तीनै तहमा उप-चुनावको चटारो सुरु भएकाे छ। को उम्मेदवार बन्ने को नबन्ने भन्ने विषयले राजनीतिक वृत्त तरङ्गित हुन थालिसकेको छ। चुनावमा भिड्ने र च्याँखे थाप्नेहरु सक्रिय हुन थालिसकेका छन्। दृश्य र अदृश्य खेलहरु सुरु भइसकेको छ यतिखेर। दृश्यमा आउने खेल त सबैले देख्छन् नै। अदृश्य खेल भने नेपथ्यमा नै गुमसुम हुन्छ। नेपथ्यको त्यही खेल जारी छ ‘महाभोज’भित्र। राजनीति, प्रेस र सुरक्षा निकायहरु चुनावी रङमा कसरी रङ्गिन्छन् बुझ्न चाहनेका लागि स्वागत गर्छ- महाभोजले।
- आदर्शको कवचमा छन् रमेशविक्रम। उनको वचनमा कहिल्यै क्रुरता छैन। सधैं शालिन मात्र। भागवत् गीताका वचनहरु उनका आदर्श। त्यही आदर्शको आवरणमा जारी छ राजनीति। नेपाली राजनीतिका शीर्षासनमा रहेकाहरुको रुपभन्दा फरक केही छैन यिनको। यिनी कहिल्यै हार्दैनन्, समकालीन नेपाली राजनीतिका शीर्ष नेता झैं।
- 'मशाल' सुन्दै क्रान्तिकारी नाम। तर, यहाँ मशाल बिक्छ, पैसामा। रुग्ण छ उनको उद्योग। राजनीतिक दलका नेताले तराजुमा तौलिन्छन् सम्पादकहरु र तय गर्छन् आफ्ना एजेन्डा। सनसनीखेज 'हत्या'को शीर्षक अगाडि 'आत्म' (हत्या) बनाउनसक्ने ताकत राख्छ रुपैयाँले। मिडियाको राजनीतिक अर्थशास्त्र सबैसामु वस्त्रहीन बन्नपुग्छ।
- जनताको सुरक्षा पहिलो दायित्व भए पनि नेताबाट निर्देशित छ पुलिस। राजनीतिको बन्धकमा छ- प्रहरी महानिरीक्षकको पद। नेताजीको चाहना बुझ्नु उसको पेशागत धर्म बनेको छ, जनताको होइन। त्यसैले पूजा नेताकै जारी छ। फाइलहरु नेताकै आदेशअनुसार बदलिन्छ। रिपोर्टहरु नेताकै निर्देशनमा तयार हुन्छ। दलीय आस्थाका आधारमा पोस्टिङ पाइरहेका छन् प्रहरीले - नेपालमा झैं।
यी सबै भइरहँदा सत्यको खोजमा भौंतारिने जुझारु पत्रकार गौरीको मेहनत शून्यमा पुग्छ। इमान्दार प्रहरी निरीक्षक चाम्लिङ दोषी करार र न्यायका लागि तड्पिरहेको विनोद मृत्युसँग साक्षात्कार हुन बाध्य हुन्छ। यी सबै हारिरहँदा अरु कोहीचाहिँ जितमा उल्लास मनाइरहेका छन्। र, जारी छ जितको महाभोज।
८४ व्यञ्जनको टेबुलसामु एउटा लमतन्न लाश, विसुको। यहाँ महाभोज जारी छ। भोजमा सरिक छन् नेता, पुलिस, पत्रकार सबै। यो भोज चलिरहँदा न्यायको भने निधन भइरहेको छ। सम्भावना र आशाहरुको अवशान भइरहेको छ। आदर्श र सपनाहरुको पनि अन्त्य हुन लागिरहेको छ।
१९७९ मा मन्नु भण्डारीले लेखेको उपन्यास महाभोजको नाट्यस्वरुप अनुवाद गरेका छन् कवि विप्लव प्रतीकले। भारतीय राजनीतिको अँध्यारा पाटाहरु केलाएकी भण्डारीको नाटकलाई विप्लवले नेपालीकरण गर्दा कतै पनि बिझाउँदैन। सन्दर्भ पनि उस्तै। उप-निर्वाचनको तयारी चलिरहेको छ, यतिबेला नेपालमा। दलहरु उप-चुनावको तयारी गरिरहेका छन्। प्रोपागान्डाहरु नाटकका प्लटमा झैं यथार्थमा पनि बुनिनेछन्। र, मिडियामा ती प्लटहरु उत्रने छन्- समाचारका रुपमा। राजनीतिले डोहोर्याएको यस्तै झेली खेलका लागि सुरक्षा निकाय र कर्मचारीको सरुवा सामान्य नै हो, भारत होस् या नेपालमा।
यिनै र यस्तै सन्दर्भहरु उनिएका चरित्रहरुमा प्राण भरेका छन्, नयाँ/पुराना आर्टिस्टहरुले- अनुप बरालको निर्देशकीय शिल्प पछ्याउँदै। मण्डला थिएटरको यो महाभोजमा तपाईँलाई निमन्त्रणा छ र आफ्नो देशको दृष्यसँग साक्षात्कार हुन आग्रह पनि। हरेक क्षण आफ्नै आँखासामु चलिरहेका दृष्य यहाँ मञ्चमा मञ्चन भइरहेको छ। शासन, प्रशासन, मिडियाका कुरुप तस्बिर अनि पीडितका दबाइएका स्वरहरु। दुई घन्टाभन्दा केही लामो महाभोज यथार्थको अभिव्यक्ति हो, जहाँ समाजका नायकहरुको पराजय र खलनायकहरुको जय हुन्छ।
सुरुदेखि अन्त्यसम्म नाटकमा कलात्मक शिल्पको अब्बल प्रयोगले 'लाइभ क्यान्भास'को अनुभूति दिन्छ। निर्देशक बराल दृष्यमा कतै छैनन्, तर उनले तय गरेको क्यान्भासले दर्शकलाई जतिखेर पनि तरङ्गित गराइरहेको हुन्छ। पुलमुनि भेटिएको लाश होस् या त्यही लाशमाथि चलिरहेको रात्री भोज- ठ्याक्कै इटालेली विश्वप्रशिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको विख्यात चित्र 'द लास्ट सपर' हेरे झैं लाग्छ। लास्ट सपरलगत्तै नै जुडासले जसरी गद्दारी गरेका थिए, त्यसरी नै प्रेस, प्रहरी र राजनीतिज्ञभित्रैबाट कुनै न कुनै जुडासले एक दिन अवश्य पनि ती सबैको पोल खोल्नेछ र न्यायको फेरि जित हुनेछ भन्ने लाक्षणिक सन्देश निर्देशक बरालले दिएका छन्।
कवि विप्लव प्रतीक तीन भूमिकामा छन् महाभोजमा- अनुवादक, गीतकार र अभिनेता। बरालको 'लाइभ क्यान्भास'लाई प्रतीकका गीतले सिंगारेको छ। अभिनय उनको पाटो होइन। नरम मिजासका कवि रुखो पाराको नेतामा सधैं सुहाउने पनि होइनन्। मिडिया पपुलिज्मतिर धकेलिएको संवादमा सबैभन्दा बढी खारिएका देखिन्छन् उनी। लामो समय न्युजरुममा जोडिएको असर धेरथोर परेको हुनुपर्छ उनमा।
विप्लवका गीतले मानवीय संवेदनालाई गज्जबले जगाइदिन्छ-
'यो जिन्दगीको आँगनमा चारैतिर तगारो छ
रातको त के कुरा यहाँ दिन नै अध्याँरो छ...'
मसाल बोकेर बसेकाहरुबीच अँध्यारो रहेको गीतमात्र होइन, मिडियाको पोलिटिकल इकोनोमीले झस्क्याउँछ चौथो अंगका लागि। महिनौं तलब नदिने मिडियामाथि घोचपेच पनि चोटिलो छ, जसले मिडियाकर्मीलाई ऐना देखाउँछ।
अभिनयमा दयाहाङ राई पनि उम्दा लाग्दैनन्- भलै उनी सानै भूमिकामा छन्। उनको उपस्थिति स्टार दयाहाङको उपस्थिति होइन, उनको उपस्थितिलाई केही मान्ने हो भने त्यो उनको थिएटरप्रतिको लगाव र प्रेममात्र। नाटकमा एकसे एक अब्बल कलाकार छन्, कसैले ठूलो या सानो भूमिका भनेका छैनन्। दयाहाङ मात्र होइन, स्क्रिनमा जमिसकेकाहरु अभिनयमा राम्रा नै छन्, उम्दा देखिन्नन्।
विद्रोहीका रुपमा उभिएका मिलन कार्की, मुख्यमन्त्री बनेका रमेश बुढाथोकी, लाशका रुपमा उपस्थित राजन खतिवडा, जुद्धवीर बनेका प्रदीप चौधरीको अभिनयले सबैलाई झस्क्याउँछ। रञ्जना ओली, डेविन चौधरी, विकास जोशी, सोमनाथ खनाल, प्रमिला खनाल, शेखर चापागाईँ, राज न्यौपाने, प्रदीपकुमार चौधरी, सिर्जना सुब्बा सबै एकसे एक देखिएका छन्।
नेताको दोहरो चरित्रलाई रमेशविक्रमको चरित्रबाट रमेश बुढाथोकीले यति न्याय गरेका छन् कि त्योभन्दा बढी अपेक्षा गर्न सकिन्न।
त्यसो त, नाटक फिल्म होइन जसलाई एउटै हेराइले मूल्यांकन गर्न सकियोस्। हरेक दिन पात्रको परफर्मेन्समा उतारचढाव देखिएला। अघिल्लो दिन अब्बल अभिनय गरेको पात्र अर्को दिन फितलो हुनसक्छ। त्यसैले यो कुनै एक कलाकारको व्यक्तित्व वा अभिनय कुशलतामाथि प्रश्न होइन। सिंगो महाभोजको समीक्षा पनि होइन, एउटा टिप्पणी मात्र।
प्रेस, पोलिटिक्स र पुलिसबीचको गठजोडले न्याय कसरी चेपुवामा पर्छ भन्ने यथार्थलाई नाटकले प्रस्तुत गरिरहँदा राजनीतिप्रति वितृष्णा भने जगाउँछ, नाटकको एउटा दुर्बल पक्ष यही नै हो। मिडिया, राजनीति र सुरक्षाकर्मीमाथि विश्वास गर्ने आधार कतै पनि नहुने हो भने समाज नाटककै हविगतमा रहन्छ। त्यसैले नाटकले समग्र अवस्थाभन्दा एउटा गजबको 'केस' प्रस्तुत गरेको छ, जसमा अति यथार्थ उजागर हुन्छ। महाभोज तिनका लागि भने होइन, जो राजनीतिक प्रोपागान्डाबाट स्थापित हुने रहरमा छन्। र, त्यसका लागि पनि होइन, जसमा राजनीतिक सिद्धान्त र चेतभन्दा धेरै नेताको गुलामीमा विश्वास छ।