सिचुवान: जनगणतन्त्र चीनले आफ्नो स्वतन्त्रताको ७० औं वार्षिकोत्सवको तयारीलाई तीव्र पारेको छ। अक्टोबर १ मा मनाइने राष्ट्रिय दिवसको तयारीका लागि राजधानी बेइजिङ सहितका शहरहरुमा तयारी भइरहेको छ। सडकमा चिनियाँ झण्डा फहराउन थालेका छन्।
राष्ट्रिय दिवसका क्रममा राजधानी बेइजिङमा आयोजना हुने परेडका लागि तयारी भइरहेको छ। त्यसका लागि निरन्तर पूर्वाभ्यास भइरहेको छ।
१९३१-४५ सम्म भएको चीन जापान युद्धमा चीनको विजयी भएको दिनको सम्झनामा मनाइने यस पर्वको तयारीका लागि चीनले बेइजिङका आकाशमा ड्रोन, चंगा, ब्यालुन तथा आकाश दीप उडान प्रतिबन्ध लगाएको छ। बेइजिङका सात वटा डाउनटाउन जिल्लाहरुमा शनिवार मध्यरातदेखि अक्टोबर १ सम्मका लागि भन्दै यस्तो प्रतिबन्ध लगाइएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ।
जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसका क्रममा देखाइने हवाई कौशल प्रदर्शन तथा सैन्य परेडको अभ्यास र सुरक्षाका लागि भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो।
यहाँका स्थानीयलाई दुई साताका लागि आकाशमा परेवा उडाउनसमेत प्रतिबन्ध लगाइएको बेइजिङको स्थानीय सरकारले गत आइतवार सूचना जारी गरेको छ।
सरकारले चिनियाँ रेसिङ पिजन एसोसिएसनलाई सूचना जारी गर्दै आफ्ना सदस्यलाई यसबारेमा सचेत बनाउन भनेको छ।
प्रहरी तथा स्थानीय सरकारी निकायहरुलाई सम्भावित खतराको विश्लेषण तथा अध्ययनका लागि निर्देशन दिइएको छ। आदेश उल्लंघन गर्नेलाई कडा सजाय दिइने सूचनामा उल्लेख छ। बेइजिङ शहरी योजना तथा इको सिटी विज्ञले बेइजिङमा ठूला कार्यक्रम हुँदा बेइजिङका आकाशमा उडान प्रतिबन्ध लगाउनु सामान्य भएको बताएका छन्।
त्यस्तै अभ्यासका लागि बेइजिङका केही जिल्लाका सडकहरु पनि बन्द गरिएका थिए।
चीनको ट्वीटरको रुपमा चिनिने वेइवोका प्रयोगकर्ताहरुलाई यसलाई बुद्धीमत्तापूर्ण निर्णय भनेका छन् भने कतिपयले विरोध गरेका छन्।
‘बेइजिङमा रहने मेरा साथीहरु के तिमीहरु दुई साताका लागि तिम्रो ड्रोन मलाई सापट दिन्छौँ। किनकी तिमीहरुलाई उडाउन स्थान छैन,’ एक प्रयोगकर्ताले मजाक गरेका छन्।
यस वर्षको परेड पछिल्लो दुई दशकमा भएका परेड भन्दा ठूलो हुने बताइएको छ। यसपटकको परेडमा चीनको राष्ट्रिय तथा सैन्य विकासलाई झल्काइने छ। त्यस्तै केही स्थानीय रुपमा निर्माण भएका हतियारहरुकोसमेत प्रदर्न हुने छ।
परेडमा १ लाखभन्दा बढी मानिसको सहभागिता हुने र अक्टोबर १ को साँझ हुने कार्यक्रममा ६० हजार बढी सहभागी हुने बताइएको छ।
अत्याधुनिक हतियार प्रदर्शनको तयारी
यसैबीच यसपटकको परेडमा फरक किसिमका हतियार पनि देख्न सकिने बताइएको छ। गत आइतवार भएको दोस्रो अभ्यासका क्रममा त्यस्ता केही हतियारहरु देखिएका थिए।
यससम्बन्धी तस्विरहरु यहाँका सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन्। टाइप ९९ ए ट्यांक बेइजिङमा देखिएको थियो। त्यस्तै ट्यांक जस्तै देखिने २० वटा तस्विरहरु देखिएका छन्। त्यस्तै टाइप १५ ट्यांक पनि राजधानी बेइजिङमा देखिएका छन्। यस आधारमा यसपटक लाइटवेट ट्यांकले परेडमा डेव्यु गर्ने अनुमान गरिएको छ।
सैन्य पर्यवेक्षकहरुले डोङफेङ-४१ (डिई-४१) अन्तरदेशीय ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन हुन सक्ने अनुमान गरेका छन्। यो मिसाइलले एकैपल्ट १० वटा स्वतन्त्र लक्ष्यलाई निशाना साँध्न सक्ने आणविक हतियार प्रक्षेपण गर्न सक्ने हङकङ इकोनोमिक टाइम्सले जनाएको छ।
त्यस्तै डीएफ – १७ ब्यालेस्टिक मिसाइल पनि अभ्यासका क्रममा बेइजिङका शहरमा देखिएको बताइएको छ। यो मिसाइल रसियाको एभन्गार्ड जस्तै हो।
त्यस्तै दुई वटा ड्रोनको भिडियो र फोटो पनि सार्वजनिक भएका छन्। जसमध्ये एक एरोडाइनामिक डिजाइन सहितको हाइ सुपरसोनिक ड्रोन भएको र अर्को सार्प स्वर्ड स्टिल्थ अट्याक ड्रोन भएको अनुमान गरिएको छ। यी ड्रोन सन् २०१३ मा टेस्ट फ्लाइटका क्रममा देखिएका थिए।
त्यस्तै अद्भुत खालको अर्को तस्विर देखिएको छ। यो पानीमुनि चल्न सक्ने अटोनोमस साधन भए पनि यसको क्षमता खुलेको छैन।
बेइजिङका स्थानीयहरुले नयाँ एन्टिसिप मिसाइल, एन्टी एयर क्राफ्ट मिसाइलहरु देखेको दाबी गरेका छन्।
गत आइतवार बिहान भएको अभ्यासका क्रममा एक व्यक्तिले जे-२० एयरप्लेन वाई-२० ट्रान्सपोर्ट प्लेन, अर्ली वार्निङ एयरक्राफ्टलगायत देखिएको बताएका थिए।
त्यस्तै नयाँ बम्वर एच-६ एन पनि देखिएको बताइएको छ। यो एच-६ के जस्तै भएको र यसले दुरी क्षमता बढाएको समाचारहरुमा उल्लेख छ। यसले मिसाइल ओसार्न तथा प्रहार गर्ने क्षमता राख्छ।
एक सैन्य विशेषज्ञले नाम नबताउने शर्तमा ग्लोबल टाइम्ससँग यसरी देखिएका हतियारहरु विश्वकै अत्यधिक एड्भान्स भएको र यसले चीनको सार्वभौमिकताको रक्षा, भौगोलिक अखण्डता र शान्तितर्फको विकासप्रतिको क्षमतालाई झल्काउने बताएका छन्।
‘यदि भनिएका हतियारहरु साँच्चिकै विकास गरिएका हुन् भने यिनको प्रयोग शान्ति र स्थायित्व कायम गर्नका लागि हुने छ। चीनले कहिले पनि युद्धलाई निम्त्याउने छैन। पहिला पनि निम्त्याएको थिएन,’ ती विज्ञले भनेका छन्।