PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरितासँग जोडिएको सिरियल किलिङ : दुरुत्साहनको मुद्दामा सफाइ पाएका रामले छोरीलाई मारेसँगै गरे आत्महत्या



एम बम

सरितासँग जोडिएको सिरियल किलिङ : दुरुत्साहनको मुद्दामा सफाइ पाएका रामले छोरीलाई मारेसँगै गरे आत्महत्या

कैलाली : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का राम कलेलले २०७२ सालमा सरिता कलेलसँग विवाह गरे। विवाहको ४ वर्ष नबित्दै २३ वर्षीया सरिताले गत वैसाख १६ गते आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरिन्।

सरिताले आत्महत्या गरेपछि माइतीले उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीलाई जाहेरी दिए। जेठ २६ गते अदालतको थुनछेक आदेशमा पुर्पक्षका लागि कैलाली कारागार चलान भएका कलेल साउन २२ गते अदालतबाट सफाइ पाएर रिहा भए।

‘कलेल दम्पतीबीच सामान्य घरायसी विवाद हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो,’ आत्महत्या दुरुत्साहनको जाहेरीका क्रममा अनुसन्धानबाट खुलेको कुरालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भने।

रिहा भएको झन्डै डेढ महिनापछि कलेलले आइतवार राति आफ्नी तीन वर्षीया छोरी अनुष्का कलेलको सल्फास (विष) खुवाएर हत्या गरे र आफू पनि त्यही सल्फास खाएर आत्महत्या गरे।

प्रहरी नायव उपरीक्षक बस्नेतले भने, ‘हिजो राति ८ बजे दाजुको घरमा खाना खाएर कोठामा सुत्न गएका २५ वर्षीय कलेलको कोठाबाट साढे ११ बजेतिर एक्कासी चिच्याएजस्तो होहल्लाको आवाज आयो। ढोका नखुलेपछि फोडेर भित्र पस्दा छोरी खाटमा मृत भेटिइन्, कलेल खाट तलको भुईँमा छटपटाइरहेका थिए। उनलाई बचाउन भनेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल अर्धचेत अवस्थामा पुर्‍याइए पनि बचाउन भने सकिएन।’

कलेलले अदालतको फैसलाका पछाडि तीन पाना लामो 'सुसाइड नोट' लेखेकाले श्रीमतीकै मृत्युसँग घटनाको केही सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। तर, सुसाइड नोटमा भने घरायसी ऋणबाट आत्महत्या गरेको कुरा उनले सङ्केत गरेको पाइएको प्रहरीले बताएको छ।

'आत्महत्या दुरुत्साहनको मुद्दा लागेर हो वा अन्य कारणले उनले आत्महत्या गरेका हुन्, उक्त विषयमा प्रहरीले अनुसन्धान थालेको छ', बस्नेतले भने।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्महत्या दुरुत्साहनका मुद्दा समेत बढ्दै गएका छन्। पहिले हत्या र पछि आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा गत आर्थिक वर्षमा १४ र चालू आर्थिक वर्षमा ३ वटा मुद्दा दर्ता भइसकेका छन्। त्यसमा एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एक जना साधारण तारेखमा छुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell