
टेलिभिजन क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एम्मी अवार्डस् २०१९’ सम्पन्न भएको छ। लस एन्जेलसको माइक्रोसफ्ट थिएटरमा आयोजित अवार्ड समारोहमा 'गेम अफ थ्रोन्स' आउटस्ट्यान्डिङ ड्रामा सिरिज घोषित भयो।
त्यस्तै 'गेम अफ थ्रोन्स'मा टीरियन लेनिस्टरको भूमिका निर्वाह गर्ने पिटर डिंक्लेजले आउटस्ट्यान्डिङ सपोर्टिङ एक्टर इन ड्रामा सिरिजको अवार्ड पाए। टेलिभिजन ड्रामा सेरिजमा सबैभन्दा धेरै मन पराइएको 'गेम अफ थ्रोन्स'ले दुई वटा मात्रै अवार्ड जितेको हो।
धेरै एम्मी अवार्ड जित्ने सिरिज भने 'फ्लिब्याग' भएको छ। 'फ्लिब्याग'ले आउटस्ट्यान्डिङ कमेडी सिरिजसहित चार वटा अवार्ड जितेको छ। फ्लिब्यागका निर्देशक ह्यारी ब्राडबियरले आउटस्ट्यान्डिङ डिरेक्टिङ फर कमेडी सिरिजको अवार्ड पाए। त्यस्तै कमेडी सिरिजमा आउटस्ट्यान्डिङ लिड एक्ट्रेस र आउटस्ट्यान्डिङ राइटिङ फर कमेडी सिरिजको अवार्ड सोही सिरिजबाट फिबी वालर ब्रिजले पाइन्।
त्यस्तै नेटफ्लिक्समा प्रसारण भएको 'ब्ल्याक मिरर: ब्यान्डरस्न्याच' उत्कृष्ट टिभी फिल्म ठहरियो।
एकेडेमी अफ टेलिभिजन आर्ट एन्ड साइन्सले आयोजना गर्दै आएको अवार्डको यो ७१ औं संस्करण हो। समारोहमा टिभी कार्यक्रम, सिरिज, रियालिटि सो र चलचित्रकर्मीलाई २७ विभिन्न विधामा उत्कृष्ट घोषित गरियो।
एम्मी अवार्डलाई टेलिभिजन शोहरुको सबैभन्दा ठूलो अवार्डको रुपमा लिइन्छ। फिल्मको लागि एकेडेमी अवार्डस् (ओस्कर अवार्डस्) तथा म्युजिकको लागि ग्राम्मी अवार्डस् जत्तिकै टेलिभिजनका लागि एम्मी अवार्ड सबैभन्दा प्रख्यात र महत्वपूर्ण छ।
यस्तो छ विजेता सूची:
कमेडी सिरिजतर्फ-
उत्कृष्ट अभिनेता : बिल हेडर (ब्यारी)
उत्कृष्ट अभिनेत्री : फिबी वालर ब्रिज (फ्लिब्याग)
उत्कृष्ट सह अभिनेता: टोनी शल्हुब (द मार्भलस मिसेस मिसेल)
उत्कृष्ट सह अभिनेत्री: एलेक्स बोर्सटेइन (द मार्भलस मिसेस मिसेल)
उत्कृष्ट निर्देशक: ह्यारी ब्राडबियर (फ्लिब्याग)
उत्कृष्ट लेखन: फिबी वालर ब्रिज (फ्लिब्याग)
ड्रामा सिरिजतर्फ
उत्कृष्ट अभिनेता: बिल्ली पोर्टर (पोज)
उत्कृष्ट अभिनेत्री: जोडी कोमर (किलिङ इभ)
उत्कृष्ट सह अभिनेता: पिटर डिङ्क्लेज (गेम अफ थ्रोन्स)
उत्कृष्ट सह अभिनेत्री: जुलिया गार्नर (ओजार्क)
उत्कृष्ट निर्देशक: जेसन बेटम्यान (ओजार्क)
उत्कृष्ट लेखन: जेस्से आर्मस्ट्रङ (सक्सेसन)
लिमिटेड सिरिजतर्फ
उत्कृष्ट अभिनेता: झरेल जेरोम (ह्वेन दे सि अस)
उत्कृष्ट अभिनेत्री: मिसेल विलियम्स (फोस/भर्डोन)
उत्कृष्ट सह अभिनेता: बेन ह्विस (अ भेरी इग्लिंस स्क्यान्डल)
उत्कृष्ट सह अभिनेत्री: पेट्रिसिया आक्र्वेट (द एक्ट)
उत्कृष्ट निर्देशक: योहान रेन्क (सेर्नोबिल)
उत्कृष्ट लेखक: क्रेग मेजिन (सेर्नोबिल)