PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पत्याउनै गाह्रो : लुटेरासँग प्रहरीकै साँठगाँठ



सविन ढकाल

पत्याउनै गाह्रो : लुटेरासँग प्रहरीकै साँठगाँठ

काठमाडौं : गत भदौ २२ गते महानगरीय प्रहरी वृत्त बौद्धमा एउटा उजुरी पर्‍यो। उजुरीको विषय थियो - सुन सस्तोमा दिने भन्दै लुटिएको। लुटिएको रकम चाहिँ १० लाख रुपैयाँ। रकम लुटिएको २५ दिनपछि प्रहरीमा पुगेका थिए, नारायण श्रेष्ठ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बौद्धबाट एक जनालाई पक्राउ गर्‍यो। उनको साथमा भेटियो एक किलो सुन। श्रेष्ठलाई केही दिनअघि सोलुखुम्बु घर भएका नर्बु भनिने टासी लाक्पा शेर्पाले १० लाख रुपैयाँमा एक किलो सुन दिने भन्दै बौद्धमा बोलाएका थिए।

करिब ४५ लाख रुपैयाँभन्दा माथि पर्ने सुन सस्तोमा पाएपछि सजिलै लोभिए श्रेष्ठ। अनि पुगे बौद्ध। दुई जनाले श्रेष्ठसँग १० लाख रुपैयाँ लिएर सुन दिए। अनि आफ्नो बाटो लागे। कुरो यतिमै भने टुंगिएन।

१० लाख तिरेर उनले जुन सुन लगेका थिए, त्यो सक्कली होइन रहेछ। सस्तोमा मिलेको सुनको मूल्य त कौडीको पनि नभएपछि उनी झसङ्ग भए।

नक्कली भएको थाहा पाएपछि श्रेष्ठ प्रहरी कहाँ उजुरी दिन पुगेका थिए। शेर्पा भने अझै फरार नै छन्।

रोचक के छ भने, यसै घटनासँग जोडिने एक प्रहरी यतिखेर सम्पर्कबिहीन छन्। सम्पर्कबिहीन प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामामाथि सुन लुटेको अभियोग पनि छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यारत असई लामा फरार छन्। घुमुवा टोलीमा रहेका थिए लामा।

'घटना के भएको हो, हामी अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।

सम्पर्क बिहीन भएका असई लामाको कनेक्सन बौद्धमा नक्कली सुन देखाएर ठगी गर्ने टाँसी शेर्पासँग देखिएको छ। असई लामाले टाँसीलाई पटकपटक फोन गरेका थिए। असई लामाले बोक्ने ९८५१०...६३ नम्बरको सीमबाट १२ पटकसम्म फोन सम्पर्क भएको प्रहरी अनुसन्धानमा खुलेको छ। पहिलो पटक बौद्धमा भएको घटनामा पनि असई लामा शंकाको घेरमा थिए। तर, अप्रेसनको लागि फोन भएको भन्दै जानकारी आएपछि असई लामा उम्किएका थिए।

के १२ पटकसम्म असईले ठग गिरोहलाई पक्राउ गर्ने नै सम्पर्क गरेका थिए? वा अन्य नियत थियो? त्यतिमात्र होइन, असई लामाको नाममा रहेको एउटा बाइक समेत ठगी गिरोहले प्रयोग गर्ने गरेको खुलेको थियो। टाँसीले प्रयोग गर्ने २२० पल्सर बाइक असई लामाको नाममा भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। तर, प्रहरीले यो प्रकरणलाई गोप्य राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell