
चितवन : चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगुका बिरामीको उपचार चितवन जिल्ला अस्पतालमा भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले संकलन गरेको तथ्यांकमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेंगुका बिरामीको यहाँ उपचार भएको छ। छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेको उनले बताए।
यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्युठानका बिरामीको पनि यहाँ उपचार भइरहेको उनले जानकारी दिए।
केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेंगु परीक्षण गरिएको छ। जसमध्ये ३ हजार १३८ जनामा संक्रमण देखिएको उनले जानकारी दिए। ती बिरामीमध्ये सबैभन्दा बढी चितवनका रहेका छन्। चितवनका बिरामीको संख्या २ हजार ३९० रहेको छ।
यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उनले बताए। यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन्। यो संख्या साउनयताको हो। परीक्षण गरेर संक्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ। अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताए। कतिपयले यहीँको ठेगाना लेखेर उपचार गर्ने गरेको उनको भनाइ छ। जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन्। रासस