
अर्जेन्टिना एवम् वार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा वर्ष द वेस्ट खेलाडी अवार्ड जितेका छन्। उनले लिभरपुलका डच डिफेन्डर भर्जिल भ्यान डाइक र युभेन्टसका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोलाई पछि पारेका हुन्।
मेस्सीको यो उपाधि करियरको छैटौँ पटक हो। यसअघि उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए। ३२ वर्षीय मेस्सीले बार्सिलोनालाई ला लिगा जिताउन र च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका थिए।
सन् २०१८ र १९ मा मेस्सीले क्लब र देशका लागि ५८ खेल खेल्दै ५४ गोल गरे। यता क्रिश्टियानो रोनाल्डोले ४७ खेल खेल्दै ३१ गोल गरेका छन्।
गएराति इटलीको मिलानमा फुटबलको सर्वोच्च निकाय फिफाले उनलाई उपाधि दिएको हो।
महिलातर्फ मेगान रापोइले जितिन अवार्ड
यता महिलातर्फ अमेरिकाकी मेगान रापोइले वेस्ट फिफा फुटबल अवार्ड हात पारिन्। उनले अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्याण्डकी लुसी ब्रोन्जलाई पछि पार्दै उपाधि जितेकी हुन्। ३४ वर्षीय रापोइ सन् २०१९ मा भएको महिला विश्वकपमा उत्कृस्ट खेलाडी छानिँदै गोल्डन बल जितेकी थिइन्। त्यस्तै, महिला विश्वकप अमेरिकालाई जिताउन उनको महत्वपूर्ण भुमिका थियो।
योर्गन बने कोच अफ दी यिअर
लिभरपुलका योर्गन क्लोपले पुरुषतर्फको उत्कृस्ट कोचको उपाधि हात पारेका छन्। अघिल्लो सिजन टोटनह्याम्पलाई २–० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो। उनले म्यान्चेष्टर सिटीका पेप ग्वार्डियोला र टोटनह्यामका माउरिसियो पोचेटिनोलाई पछि पारे।