काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा आज माल्दिभ्स र भुटान प्रतिस्पर्धा गर्दै छन्। हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने खेलले नेपालको समेत सेमिफाइनल यात्रा निर्धारण गर्ने छ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन तथा घरेलु टोली नेपालमाथि सहज जित निकालेको भुटान सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अर्कोतर्फ पहिलो खेलमा नेपालसँग बराबरी खेलेको माल्दिभ्स आफ्नो पहिलो जित निकाल्ने लक्ष्यमा छ। समूह ए मा नेपाल, भुटान र माल्दिभ्स छन्। भुटान ३ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र माल्दिभ्सको समान १/१ अंक छ। नेपाललाई सेमिफाइनल प्रवेश गर्नका लागि भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।
नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो। तर, आफ्नो दोस्रो खेलमा भने भुटानसँग ३–० को लज्जास्पद हार ब्यहोरेको थियो।
अर्कोतर्फ समूह बी बाट बंगलादेश सेमिफाइनल प्रवेश गरिसकेको छ। पहिलो खेलमा श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले दोस्रो खेलमा हिजो बलियो मानिएको भारतलाई बराबरीमा रोकेको थियो।