.png)
काठमाडौं: सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइतलाई ५ लाख रुपैयाँसहित सो पुरस्कार प्रदान गरेकी हुन्। सो पुरस्कार पहिलो पटक आज डा. रुइतलाई प्रदान गरिएको हो।
सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मंसिर १७ गते २ करोड २० लाख रुपैयाँको कोष शुरु गर्ने निर्णय गरेको थियो।
डा. रुइतले आफ्नो नेतृत्वमा तिलगंगा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन्।
राष्ट्रपति भण्डारीले डा. रुइतलाई नेत्र चिकित्सा क्षेत्रका चम्किला नक्षत्रको संज्ञा दिँदै उनले मानवकल्याणका क्षेत्रमा योगदान पुर्याएको बताउँदै आगामी दिनमा थप अनुसन्धान र आविष्कारको काम गर्न शुभकामनासमेत व्यक्त गरिन्।
त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क, मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि निर्माण गर्ने तनहुँका अन्वेषक विकल्प ढुंगानालाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ बाट पुरस्कृत गरिन्। उनीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।