PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द : १ लाख ५० हजार पर्यटक अलपत्र



पहिलोपोस्ट

नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द : १ लाख ५० हजार पर्यटक अलपत्र
फोटोः रोयटर्स

लन्डन : नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द भएको छ। बेलायतको विश्वविख्यात ट्राभल एजेन्सी कम्पनी टमस कुक बन्द हुँदा घुमफिरमा गएका १ लाख ५० हजार पर्यटक विदेशमा अलपत्र परेका छन्।

बोरिसलाई नेपालमा होटल तथा हस्पिटालिटीका ‘पायोनियर’ मानिन्छ। उनले काठमाडौंमा खोलेको होटल रोयललाई नै नेपालको पहिलो होटल मानिन्छ। उनले अहिले निर्वाचन आयोग रहेको भवनमा होटल सञ्चालन गरेका थिए। उनका छोरा अझै पनि नेपालमा नै बस्छन्।

रसियाली बोरिस लिसानेभिच सन् १९५५ मा पर्यटक भिसामा नेपाल आउने पहिलो विदेशी हुन्। बोरिसलाई तत्कालीन राजा महेन्द्रले थोमस कुकमार्फत नेपाल बोलाएको मानिन्छ। 

टमस कुकले कलकत्ताबाट नेपाल पठाएको पर्यटकको पहिलो समूहमा २० जना रहेको र अधिकांश महिला रहेको पनि उल्लेख पाइन्छ। २० जनामध्ये १० जना अमेरिकी र २ जना ब्राजिली पर्यटक रहेका थिए।

१७८ वर्ष पुरानो कम्पनीले अन्तिम समयसम्म पनि बेलायत सरकारसँग जोगाउन आर्थिक सहायता मागेको बिबिसी, द गार्जियनरोयटर्स लगायत सञ्चारमाध्यमले जनाएका छन्। बेलायतको सिभिल एभिएसन अथारिटी (सिएए)ले तत्काल प्रभावी हुने गरी टमस कुकले कारोबार बन्द गरेको उल्लेख गरेको छ। लिसेस्टरसायरका क्याबिनेट निर्माण गर्ने टमस कुकले सन् १९४१ मा ट्राभल कम्पनी टमस कुक एन्ड सन्स स्थापना गरेका थिए। यसलाई बेलायतको मात्र नभएर विश्वकै सबैभन्दा पुरानो ट्राभल एजेन्सी मानिन्छ।

विदेशमा अलपत्र बेलायती पर्यटकलाई ल्याउन सिएएले ४० हवाईजहाज चार्टर गरेको बताएको छ। बिबिसीले भने आज साँझसम्ममा विदेशमा अलपत्र कम्तीमा पनि १४ हजार बेलायतीलाई ल्याइसक्ने अनुमान गरेको छ।

टमस कुकले पनि आफ्नो समूह अन्तर्गत सञ्चालित टमस कुक एयरलाइन्ससहित सबै कम्पनीहरुको कारोबार बन्द भएको एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ। टमस कुकले विज्ञप्तिमा क्षमायाचना गर्दै आफूमार्फत विदेश घुम्न गएका सबैको यात्रा, बसोबास तथा घुमघामका सबै प्याकेज रद्द भएको र आफ्ना सबै कार्यालयहरु बन्द भएको जनाएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो कम्पनी बचाउन टमस कुकले सरकारसँग १८ करोड ७१ लाख अमेरिकी डलर (१५ करोड बेलायती पाउन्ड) आर्थिक सहायता मागेको बताए। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कतर्फ उड्नुअघि उनले टमस कुकको सहायताको माग सरकारले अस्विकार गरेको बताउँदै सरकारले विदेशमा अलपत्र बेलायती पर्यटकलाई स्वदेश ल्याइने जानकारी दिए।

टमस कुकबाट विदेश घुमफिर बुकिङ गरि गएका बेलायती पर्यटकलाई स्वदेश ल्याउन बेलायत सरकार र सिएएले सहकार्य थालेका छन्। विदेशमा अलपत्र बेलायतीलाई सेप्टेम्बर २३ देखि ६ अक्टोबरसम्ममा स्वदेश ल्याइने भएको छ।

टमस कुकका प्रमुख कार्यकारी अधिकृत पिटर हान्कुजियरले कम्पनी बन्द भएकोमा आफ्ना लाखौं ग्राहक र कर्मचारीसँग माफी मागेका छन्। बेलायतका ९ हजार कर्मचारीसहित विश्वभरि टमस कुकका २२ हजार कर्मचारी छन्।

टमस कुकले विश्वका १६ देशमा करिब १ करोड ९० लाख पर्यटकका लागि अनेकौं होटल, रिसोर्ट र वायुसेवा सञ्चालन गर्दै आएको थियो। यतिबेला टमस कुकमार्फत घुमफिर र बिदा मनाउन करिब ६ लाख पर्यटक विश्वका विभिन्न ठाउँमा गएका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell