PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

अल–कायदालाई पाकिस्तानी सेना र आइएसआईले तालिम दिएको होः पाकिस्तानी प्रधानमन्त्री इमरान खान 



पहिलोपोस्ट

अल–कायदालाई पाकिस्तानी सेना र आइएसआईले तालिम दिएको होः पाकिस्तानी प्रधानमन्त्री इमरान खान 
फोटोः एएफपी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उग्रवादी समूह अल–कायदालाई पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आइएसआईले गुरिल्ला युद्धको प्रशिक्षण दिएको स्वीकार गरेका छन्। यसका साथै उनले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएका आतंकवादी आक्रमणपछि पनि अमेरिकालाई सघाएर पाकिस्तानले धेरै ठूलो गल्ती गरेको भन्दै सघाएकोमा पछुतो गरेको बिबिसी, टाइम्स अफ इन्डिया लगायत सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तर, इमरानले के भन्न छुटाएनन् भने- तत्कालीन सोभियत संघले अफगानिस्तान कब्जा गरेकाले त्यहाँ तैनाथ रसियाली सेनाविरुद्ध लड्न पाकिस्तानले अफगानिस्तानमा उग्रवादी समूह गठन गरेको र तालिम दिएको हो। 

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरानले न्युयोर्कमा अमेरिकी थिंक ट्यांक काउन्सिल अन फरेन रिलेसन्स (सिएफआर) ले आयोजना गरेको कार्यक्रममा अल–कायदालाई युद्ध तालिम दिएको स्विकार्दै र अमेरिकालाई सघाएकोमा पछुतो व्यक्त गरेका हुन्।

पाकिस्तानी प्रधानमन्त्री इमरानको यो स्वीकारोक्तिले उनलाई देशभित्र सत्ता सञ्चालनमा कठिनाइ उत्पन्न हुनसक्छ। किनभने पाकिस्तान स्थापना भएयता प्रायःजसो शासनसत्ता सञ्चालनमा सेनाको हालिमुहाली रहँदै आएको छ।

केही समयअघि अमेरिकाका पूर्व रक्षामन्त्री जेम्स म्याटिसले एउटा संस्मरणमा पाकिस्तानमाथि गरेको टिप्पणीबारे इमरानलाई कार्यक्रममा प्रश्न सोधिएको थियो। म्याटिसले गरेको टिप्पणी थियो– मैले जति पनि देशसँग काम गरेंँ, तीमध्ये पाकिस्तान सबैभन्दा खतरनाक देश हो।
म्याटिसको टिप्पणीको प्रतिक्रियामा पाकिस्तानी प्रधानमन्त्री इमरानले जवाफ दिए, ‘पाकिस्तानमा उग्रवाद यति धेरै किन फैलियो भनेर म्याटिसले जरैदेखि बुझेका छैनन्।'

‘सन् १९८० मा तत्कालीन सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्दा पाकिस्तानले अमेरिकासँग मिलेर संयुक्त प्रतिरोध गर्‍यो,’ त्यसपछि इमरानले सन् ८० को दशकको पाकिस्तान र अफगानिस्तानको परिस्थितिबारे विस्तृत चर्चा  गर्दै भने, ‘पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआईले विश्वभरिबाट बोलाएर त्यहाँ लड्न कट्टरवादीहरुलाई तालिम दियो र उनीहरुलाई सोभियत संघविरुद्ध युद्ध गर्न तयार पार्‍यो। पाकिस्तानले यसरी जिहादी समूह तयार गर्‍यो।’

अमेरिकालाई सघाउनु ठूलो गल्ती
इमरानले न्युयोर्कमा भने अनुसार त्यसपछि जब सन् १९८९ मा सोभियत सेना अफगानिस्तानबाट फिर्ता गयो र अमेरिका पनि पाकिस्तानबाट फिर्ता भयो।

‘त्यसपछि भने पाकिस्तानमा यिनै जिहादी समूह मात्र रहे। अनि सन् २००१ को सेप्टेम्बर ११ पछि पाकिस्तानले आतंकवादविरुद्ध अमेरिकालाई सघायो र यसपल्ट अमेरिका फेरि अफगानिस्तानमा फर्कियो,’ इमरानले भने, ‘पाकिस्तानले पहिले जिहादी ठानेका समूहहरु यतिबेलासम्म आतंकवादी समूह भइसकेका थिए।’ 

फोटोः द पायोनियर

उनले भने, ‘हामीले पहिले जिहादका लागि तालिम दियौं र पछि भने उनीहरुलाई नै हामीले आतंकवादी भन्यौं। मलाई लाग्छ, त्यसबेला नै हामी तटस्थ बस्नुपर्थ्यो। अमेरिकालाई सघाएर त्यसबेला पाकिस्तानले ठूलो गल्ती गर्‍यो।’

अमेरिकालाई आतंकवादविरुद्धको लडाइँमा सघाउँदा पाकिस्तानले १५० देखि २०० अर्ब अमेरिकी डलर नोक्सान भएको र यसपछि मात्र बल्ल पाकिस्तानको चेत खुलेको इमरानको भनाइ थियो।

‘मेरो विचारमा पाकिस्तान सरकारले आफूले गर्न नसक्ने काम गर्छु भनेर अमेरिकालाई वचन दिनु हुँदैनथ्यो,’ इमरानले जिहादी समूहहरुविरुद्धको अभियानमा अमेरिकालाई सघाएकोतर्फ इंगित गर्दै भने, ‘पाकिस्तानले चाहेरै पनि कसरी गर्न सक्थ्यो र? ती समूहहरु जुन पाकिस्तानी सेनानिकट थिए, अब पाकिस्तानी सेना तिनीहरुलाई नै सिध्याउने प्रयास गरिरहेको थियो।’

न्युयोर्कस्थित ट्विन टावर अर्थात् वल्र्ड ट्रेड सेन्टरका गगनचुम्बी भवनसहित अमेरिकामा आतंकवादी आक्रमण गरेको अल–कायदाका मुख्य नेता ओसामा बिन लादेन पाकिस्तानमा बसेकोबारेमा इमरानलाई सोधिएको प्रश्नको जवाफमा उनले अल–कायदासँग पाकिस्तानी सेना र आइएसआईको सम्बन्धबारे खुलासा गरेका हुन्।

अल–कायदालाई तालिम दिएको हो
‘पाकिस्तानी सेना र आइएसआईले अल–कायदा लगायत अन्य जिहादी समूहलाई अफगानिस्तानमा युद्ध गर्न तालिम दिए,’ इमरानले भने, ‘त्यही तालिम दिएकदेखि नै अल–कायदा लगायत समूहसँग पाकिस्तानी सेना र आइएसआईको सम्बन्ध कायम भयो।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले स्पष्ट शब्दमा स्वीकारे, ‘हामीले जिहादीहरुलाई प्रशिक्षित गर्‍यौं र त्यसबेला त्यही कामलाई महान काम भनेर प्रसंसा गरियो तर अहिले भने तिनै लडाकु समूहहरुलाई आतंकवादी भनिँदैछ। सन् १९८९ मा अफगानिस्तानबाट तत्कालीन सोभियत संघ बाहिरियो र अहिले अमेरिका पनि प्याक अप गरेर अफगानिस्तान छाड्ने तयारी गरिरहेको छ। तर, हामीले त यिनै लडाकु समूहबीच बाँच्नु छ।’

पाकिस्तानमाथि आतंकवाद र आतंकवादी समूहहरुलाई नियन्त्रण गर्न र प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय दबाब निरन्तर बढिरहेको छ। भारतसँगै अफगानिस्तानले पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा पाकिस्तानले आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै आएका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरानले अल–कायदा लगायत विभिन्न लडाकु समूहलाई पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आइएसआईले युद्धको तालिम दिएकोसँग सम्बन्ध रहेको खुलासा गरिरहँदा यसले भारत र अफगानिस्तानले पाकिस्तानमाथि लगाउँदै आएका आरोप सत्य भएको पुष्टि हुनेछ भन्ने हेक्का नराखेका हुन् कि वास्ता नगरेका हुन् भनेर परराष्ट्रविदहरु चकित परेका छन्। यसबाहेक पनि इमरानको स्वीकारोक्तिले पाकिस्तानी सेना र आइएसआईमाथि लडाकु समूह नियन्त्रण गर्न र उनीहरुसँग सम्बन्ध तोड्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाब अझै बढ्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell