PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


नेपाल भ्रमण वर्ष: स्वर्ग एक पौराणिक कथा हो, नेपाल सत्य हो



पहिलोपोस्ट

नेपाल भ्रमण वर्ष: स्वर्ग एक पौराणिक कथा हो, नेपाल सत्य हो

  • अनुज घिमिरे-

'स्वर्ग एक पौराणिक कथा हो, नेपाल सत्य हो।'

फेसबुकमा यस्ता क्याप्सन भएका धेरै फोटा देखिन थालेका छन्। कुनै फोटामा आमाडब्लम हिमालसहित सगरमाथाको मन नै लोभ्याउने परिदृश्य देखिन्छ भने कुनैमा आकाशभन्दा निलो देखिने तिलिचो तालको र कतै इन्द्रेणी झैँ विविधता झल्किने गुम्बा र प्रार्थना झण्डासहितको हिमाली परिदृश्य। नेपाल भ्रमण वर्ष २०२० को लागि सामाजिक सञ्जालमार्फत् आम नागरिकहरुद्वारा प्रचार वा प्रोत्साहन भैरहेको देखिन्छ। तर,  त्यसको तुलनामा सरकारीस्तरबाट भएको तयारी भने फितलो देखिन्छ।

सामाजिक सञ्जालको वर्चस्व रहेको अहिलेकोजस्तो युगमा प्रचार प्रसार झनै सजिलो हुनु पर्ने हो। तर,  विदेश बस्नेहरुले एकजना पर्यटक पठाऊ, सामाजिक सञ्जालका प्रोफाइल फोटोमा नेपाल भ्रमण वर्ष राख भन्नेजस्ता सतही कुरा गरेर समय बिताइएको देखिन्छ। आधिकारिक रुपमा त झन् केही नगरिएको देखिन्छ। भ्रमण वर्ष गर्न लागेको नेपालभन्दा भ्रमण वर्ष नभएका देशहरुको प्रचार प्रसार बढी देखिन्छ सामाजिक सञ्जालमा। नेपाल भ्रमण वर्ष २०२० बारे नेपालीलाई मात्र थाहा छ जस्तो लाग्छ। 

भ्रमण वर्षको प्रचार सामाजिक सञ्जालमार्फत् विभिन्न उपकरणको प्रयोग गरेर गर्न सकिन्छ। अहिले सबैभन्दा चलेको उपकरण भने ‘इन्फ्लुएन्सर मार्केटिङ’ हो। युट्युब, भिमेओ , इन्स्टाग्राम जस्ता माध्यमबाट ठुलो जनसंख्यासम्म पुग्न खासै गार्‍हो हुँदैन। वा, भ्रमण वर्षको लागि बनाइएको वेब साइटमा ‘कल-टु-एक्सन’ (सिटिए) टुल को प्रयोग गर्न सकिन्छ। इन्टरनेट मार्केटिङ्मा सिटिएलाई प्रभावकारी टुल मानिन्छ। यसले दर्शक, श्रोता वा पाठकलाई मार्केटिङ् सहायक बनाउँछ भन्ने ठानिन्छ।  वेब साइटमा छिरेपछि  ‘अन्य जानकारी वा आकर्षक प्याकेज र अफरका लागि यहाँ दर्ता गर्नुस्’ (Sign up for more information and best deal and packages) भन्ने अप्सन प्रयोग गरेर ईमेलमार्फत् विभिन्न जानकारी दिन सकिन्थ्यो। यस्ता प्याकेजमा घुम्ने ठाउँको लिन्क, बन्जी, प्याराग्लाइडिङ वा र्‍याफ्टिङ वा अन्य आकर्षक प्याकेजका मात्र सुचना दिन सके सजिलोसँग मार्केटिङ् हुनसक्थ्यो। अथवा, ‘अहिले बुक गर्नुस् र २० प्रतिशत छुट पाउनुहोस्’ भनेजस्ता अफर दिने। नेपाल भ्रमण वर्षको आधिकारिक वेब साइटमा जत्ति नै खर्च खर्च गरे पनि अन्तरक्रियात्मक नभए, सिटिए नभए खासै उपयोगी हुन्न होला। अझ लाइभ च्याट राखेर बिदेशीको प्रश्नको उत्तर सोही समयमा दिन मिल्ने बनाउन सके झन बढी प्रभावकारी हुन्थ्यो।

अर्को कुरा, भ्रमण वर्षको प्रचार प्रसारकालागि मर्क विन्स, स्याम चुइ जस्ता प्रसिद्ध ब्लगरहरुलाई प्रयोग गर्न सकिन्थ्यो। विभिन्न देशका सरकार वा निजी संस्थाले यस्ता ब्लगरहरुलाई प्रयोग गरेर प्रचारप्रसार गरेको देखिन्छ। उनीहरुका हरेक भिडियोमा लाखौं भ्यु आउँछ। अझ राम्रो कुरा त के छ भने मर्क विन्स र स्याम चुइ दुवै आफ्नै पैसाले नेपाल घुमिसकेका ब्लगर हुन्। र, यी दुवैले नेपाललाई मन पर्ने देशको सुचीमा राखेका पनि छन्।

यी दुईका ब्लगबाटै मसँग पढ्ने एकजना विदेशीले नेपालबारे जानकारी पाएका रहेछन्। उसले मलाई नेपाली खानेकुरा धेरै मीठा हुन्छन् रे नि भनेर मलाई सोध्दैथियो।  अमेरिका वा अष्ट्रेलिया वा संसारकै जुनसुकै देशमा नेपालीको संख्या जत्ति ठूलो भएपनि ती देशमा नेपाल कहाँ छ भनेर थाहा नपाउने मानिसहरु करोडौं छन्। जब नेपाल थाहा छैन भन्ने सुनिन्छ अनि सगरमाथाको आड लिएर ‘सगरमाथा थाहा छ?’ भनेर सोधेपछि ‘ए अँ’ भनेर बुझेजस्तो गर्छन्। उनीहरुले सगरमाथा भनेर त बुझ्छन् तर सगरमाथा कहाँ छ? यसको भौगोलिक अवस्था कस्तो छ?  भन्नेबारे त थाहा हुँदैन।

हामीलाई लाग्छ, नेपाल विश्वभरी प्रख्यात छ। तर, छैन। प्रख्यात सगरमाथा होला, बुध्द पनि होलान् तर नेपाल चाहिँ छैन। भ्रमण वर्ष यी कुराहरु नेपालमा छन् र यीबाहेक अन्य सयौं कुरा छन् जो नेपालका आकर्षण हुन् भनेर चिनाउने समय पनि हो। तर, हामीले यसरी सोचिरहेका छौं भन्ने आभास देखिँदैन।

के हामी तयार छौं त?

नेपाल सुन्दर देश छ। संसारको धेरै ठाउँ नपुगे पनि आफुलाई लाग्छ कि, प्राकृतिक रुपमा नेपाल जति सुन्दर देश कुनै छैन। र, हामीले पर्यटनबाट मात्रै धेरै कमाउन सक्छौं। यत्ति नै संख्या भन्ने नभए पनि ठूला ठूला शहर, गगनचुम्बी भवन देखेर रमाउनेभन्दा प्रकृतिमाको संख्या बढी नै हुनुपर्छ। र, प्रकृतिमा रमाउनेहरुका लागि हामीकहाँ रमाउने मात्र हैन हराउने ठाउँ नै छन्।

नेपाल भ्रमण वर्षबारे जति पर्यटकले थाहा पाएका छन्, तिनले सोच्दा हुन्- नेपालले भव्य तयारी गरेको होला। पर्यटककालागि आकर्षक प्याकेज होलान्। होटलमा विशेष छुट् होलान्। सरकारले विशेष प्याकेज बनाएको होला। तर हामीले बाहिरबाट हेर्दा त्यसको कुनै छेकछन्द देखिँदैन। अनि के के न गरेको होला भनेर आउने पर्यटकले हाम्रो लथालिंग ताल देखेर के भन्दो हो? भ्रमण वर्ष भनेर प्रचारप्रसार गर्दा त यस्तो ताल छ भने अरु बेला कस्तो होला? भ्रमण वर्ष असफल भए अर्को वर्ष आउने नियमित रुपमा आउने पर्यटकको संख्या पनि घट्न सक्छ। त्यो बारे सोचिएको छ त? 

हामीसँग पर्यटकलाई देखाउन सयौं कुराहरु छन्। भौगोलिक विविधतामा होस् कि वन्यजन्तु, भेषभुषा, भाषा,खाने कुरा वा संस्कृति र परम्परामा नै किन नहोस्। हाम्रो आफ्नोपन छ र त्यो कुरा बिदेशीको लागि नयाँ र मनोरन्जनको साधक मात्र नभएर एउटा नयाँ कुरा सिक्ने माध्यम नि हो। पर्यटकलाई बोलाइसकेपछि लथालिङ्ग पारामा छोड्ने कि त्यसलाई वैज्ञानिक रुपमा स्तर तय गरेर त्यसको उपयोग गर्ने? काठमाडौंको धुलो र कोलाहालले सात्तो खाने कि हिमश्रृङ्खलाको मनमोहक दृश्यहरु देखाएर मन खाने? नेपाल छोडेर जाँदासम्म पनि मुखमा पानी आउने गरी हाम्रा खाना खुवाउने कि खाली धुलो र हल्ला खल्ला मात्रा खुवाएर पठाउने?

अझ दु:खपूर्ण रुपमा भन्नुपर्छ, काठमाडौंको धूलो, धुँवा एक ठाउँमा तर राजधानीमै गतिला सार्वजनिक शौचालय नै छैनन्। गतिला त के भन्नु, सामान्य सार्वजनिक शौचालय नै पो कहाँ छन् र ! २० औं लाख पर्यटक ल्याउने भनेर खोकिरहँदा यस्ता कुरामा पनि ध्यान दिने कि ! हुनत, हामी जे छौं, जस्ता छौं, त्यही देखाएर ‘हामी त यस्तै त हो नि, ब्रो’ भनेर पठाउन नि सकिन्छ।

अब त ४ महिना नि बाँकी छैन २०२० सुरु हुन। हाम्रो देशमा बाघ र गैंडा छन् भनेर मात्र बस्ने? कि बरु ‘इन्फ्लुएन्सर माकेटिङ’को प्रयोग गरेर त्यसको प्रचार गर्ने? लियोनार्दो डि क्याप्रियो नेपाल आएका थिए। बाघको संरक्षण सम्बन्धी कुरा नि निकालेका थिए। उन्लाई फेरि बोलाएर नेपालमा बाघको संरक्षणमा भएको काम र नेपाल भ्रमण वर्षबारे केही पोस्ट मात्र गर्न लगाए पनि धेरै हुन्थ्यो होला। लौ, उनी त अलि धेरै नै प्रख्यात सेलिब्रेटी भए, बोलाउन नसकिएला रे। राम्रो युट्युब च्यानल भएको भ्लगर मात्र बोलाए नि धेरै सहयोग हुन्थ्यो होला।

प्रचार कै कुरा छोडेर तयारी हेरौं भन्यो भने झन् निराशाजनक अवस्था देखिन्छ। नेपाल आउने पर्यटक पहिलोपटक ओर्लिने ठाउँ काठमाडौं। काठमाडौंको अवस्था त भन्नै परेन। कमसेकम विमानस्थलदेखि ठमेलसम्म मात्र चल्ने एउटा फ्री शट्टल (बस) को व्यवस्था गर्न सकिन्थ्यो कि विदेशीको लागि मात्र। विमानस्थलमा ओर्लिने बित्तिकै तर्साउनुभन्दा काठमाडौं शहर भित्र पुगेर तर्सियोस् न बरु। हुनत फेरि ट्याक्सीको व्यापार जान्छ भन्ने कुरा आउला। तर, पहिलोपटक काठमाडौं झरेको विदेशीलाई नि:शुल्क बसको सुविधा मात्र दिएर भारी ट्याक्सी शुल्कबाट मात्र बचाउन सके मात्र नि केही हुन्थ्यो कि? यो ट्याक्सी शुल्कको मात्र कुरा पनि होइन, माउथ-टु-माउथ प्रचारको माध्यम पनि हो। उनीहरुले सञ्जालमा लेख्थे होलान्, ‘ओहो! नेपाल भ्रमण वर्षको लागि त विमानस्थलबाट ठमेल वा होटेल क्षेत्रसम्म फ्री बस रहेछ।’

हामीले काठमाडौंमा नेपाल भ्रमण वर्षका पोस्टर वा झण्डा गाड्नुभन्दा भ्रमण वर्षको एप पनि बनाउन सक्थ्यौं। धेरै विदेशीले ‘अल ट्रेल्स’ भन्ने एप प्रयोग गरेको देखिन्छ। त्यसमा वरिपरि हिंड्ने बाटो कस्तो छ, कति गार्‍हो छ, कहाँबाट जाने, कसरी जाने भनेर पुरै जानकारी हुन्छ। हामी पनि एउटा नेपाल भ्रमण वर्षको एप बनाएर हरेक शहरको प्रमुख आकर्षण के के छ, खाने कुराहरु के के पाइन्छ, कति पर छ, कति सस्तो महँगो छ भनेर एउटा भर्चुअल सुचना पेटिका बनाए धेरै सजिलो हुन्थ्यो कि? र त्यसमै ‘स्क्याभेन्जर हन्ट’ जस्तो गरेर यो यो ठाउँमा गएर ‘चेक इन’ गरेमा यो यो ‘सुभिनियर’ (स्मृति चिन्ह) वा यो यो पसलमा सामान किन्दा १० प्रतिशत, २० प्रतिशत डिस्काउन्ट पाउने भनेर जानकारी दिँदा सहयोग मिल्न सक्छ। वा टुइटर, इन्स्टाग्राममा त्यस ठाउँको फोटोसहित ‘भिजिट नेपाल’ वा ‘आइ एम इन नेपाल’ भनेर पोस्ट गरे पनि डिस्काउन्टको व्यवस्था हुने भन्नेजस्ता प्याकेज बनाए पनि प्रचार हुन्थ्यो।

काठमाडौं, भक्तपुर ललितपुरमा रहेका धेरै पुरातात्विक र परम्परागत सम्पदाहरुको एउटा ‘टुर प्याकेज’ बनाउने र माइक्रो वा बसमै भए पनि घुमाउने। त्यो प्याकेज किने बापत,खाने कुरामा वा परिवारको लागि केही चिनो लान इच्छुकलाई ठमेलका पसलमा छुट दिने हो भने पनि अर्को आकर्षण हुन्थ्यो। नेपाली स्थानीय खानाको प्रचारको लागि थानीय खाना खाएमा फेरि केही छुट भनेर वा खाने कुराको कुपन बनाएर प्रचार गर्न सकिन्छ। यसले पर्यटकलाई कहाँ कुन खाना पाइन्छ र त्यसको के बिशेषता छ पनि थाहा हुने भयो र हाम्रो खानाको प्रचार पनि हुने भयो।

यो त शहर वरिपरिको मात्र कुरा भयो। हिमाल र ट्रेकिङ उद्योगमा भने बरु यसै पनि आकर्षण छ। जति धेरै प्रचार गरे नि सधैं आउने जति पर्यटक यसै आउलान्। तर हाम्रो मौलिकता झल्किने कुरा, जसले हामीलाई नेपाली बनाउँछ र जसले नेपाललाई एउटा अद्वितीय देशको रुपमा चिनाउन सक्छ त्यतातिरको प्रचारमा लागे झन धेरै सहयोग होला।  विश्व सम्पदा सूचीमा रहेको हरेक ठाउँमा पस्न शुल्क तिुर्न पर्छ। सबैलाई त्यो कुरा चित्त नबुझ्न नि सक्छ र सबै जान्छन भन्ने नि छैन। तर त्यो शुल्कलाई पनि एउटा प्याकेज बनाएर जति धेरैमा गयो त्यति थोरै पैसामा जान पाइने भन्ने व्यवस्था गरे वा एउटाको टिकट किनेपछि अर्कोमा सस्तो पर्ने वा ८ वटामा गए २ वटा फ्रीमा छिर्न पाउने भने मात्र पनि राम्रो आकर्षण हुन सक्थ्यो। त्यस भित्र पनि ‘गाइडेड टुर’ गर्नेले त्यो गर्न पाउने, नगर्नेले आँफै डुल्न पाउने भने रोजगारी पनि बढ्थ्यो र त्यो प्याकेज किने अनुसार स्थानीय खाने कुराहरु पाउने पसलमा १०/१५ प्रतिशत डिस्काउन्ट दिन सके झन राम्रो हुन्थ्यो होला। त्यस्तो गर्नाले धेरै कुरा एकैपटक प्रचार पनि हुन्छ- अझ त्यो प्याकेज लिनेहरुलाई गाडीमा जाँदा बाटामा देखेको सबै कुरा, जस्तै मन्दिर वा पुराना बस्तीहरुकाबारे सिकाउँदै लग्न सके। 

कतिपय पर्यटक वन्यजन्तुमा रुची राख्ने हुन सक्छन्। उनीहरुकालागि पनिप्याकेज राख्न सकिन्छ। नेपालका लोपुन्मुख प्रजातिहरु हेर्ने प्याकेज। उनीहरुले हेरेका देखेका कुराहरु सामाजिक सञ्जालमा ह्यास्ट्याग प्रयोग गरेर फोटो पोस्ट गरे वा प्रचार गरे खानामा वा अन्य केहीमा छुट दिने प्याकेज बनाउन सकिन्छ। 

हाम्रो देशमा धेरै अद्वितीय जनावरहरु पाइन्छन्। तिनीहरुको प्रचार गरेर पनि २०२० लाई आकर्षक बनाउन सकिन्छ। उदाहरणको लागि ‘डल्फिन अवलोकन।’ डल्फिन जहाँ पायो त्यहीँ सजिलै देख्न सकिने जनावर हैन।डल्फिन हेर्न पाए लाइन लाग्ने धेरै हुन्छन्। हाम्रो देशमा कैलालीको मोहना नदी वरपर डल्फिन सजिलै देख्न सकिन्छ। त्यो हिसाबले प्रचार गरे डल्फिन र डल्फिन संरक्षणमा भइरहेको कामको प्रचार मात्र नभएर त्यो इलाकाको आर्थिक वृद्धिमा पनि सहयोग गर्थ्यो। अनि पर्यटकहरुले आफ्नो सोसल मिडियामा होस् वा देश फर्केर आफ्ना आफन्त वा साथीहरुलाई भन्थे, नेपालको एउटा गाउँमा स्थानीयको घरमा बसेर डल्फिन हेर्न पाइने रहेछ। त्यो एउटा राम्रो अनुभव हुन्थ्यो। अझ राम्रो नाम दिन सके झन प्रसिद्ध हुन्थ्यो। जस्तै, ‘लिभ विद लोकल्स, सुइम विद द डल्फिन्स।’ यस्ता कुरा धेरै वन्यजन्तुसँग गर्न सकिन्छ। तर उनीहरुलालाई वा उनीहरुको बासस्थान खलबलाउने हिसाबले चाँहि गर्न भएन।

‘लिभ विथ लोकल्स’को अवधारणा धेरैतिर लागु हुन सक्छ। तराइ, पहाड वा हिमाल जहाँ भए पनि। अझ विमानस्थलमै ‘ट्राभल पासपोर्ट’ भनेर दिने जसमा नेपालका सबै आकर्षक ठाउँहरुको फोटो हुन्छ। पर्यटकहरु  जहाँ जान्छन्, त्यहाँ एउटा छाप हान्ने। त्यसमा भएको ठाउँ मध्य यति ठाउँ घुमेमा यो यो कुरामा छुट वा यो यो चिनो लान मिल्ने कुरा फ्रीमा पाउने भन्ने गर्न सकिन्छ होला।

अहिलेको अवस्थामा त झन डेङुको कुरा नि निक्लने देखिन्छ। त्यसको लागि चाँहि केही भएको छ कि छैन? आश्वासन दिन सक्ने अवस्था छ कि छैन? कतिलाई भुकम्प र अरु प्रकोपकै डरले छोडेको छैन होला, उनीहरुलाई कसरी नेपाल सुरक्षित छ भनेर भरोसा दिलाउन सकिन्छ? प्राकृतिक प्रकोपबारे एउटा पोर्टल नै पो बनाउने कि बरु? वा माथि भनेको जस्तै भिजिट नेपाल २०२० को एपमा एउटा पोर्टल चाँहि त्यसको लागि बनाउने, मौसम पूर्वानुमानको कुरा होस् वा अन्य गतिविधि सबै राख्न मिल्ने गरी।

यी त सामान्य रुपमा देखिएका सामान्य कुराहरु हुन् र धेरै ठूला कुरा पनि हैनन्। गर्नै नसकिने कुराहरु पनि हैनन्। मात्र गर्ने चाहना हुनुपर्‍यो।

तर, अहिलेकोलागि पहिलो कुरा सेलिब्रिटीहरुको सहयोगले हुन्छ कि जे गरेर हुन्छ विश्वाब्यापी रुपमा नेपाल भ्रमण वर्षबारे प्रचार भने राम्रो सँग हुन पर्‍यो। विश्वलाई थाहा हुन पर्‍यो। ‘स्वर्ग एक पौराणिक कथा हो, नेपाल सत्य हो’ भनेर पोस्ट गर्दा ‘नेपाल कहाँ छ?’ भनेर सोधे भने त सायद मजा नआउला।

लेखक अमेरिकाको नर्थ डाकोटा विश्वविद्यालयमा 'इभोलुस्नरी इकोलोजी' बिषयमा पिएचडी गर्दैछन्।



नेपाल भ्रमण वर्ष: स्वर्ग एक पौराणिक कथा हो, नेपाल सत्य हो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell