वेदांशी भर्खर २० वर्ष लागिन्। कुनै समय आफ्नो यौवनको चाल अनुसार मनोमानी गर्दै हिँड्ने उनी अहिले भने संयमित छिन्। कुनै समय संसारलाई नै प्रेम गर्न तयार उनी अहिले प्रेम गर्नुअघि सतर्क हुन्छिन्। अनि, कुनै समय आफ्नो आमाबुबाबाट टाढा भएकी उनी अहिले उनीहरुको टुट्न लागेको सम्बन्ध फेरी जोड्न सफल भएकी छिन्।
यस अर्थमा वेदांशी पहिले जस्ती छैनन्। उनको गुलाबी उमेरले उनलाई धेरै कुरा सिकाएको छ। वेदांशीको गुलाबी उमेरले उनलाई फुटबलर बन्ने सपनाबाट निकालेर नाटककर्मी बनाइदियो। उनको गुलाबी उमेरले उनलाई प्रेम गर्न सिकायो, अनि उनैको गुलाबी उमेरले हो उनलाई धोकाको स्वाद चखाएको पनि। त्यसो त उनलाई वेदांशी नाम पनि उनकै गुलाबी उमेरले दिएको हो।
जन्मअनुसार उनको राशी सिंह र नक्षत्र मघा हुँदा पण्डितजीले उनको नाम ‘माधुरी’ राख्दिए। अनि राशीको नाम गोप्य राख्न बाबुआमाले बोलाउने नाम राखे ‘ऋतु’। तर, उनलाई बोलाउँदा आमाबाबुको मुखबाट भने सधैँ ‘बाबु’ मात्रै निस्कियो। परिवारकी दोस्रो सन्तान भए पनि उनी कारणवस् पहिलो हुन पुगीन्। विरामी भएर उनीमाथिका दाइ बिते। पहिलो सन्तान छोराको वियोगमा उनलाई छोरा जसरी नै पाल्न चाहेकाले उनलाई ‘बाबु’ भन्न थाले। उनीहरुको इच्छा पूरा गर्नकै लागि उनले स्कुलको रजिष्टरमा सुटुक्क आफ्नो नाम परिवर्तन गराइन्- ‘ऋतुराज’।
‘बाबु’देखि ‘वेदांशी’सम्म हरेक नामले उनको फरक उमेर र व्यक्तित्वको प्रतिनिधित्व गर्छन्। उमेरसँगै उनको नाम बद्लिँदै जान्छ र बद्लिन्छ उनको व्यवहार र उनले संसारलाई हेर्ने दृष्टिकोण पनि। यसै बीचमा प्रेम, घृणा र सम्बन्धहरु पुनर्परिभाषित हुन थाल्छ।
खासमा ‘गुलाबी उमेर’ वेदांशीको कथा हो। उनले आफ्नो किशोरावस्थामा भोगेका सुखद् अनि दु:खद अनुभवको कथा।
‘गुलाबी उमेर’ पढ्दै गर्दा सुरुमा लाग्यो- के साँच्चै छोरी भएर जन्मिनु पनि अभिशाप नै हो? उनले ‘पहिलेका केटीलाई पो गाजल र गहना सुहाउँथ्यो, अहिलेका केटीलाई त पढाइ सुहाउँछ’ भन्दा लागेको थियो सायद उनी समाजकी रोल मोडल बन्न सक्छिन्। तर, उनले आफ्नो शरीरलाई कमजोरीको रुपमा लिएर फुटबल खेल्न छोडेको मन परेन। पढ्दै गर्दा लाग्थ्यो - उनी उठ्छिन् र सम्हालिएर फुटबलमा नाम कमाउँछिन्। उनले आफ्नो फुटबल र जर्सी पुन्टुलाई दिँदा त्यो कल्पना पानीमा बग्यो।
गुलाबी उमेर पढ्दै जाँदा छोरा र छोरी बीच कति धेरै भिन्नता छ भन्ने आभाष हुन्छ। छोरीले संसारलाई हेर्ने दृष्टिकोणको बारेमा पनि। छोरी भएपछि परिवार र समाजको बन्धनले कसरी संकुचित पार्छ भन्ने देखाउँछ। छोरी भएपछि राम्री बन्नैपर्छ नत्र समाजले स्वीकार गर्दैन भन्ने लेखकले स्थापित गर्दा पढ्नेहरुको मन चिसो हुन्छ। छोरीलाई समाजले एउटा वस्तुको रुपमा लिएको छ।
‘गुलाबी उमेर’ पढेपछि अभिभावक र समाजले छोरीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्ने हैसियत राख्छ। या त आफ्नी किशोरी छोरीको मनोविज्ञान बुझेर उनलाई कसरी व्यवहार गर्न पर्ने रै'छ भन्ने जान्ने सम्भावना पनि छ। या वेदांशीलाई उदाहरण बनाएर अझ बलियो बन्धनमा बाँध्नेहरु पनि हुन सक्लान्। उपन्यासले किशोरी छोरीमा उमेरसँग बद्लिने बानी व्यवहार र त्यसले निम्त्याउन सक्ने परिणाम बारेमा व्याख्या गर्छ।
अभिभावकले आफ्ना सन्तानलाई हुर्काएपछि आकाशमा उड्न दिनुपर्छ। उनीहरु उड्दै जाँदा यता ठोक्किन्छन्, उता ठोक्किन्छन्। कहिलेकाही जमिनमा बजारिन्छन् पनि। तर, ती सबै अनुभवले नै उनीहरुलाई जीवनको पाठ सिकाउँछ। वेदांशीले विद्रोह गरेर आफू स्वतन्त्र नभएको भए सायद उनमा अहिलेको व्यक्तित्व आउने थिएन। आखिर कसरी आयो उनमा त्यति ठूलो परिवर्तन? हामीले अन्धकार, खत्तम र पापी छ भनेको यो संसारमै जीवन जीउने ज्ञान पनि छ।
जब एउटा छोरीले प्रेम गर्छे तब ऊ अभिभावकको नजरमा बिग्रिन थालेकी हुन्छे। उसले आफ्नो प्रेम व्यक्त गर्न वा शारीरिक आनन्दको लागि यौन सम्बन्ध राख्दा ऊ आफ्ना साथीको लागि बिन्दास केटी, महिला अधिकारकर्मीका लागि विद्रोही र बुबाआमाका लागि कलंक बन्छे। जबकि यही सबे कुरा केटाहरुको हकमा भने सामान्य।
वेदांशीले छोरी भएर जन्म लिए पनि वास्तवमा उसले एउटा छोराकै जीवन बाँची। उसले जबरजस्ती भए पनि छोराकै स्वतन्त्रता महसुस गरी र छोराले झैं पारिवारिक जिम्मेवारी पनि निर्वाह गरी। हो, उसले गल्ती गरी तर उसले त्यसबाट पाठ पनि सिकी। बुबाआमालाई एक बनाउन आफ्नो जीवन नै त्याग्न पनि तयार हुनुले उनी आदर्श पात्र बनिन्। यस अर्थमा उनले आफ्नो ‘गुलाबी उमेर’ पूर्णरुपमा बाँचेको मान्न सकिन्छ। त्यतिमात्रै नभइ आफ्नी बहिनी (हरु)लाई पनि उसले ‘गुलाबी उमेर’ बाँच्ने तरिका सिकाइन्।
अमर न्यौपानेको उपन्यासले किशोरी छोरीको मनोविज्ञानलाई बोलेको छ। किशोरावस्थामा पुगेपछि उनीहरुमा आउने परिवर्तनका कुराहरु यसमा छर्लङ्ग छ। त्यो परिवर्तनले ल्याउने समस्या र त्यसलाई सम्हाल्ने सुत्रहरु पनि न्यौपानेले उपन्यासमा उनेका छन्।
यो उनको चौथो उपन्यास हो। यसअघि उनका ‘पानीको घाम’, ‘सेतो धरती’ र ‘करोडौँ कस्तूरी’ उपन्यासहरु बजारमा आइसकेका छन्। ती सबै उपन्यासले छाडेको छापलाई गुलावी उमेरले पनि कायम राख्नेमा दुईमत नहोला।