काठमाडौं : असोज १ गते बिहानै कपनमा एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परिन्। कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तु घर भएकी ५५ वर्षीया कमला कार्की मृत अवस्थामा फेला परेकी थिइन्। कोठाभित्र हात र मुख सलले बाँधिएको अवस्थामा उनको शव भेटिएको थियो। शवको प्रकृतिले कमलाको हत्या भएको इसारा गरिरहेको छ। तर, हत्या नै हो भनेर प्रहरीले मुख खोलिसकेको छैन।
कमलाले केही समयदेखि किराना तथा रक्सी पसल गर्दै आएकी थिइन्। कोठामा उनीमात्र एक्लै बस्ने गरेको पनि देखिएको छ। कमलाको हत्या कसले गर्यो भन्ने पत्ता लगाउन नसकेको प्रहरीले हत्या किन भयो भन्ने समेत खुल्न नसकेको जनाएको छ।
' हामी अनुसन्धान नै गरिरहेका छौं। घटना किन र कसले गर्यो भन्ने खुलेको छैन,' महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहले भने।
प्रारम्भीक अनुसन्धानमा कमलाले दोस्रो विवाह गरेको देखिएको थियो। तर, उनका श्रीमान् भने कोठामा भेटिएका थिएनन्। बेलाबेलामा मात्र उनी कोठामा आउने गरेको चाहिँ खुलेको छ।
'श्रीमान हो कि को हो खुलेको छैन। तर, एक जना पुरुष कहिलेकाहीँ कोठामा आउने गरेको बुझिएको छ,' डिएसपी सिंहले भने।
प्रहरीले उनको कोठामा आउजाउ गर्ने ती पुरुषमाथि अनुसन्धान गरिसकेको छ। तर, ती श्रीमान नभएर अरु नै भएको खुलेको छ। त्यतिमात्र होइन, नेपाल प्रहरीका एक जवान पनि उनको कोठामा कहिलेकाहीँ आउजाउ गरेको देखिएको प्रहरी स्रोतले जनायो।
घटना भएको भोलिपल्ट प्रहरीले अनुसन्धानको क्रममा एक महिला र पुरुषलाई नियन्त्रणमा लिएको थियो। उनीहरू घटना भएको अघिल्लो रात सँगै बसेका थिए। त्यही क्लुका आधारमा अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीसँग दिएको बयानमा उनीहरुले आफूहरु राति १० बजेपछि कमलाको कोठाबाट निस्किएको र त्यसपछिको घटना थाहा नभएको बयान दिए।
हत्या भएको रात कमला, उनीहरु दुई जना र थप तीन जनासँग बसेको देखिएको छ। अरु तीन जना को थिए भन्ने चाहिँ खुल्न सकेको छैन। प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पनि ती तीन जनालाई नचिनेको बताएका छन्।
कता गयो कमलाको मोबाइल
प्रहरीले मृतकले मोबाइल प्रयोग गर्ने गरेको तर घटनास्थलबाट मोबाइल फेला नपर्नुले थप शंका पैदा गरेको बताएको छ। कमलाको मोबाइल अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन। उनले बोक्ने मोबाइल बौद्ध महांकाल लोकेसनमा अफ भएको देखिएको छ। त्यस्तै कमलाले बोक्ने एउटा झोलासमेत कोठाबाट गायब भएको देखिएको छ।
'मोबाइल र झोला गायब हुनुले कतै लुट्नको लागि हत्या भएको त होइन भन्ने पनि देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
स्केच बनाउँदै प्रहरी
घटनाको अनुसन्धान अहिले महानगरीय अपराध महाशाखाले पनि गरिरहेको छ। हत्या भएको रात कमलाको कोठामा देखिएका तीन जनाको स्केच बनाउने काम भइरहेको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरुको बयानको आधारमा स्केच बनाउन लागेको हो।
'स्केच बनाउनेदेखि अन्य कोणबाट समेत अनुसन्धान गरिरहेका छौं,' डिएसपी सिंहले भने।