो साओ?

सी सान!

यी जीन?

तोइ।

हामीले एक किलो दुई किलो भने जस्तै उनीहरुले यी जीन भन्छन्। यी भनेको चिनियाँ भाषामा ‘एक जीन’ ५०० ग्राम।

अख्तर मन मनै हिसाब गर्छन्।

‘हाम्रोमा भन्दा महँगो रहेछ।‘

भारत शासित कश्मिरको राजधानी श्रीनगरका अख्तर स्याउकै बारिमा हुर्किएका।

‘मेरो घरमा पनि स्याउको बगान छ। म सँधै त्यहाँ काम गर्थेँ,’ उनले भने, ‘हाम्रोमा पनि स्याउ पाकेका छन्। घरको स्याउको याद आउँछ।’

एक किलो स्याउ किन्छन्, फर्किन्छन्।

विश्वविद्यालयको होस्टेलमा बस्ने उनी उनका रुममेट झापाका नेपाली, विशाल गुरागाईँ।

कोठामा स्याउ लिएर पुगेका अख्तर स्याउ हेर्दै रुन्छन्। ‘यहाँ आएदेखि हरेक दिन रोएको छ,’ विशालले भने।

***

दैनिक पाँच पटक कोठामै नमाज पढ्छन् उनी। घरमा कुरा गर्न पाउँदैनन्। काश्मिरमा टेलिफोन सेवा बन्द भएको डेढ महिना भइसक्यो।

भारत सरकारले नोभेम्बर ५ मा संसदबाट संविधान संशोधन गर्ने आदेश पारित गर्दै कश्मीरलाई दिँदै आएको विशेष दर्जा खोस्यो। कस्मीरलाई केन्द्र शासित राज चलायो। अशान्ति भड्किने भन्दै सन्चारका सबै माध्यममा रोक लगायो। त्यसैको मारमा परेका छन् अख्तर।

‘अम्मीको साह्रै याद आउँछ। आएदेखि कुरा गर्न पाएको छैन,’ उनले भने- ‘हर रात रोएको छु।’

साता अगाडि सिचुवान आइपुगेका उनले घरमा आफू सकुशल आइपुगेको सन्देश भने पुर्‍याए।

उनका दाजुका एक जना साथी कश्मीर प्रहरीमा रहेछन्।

‘पुलिसलाई सरकारले नम्बर दिएको छ। उनैलाई फोन गरेर आइपुगेको जानकारी गराएँ। उनले दाजुलाई भन्दिए,’ उनले भने, ‘अम्मीसँग कुरा गर्न चाहन्छु। टेलिफोन चल्दैन। इन्टरनेट चल्दैन। ह्वाटस् एप चल्दैन।’

उनकी अम्मी विरामी छिन्। तिनले कसरी स्याउ स्याहारेकी होलिन् भन्ने चिन्ता छ उनलाई।

छिमेक पनि अर्कै ग्रहका जस्तै

कश्मीर चीनसँग सीमा जोडीएको राज्य। उनी सीमा पार चीन पुग्न सक्थे। तर, उनलाई यहाँ अर्कै ग्रह आएजस्तै लाग्छ। भारतीयसँगै उनको भेट हुन पाएको छैन। विश्वविद्यालयमा नगन्य मात्रामा छन् भारतीय विद्यार्थी। पाकिस्तानी भने धेरै नै छन्।

अगस्ट ३१ सम्म आइपुग्नुपर्ने उनी दुई साता ढिलो गरी सिचुवान ओर्लिए।

‘अवस्था त्यस्तै थियो। मैले मेल पनि लेखेको थिएँ। तर पुगेनछ,’ उनले भने, ‘यहाँको अफिसमा मैले भने मेरोमा अवस्था यस्तो थियो ढिलो भयो। सायद उनीहरुलाई पनि थाहा थियो। म ढिलो आउनुको कारण।’

कश्मीरमा सडक बन्द यातायात ठप्प। मान्छे जम्मा हुन बन्द। यहाँ पुग्न दुई दिन लाग्यो। लामो यात्रा तय गरे उनले।

श्रीनगरको विमानस्थलमात्र खुला। श्रीनगरबाट दिल्ली दिल्लीबाट बैंकक हुँदै छन्दुमा ओर्लिए। यहाँ पुग्दा भाषा अर्कै, भेष अर्कै। चिनियाँ बोल्न नजानेका उनलाई अर्कै ग्रह जस्तै लाग्‍नु स्वभाविक पनि हो। त्यसमाथि घरको खबर सुन्न नपाउँदा झन् अर्कै ग्रहमा पुगे जस्तो भयो।

कश्मीरका अर्का एक जनालाई मैले भेटेको थिएँ जुन उनलाई सुनाएँ। मेरो कुरा सकिन नपाउँदै उनले प्रश्न गरे- ‘कहाँ को?’

मैले भने- ‘उनी पाकिस्तानतिरको। कश्मीरका हुन्।’

उनको मुहारमा केही अगाडि देखिएको चमक एकाएक सेलायो।

‘त्यो त अर्कै हो। म त हाम्रो कश्मीरको हो कि भनेको,’ उनले भने।

उनी भारतीय। पाकिस्तानी हुने उनको चाहना होइन। बरु आजाद कश्मीर ठिक भन्छन्।

‘भाजपाले हामीलाई अन्याय गर्‍यो। हामीलाई पाकिस्तानी भन्छ,’ उनले भने, ‘हिन्दुस्तानीले पनि हामीलाई हिन्दुस्तानी भन्दैनन्। हामी हिन्दुस्तानी हो।’

सिचुवानमा उनले हिन्दुस्तानी भेटेका छैनन्, कश्मिरीको कुरै छाडौं।

पाकिस्तानी छन्। भाषा मिल्छ। धर्म पनि मिल्छ। न्यास्रो मेटाउँछन्। तर, मन पेट खोल्न सक्दैनन्।

‘आफ्नो जस्तो हुँदैन नि त,’ उनी भन्छन्।

भारतले आफूहरुलाई आफ्ना नागरिकको जस्तो व्यवहार नगरेको उनी पटकपटक दोहोर्‍याउँछन्।

‘१० लाख सेना उतारेको छ। कति मान्छे मारेका छन्। तपाइँ त पत्रकार पनि रै’छ थाहा पाउनु भयो होला,’ उनले भने, ‘एक पटक कश्मीर पुगेर पनि लेख्नुस। कश्मीर तपाइँले सोचे जस्तो छैन्। सुन्दर छ तर अशान्त बनाएका छन्।’

केही बोर रोकिए उनी। फेरि दोहोर्‍याए- ‘कहिले काहीँ हाम्रो आँशुको बारेमा त लेख्नुस्।’

कश्मीरमा हिंसा छ। प्रहरीलाई बमले उडाउँछन् नि?

प्रश्न खस्न नपाउँदै भने - ‘हामीले कहाँ गर्छौँ? अल्लाहको नाममा गलत हुँदैछ। तर, हामीले गरेका होइनौं। त्यसको पीडा भने हामीले नै पाएका छौं।’

कश्मिरका शासकले पनि ठगेको भन्दै आक्रोशित सुनिन्छन् उनी।

‘हामीलाई कश्मीरीले नै ठगेका हुन्,’ उनले भने, ‘आफ्नैले ठगे अब पराइले के गर्थे?’ पाकिस्तानप्रति पनि उनको आक्रोश छ।

‘हिन्दुस्तान त आफ्नो छैन पाकिस्तान कसरी आफ्नो हुन्छ? पाकिस्तानले पनि त हामीलाई हडप्न आक्रमण गरेको हो,’ उनले सुनाए।

भारतले हालै गरेको निर्णयले कश्मिरी युवाको भविष्यमाथि लात हानेको ठानेका छन् उनले।

‘अब कश्मीरमा हामी कश्मीरीले जागिर पाउने छैनौं। अब कश्मीरको सुन्दरता पनि मासिने छ,’ उनले भने, ‘हाम्रो सुन्दर भूमि पनि मरभूमी बन्ने छ। अम्बानीहरु आउने छन् ठूला उद्योग खोल्ने भन्दै हाम्रा उर्वर भूमि हडप्‍ने छन्।’

काश्मीरमा सरकारले दमन गरिरहेको भन्दै उनी आफ्नै अगाडि भएका दमनका घटना सुनाउँछन्।

‘प्यालेट गनले मान्छे घाइते भएका छन्। युवतीहरु बलात्कृत छन्,’ उनले भने, ‘हामी के गर्न सक्छौँ? उनीहरुसँग हतियार छ। हामी निहत्था।’

फेरि पनि उनमाथि अल्लाहले सब ठीक गर्ने विश्वास छ।

‘एक दिन अल्लाहले सब ठीक गर्ने छन्,’ कुरा गर्दागर्दै फेरि घरको यादले भावुक भए उनी। आखाँको डिलबाट गालासम्म आशु झरिहाल्यो। ‘अम्मीको बहुत याद आउँछ। आइ वान्ट टु टक टु अम्मी,’ आँशुसँगै उनको बोली सुनियो।



चीनमा कश्मीर रुन्छ : ‘अम्मीको याद आउँछ’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell