
काठमाडौं: संसदीय समितिमा दलका शीर्ष नेता हत्तपत्त जाँदैनन्। विषयवस्तु हेरेर कतिपय बैठकहरुमा शीर्ष नेताको उपस्थिति रहन्छ। पछिल्लो समय सूचना प्रविधि विधेयकको दफावार छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा विकास तथा प्रविधि समिति पुगे। अन्य बैठकमा देउवाको उपस्थिति शून्य नै थियो।
तर, प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा निकै गम्भीर मानिएको नागरिकता ऐन संशोधन विधेयकको छलफलमा शीर्ष नेता पुगेनन्।
साउन र भदौमा गरी समितिका ३१ बैठक बसेका छन्। जसमा साउनमा २० र भदौमा ११ बैठक बसे। तर, नागरिकताका विषयमा गम्भीर असहमति राख्ने र मिलाउने दायित्व बोकेका शीर्ष नेताको उपस्थिति निकै उपेक्षित रह्यो।
समितिले सोमबार दुई महिनाको हाजिरी विवरण सार्वजनिक गरेको छ। जसमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति शून्य छ।
यस्तै, कांग्रेस सांसद् विनोद चौधरी पनि ३१ मध्ये २ बैठकमा उपस्थित छ। भदौका ११ मध्ये कुनै पनि बैठकमा चौधरी उपस्थित भएनन्।
समितिमा ३१ बैठकमध्ये राजपाका सांसद्हरु राजेन्द्र महतो ७, राजकिशोर यादव ९ बैठक उपस्थित भए। यस्तै, सांसद् वृजेश गुप्ता १५ बैठकमा उपस्थित हुँदा जनार्दन शर्मा १६ बैठकमा उपस्थित भए।
को कति उपस्थित हेर्नुस् हाजिरी विवरण