
काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ मा आज माल्दिभ्स र भुटान गोलरहित बराबरीमा रोकिएका छन्। हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा माल्दिभ्स र भुटानले अंक बाँडेसँगै नेपालको साफ यू १८ को उपाधिमा ह्याट्रिक गर्ने सपना अधुरै रहेको हो। आज भएको खेलमा दुवै टिमले आक्रमक खेल प्रस्तुत गरेपनि त्यसलाई गोलमा परिणत गर्न भने असफल रहे।
बराबरीमा रोकिएसँगै भुटान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका छन्। २ खेलबाट ४ अंक जोडेको भुटान समूह 'ए' को समूह विजेता बनेको छ भने दुवै खेलमा बराबरीमा रोकिएको माल्दिभ्स २ अंकसहित उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ। नेपाल भने १ बराबरी र १ पराजय ब्यहोर्दै समूह चरणबाटै बाहिरिएको छ।
नेपालले पहिलो खेलमा माल्दिभसँग १/१ को बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै दोस्रो खेलमा भुटानसँग ३–० गोल अन्तरले पराजित भएको थियो।
अर्कोतर्फ समूह 'बी'बाट बंगलादेश सेमिफाइनल प्रवेश गरिसकेको छ। पहिलो खेलमा श्रीलंकामाथि सहज जित निकालेको बंगलादेशले दोस्रो खेलमा हिजो बलियो मानिएको भारतलाई बराबरीमा रोकेको थियो।
भाेलि हुने समूह 'बी' को खेलमा श्रीलंका र भारतले प्रतिस्पर्धा गर्नेछन्।