PahiloPost

Oct 23, 2019 | ६ कात्तिक २०७६


जीवन्त नेपालगन्ज : नेपालगन्जको मानचित्र परिवर्तनमा जुटेका कर्मशील मेयर धवल शमशेर



भावना शर्मा

जीवन्त नेपालगन्ज : नेपालगन्जको मानचित्र परिवर्तनमा जुटेका कर्मशील मेयर धवल शमशेर

नेपालगन्ज : २४ वर्षका रमेश रैदास कारकाँदोको मिलिजुली टोलमा बस्छन्। ७ कक्षासम्म पढेर उनले स्कुल जान छोडिदिए र साहुको ट्र्याक्टर चलाउन थाले। अहिले पनि उनका धेरै साथीहरु काम खोज्दै भारत गएका छन्। कोही अरबी देशमा पनि छन्। रमेशलाई भने आफ्नै टोल रमाइलो लाग्न थालेको छ।

किन त?

'हाम्रो नेपालगन्ज अहिले त धेरै राम्रो भैसक्यो नि!,' उनले उत्साहित हुँदै भने, 'म हुर्किँदा यही बाटोमा दिसा बस्थें। न धारा थियो, न ट्वाइलेट। नालामात्रै बग्थ्यो बाटोमा। स्कुल जान पनि हिलोमा गाडिएर हिँड्नुपर्ने, त्यै झोंकमा ७ पढेपछि पढाइ नै छोडिदिएँ।'

उनी सानोमा घुँडासम्म गाडिएर जुन बाटो हिँड्थे अहिले त्यहाँ पिसिसी ढलान बाटो बनेको छ। बाटोको किनारमा नाला। घर/घरमा ट्वाइलेट छ, अनि धारा पनि। तीन महिनाअघि छोरा रोहित जन्मिँदा त उनले पत्नीलाई सरर रिक्सामा हालेर अस्पताल लैजान सके।

नजिकै अस्पताल, बाटो अनि घरमा भएको धारा र ट्वाइलेट यी सबै रमेशको परिवारको आधारभूत आवश्यकता थिए जुन नेपालगन्जका हरेक साना टोलका ससाना सपना थिए, जुन अहिले यहाँ पूरा भैसकेको छ। 'पैसा त काम गरेर कमाइहालिन्छ। बस् परिवारलाई तकलिफ हुन भएन!' रमेश नेपालगन्जको बदलिँदो परिवेशप्रति आशावादी छन्।

जाजरकोटका पृथ्वीबहादुर सिंह तीन वर्षअघि नेपालगन्ज झरे। चार वर्षअघि पक्षाघातबाट थलिएका पृथ्वीबहादुर उपचार गर्नकै लागि तीन वर्षअघि पहिलोपटक नेपालगन्ज आएका थिए। पटक पटकको ओहोरदोहोरबाट आजित भएपछि उनी यतै सरे। अहिले उनी नेपालगन्जमै डेरामा बसेर उपचार गराइरहेका छन्। लौरोले टेकेर बिस्तारै हिँड्छन्।

उनको साथी लौरो अनि लौरो टेक्ने बाटो पनि पक्की सडक। हिँड्दा लड्छु कि भन्ने पहिलेजस्तो डर उनलाई अहिले छैन। कारण नेपालगन्जका सबैजसो ठूला बाटाहरु चिल्ला अर्थात कालोपत्रे भइसकेका छन्। टोलका ससाना बस्तीभित्र पनि ४ मिटरको पिसिसी ढलान बाटो बनेको छ। 'यहाँ बस्दा उपचार हुन्छ। सबैथोकको सुविधा छ जुन हाम्रो ठाममा छैन,' उनले भने।

पृथ्वीबहादुर जस्ता पश्चिमी पहाडी भेगका २४ जिल्लाका बिरामीहरुको उपचार थलो पनि हो नेपालगन्ज। २४ वटा साना ठूला अस्पताल र मेडिकल कलेज भएको यो शहर पछिल्लो समय पश्चिमी नेपालको मेडिकल हब बनेको छ।

अमिर खाँ कारकाँदो-१८ स्थित मुसलमान टोलका बासिन्दा हुन्। उनी पनि अहिले आफ्नो गाउँघर वरपर भएको विकासलाई ध्यानपूर्वक नियालिरहेका छन्। ‘यति फोहोर हुन्थ्यो कि सधैँ गन्हाउने। बाटोमा पानी जम्ने अनि पानीमा गाडिएर हिँड्नुपर्ने। हाम्रो टोलका त २/३ जना बच्चा त जमेको पानीमा हिँड्दा सर्पले टोकेर मरे,’ उनले भने। अहिले बाटोमा पानी जम्न पनि रोकियो, हिँड्न सजिलो भयो, हिलो पनि सकियो। बर्मा टोलकी दिलबरिया रैदास जस्तै उनले पनि खुशी पोखे।

यसै टोलका रामफेरन चमारलाई वरपर सबैको घरमा चर्पी भएपछि आफ्नोमा पनि कहिले होला भन्ने लागिरहेको छ। वरिपरिका सबैले पाएको आफूले नपाएकोमा चिन्ता रहेछ उनलाई। 'पहिले त म बाहिरै दिसा बस्थें। सबैको घरमा भयो मेरो पनि ल्याटिन भए हुन्थ्यो।' बस्तीमा देखिएको परिवर्तनले उनमा जीवनस्तर सुधारको लालसा मात्र होइन चेतनाको स्तर पनि बढेको छ।

यी प्रतिनिधि पात्रहरुको दैनिकी जति सहज हुँदै गएको छ, त्यसरी नै समग्र नेपालगन्जमा आशाको लहर दौडिएको छ। यहाँका सडकहरु चौडा र चिल्ला बनेका छन्। सडक किनारमा कतै फोहोर देखिँदैन।

बाटोको दुवैतर्फ रुखहरु रोपिएका छन्। ठूला साना अस्पताल र मेडिकल कलेजका साथै उद्योगहरु छन्। हस्पिटालिटी सेक्टर उस्तै चलायमान छ। सोल्टी होटल जस्ता तारे होटलले समेत सम्भावनायुक्त शहर मानेर नेपालगन्जमा आफूलाई विस्तार गरिसकेको छ। वास्तवमै गतिशील देखिन्छ नेपालगन्ज।

'पाँच वर्षअघि नेपालगन्ज पुगेका र अहिले आउने जो कोहीले यो परिवर्तन महसुस गर्न सक्छन्,' नेपालगन्व उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले भने। दुई वर्षअघि मेयरमा निर्वाचित हुँदाताकाको अवस्था सम्झिँदै धवलशमशेरले त्यसयता नेपालगन्जको विकासका लागि सबै दल, कर्मचारी र नागरिकहरु एकमत भएर अघि बढेको बताए।

उनका अनुसार हाल नेपालगन्जमा जनसंख्या बढ्दै गएको छ। पहाडी भेगबाट बसाइँ सरेर नेपालगन्ज झर्ने क्रम तीव्र भएको छ। उनी नेपालगन्जलाई शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग व्यापारको हब बनाउन प्रयास भैरहेको बताउँछन्। ठूलो संख्यामा खुलेका अस्पतालहरु, होटलहरु, शैक्षिक केन्द्रहरु तथा उद्योग व्यापारलाई सधैँ चलायमान बनाइराख्नकै लागि आफू केन्द्रित भएको उनले सुनाए। मानसरोवर जाने भारतीयहरुको स्टे जोन बनेको नेपालगन्जमा भारतीय पर्यटक टिकाउनका लागि थप ८ वटा क्यासिनो सञ्चालनमा ल्याउने तयारी भैरहेको पनि उनले जानकारी दिए।

नेपालगन्जको शहरी क्षेत्रमा जनघनत्व बढिरहेको छ। त्यसको व्यवस्थापनका लागि नेपालकै नमुना शहरका रुपमा नेपालगन्जमा पहिलोपटक आधुनिक फोहोर व्यवस्थापन केन्द्र पनि सञ्चालनमा आइसकेको छ। फोहोरको डम्पिङ साइटका रुपमा मात्र नभई प्रशोधन केन्द्रका रुपमा १२ बिघा जमीनमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्रले सफा शहरको अभियानलाई मात्र सहयोग गर्ने नभई कम्पोस्ट मल उत्पादन गरी आयआर्जनको स्रोत समेत बन्नेमा उनी ढुक्क छन्।

नेपालगन्जमा भैरहेको यो परिवर्तनमा सहयोगीका रुपमा एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाले सघाइरहेको छ। यसै परियोजना अन्तर्गत नेपालगन्जमा सडक, ढल र फोहोर व्यवस्थापनका कामहरु भएका हुन्।

यहाँ हाल देखिएका फराकिला सडक तथा नाला र ढल व्यवस्थापनका लागि उपमहानगरपालिका तथा एडिबीको एकीकृत शहरी विकास परियोजना अन्तर्गत मुख्य र सहायक मार्ग गरी कुल १८ किलोमिटर सडक तथा नाला बनिसकेको छ।

यसैकारण ठूलो पानी पर्नासाथ जलमग्न बन्ने नेपालगन्जमा अहिले बढीमा २ घण्टाभित्रै पानी सुक्ने गरेको मेयर धवलशमशेरले जानकारी दिए। उनले भने, 'पहिले पानी सुक्न ६ घण्टाभन्दा बढी लाग्ने गर्थ्यो। नेपालगन्ज डुबानमा भन्दै समाचार आउँथ्यो। अब त २/३ घण्टामै पानी सुक्छ। वर्षाको समयमा पनि शहरमा पानी नजम्नु हाम्रो ठूलो सफलता हो।'

नेपालस्थित एडिबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका प्रमुख रुडी भान डेल सन् २००७ मा पहिलोपल्ट नेपाल आउँदा काठमाडौंका सडकभरि फोहोरको थुप्रो देखेका रहेछन्। उनको पहिलो इम्प्रेसन नै काठमाडौं फोहोरको शहर भन्ने परेको रहेछ।

र नेपालगन्जमा भएको फोहोर व्यवस्थापन, सडक विस्तार र समुदायकेन्द्रित कामले दिलाएको परिवर्तनलाई उनी सफलताको रुपमा व्याख्या गर्छन्। 'नागरिकका आधारभूत सेवाहरुको उचित व्यवस्थापन नभएमा सधैँ समस्या हुन्छ। नेपालगन्जमा सीमित स्रोतमा पनि उत्कृष्ट काम भएको छ। र समुदायलाई सपोर्ट गर्ने कामले विशेष अर्थ राख्छ,' उनले भने।

एशियाली विकास बैंकले नेपालगन्जका ससाना बस्तीहरुमा २९ वटा क्लस्टर छानेर काम थालेको थियो। सन् २०१४ मा सुरु भएको यो परियोजना अन्तर्गत २९ टोलहरुमा ४ सय ६ वटा ट्वाइलेट र ढलान गरेका पक्की बाटो बनेका छन्।

एडिबीको कुल ११ करोडको सामुदायिक कार्यक्रम अन्तर्गत यी टोलहरुमा विकासको काम भैरहेको एकीकृत शहरी विकास परियोजनाका सोसल सेफगार्ड मननकुमार झाले बताए। बस्तीमै रहेर काम अघि बढाइरहेका झाका अनुसार एडिबीको सहयोगले विपन्न बस्तीको रुप फेरिँदै गएको छ।

अनलाईन मार्फत आफ्नो नगरपालिकाका कामकारवाही तथा हरेक गतिविधिबारे पारदर्शिता कायम राखेका मेयरको कर प्रणाली सुधारका लागि नयाँ योजना पनि छ। उनी शहरको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक किसिमको कर प्रणाली लागू गर्ने तयारीमा छन्। धवलशमशेर भन्छन्, 'नेपालमा अधिकांश योजना हचुवामा हुन्छ। धेरै भ्रष्टाचार र लोभमा लिप्त छन्। त्यो लोभ र बदमासीबाट यो शहर मुक्त रहोस् भन्नेमा लक्षित छु।'

धनीलाई न्यूनतम १०० रुपैयाँ र विपन्न वर्गलाई न्यूनतम ३० रुपैयाँ लिने गरी काम सुरु गरेको उनले जानकारी दिए। वर्ग छुट्याएर कर लगाउँदा कोही पनि असन्तुष्ट नहुने उनको आकलन छ।

नेपालजन्ज सहर

'यहाँ मान्छेलाई उक्साउन सजिलो छ। पहाडी, मुस्लिम र मधेशी समुदाय भएकाले यहाँ सबैलाई मिलाएर विकासका साझेदार बनाएर लैजानु नै सबैभन्दा ठूलो चुनौती पनि छ। तर विकासका सवालमा यहाँ राजनीतिक पार्टी, बोर्ड वा कर्मचारी र नागरिक सबै एकजुट छौं। कसैबीच कन्फ्लिक्ट छैन। बरु सोसल मिडियाले हचुवामा हल्ला मच्चाइदिन्छन्,' उनको लामो हाँसो सुनियो।

मेयर धवलशमशेर

धवलशमशेर हालको अवस्थामा नेपालगन्जवासीको 'रे अफ होप' हुन् जसले जनताप्रति विकासका सम्भावनाहरुको असीमित ढोका खुल्ने आशा जगाइदिएका छन् र रमेश रैदासजस्ता युवाहरुलाई देशभित्रै कामको अवसर र परिवर्तनको आभाष दिलाएका छन्।



जीवन्त नेपालगन्ज : नेपालगन्जको मानचित्र परिवर्तनमा जुटेका कर्मशील मेयर धवल शमशेर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell