PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उपनिर्वाचनको तयारीमा तात्यो कास्की क्षेत्र नम्बर २, भोटर भन्छन् : पर्यटक उम्मेदवार चाहिएन, भिडन्तमा को को?



विष्णु गौतम

उपनिर्वाचनको तयारीमा तात्यो कास्की क्षेत्र नम्बर २, भोटर भन्छन् : पर्यटक उम्मेदवार चाहिएन, भिडन्तमा को को?

पोखरा : निर्वाचन आयोगले उपनिर्वाचनका लागि मिति तय र दल दर्ताको आव्हान गरेपछि कास्कीको क्षेत्र नम्बर २ एकाएक चुनावी माहौलले तातेको छ। प्रतिनिधिसभा सदस्यका लागि रिक्त क्षेत्र भएको देशको एक मात्र क्षेत्र भएकाले यहाँ चुनावी तामझाम बढेको हो।

तत्कालीन नेकपा एमालेले जितमा ह्याट्रिक गरेको क्षेत्र हो यो। यही क्षेत्रबाट रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेका थिए। गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि उनको स्थान रिक्त छ।

केन्द्रीय राजनीति र सरकारमा ठूलै प्रभाव पर्ने भन्दै राताराता केन्द्रीय राजनीतिमा ठूलै पहिचान बनाएका तीन जना नेता चुनावमा उठ्ने चर्चा चल्यो। नेकपाबाट वामदेव गौतम, नेपाली कांग्रेसबाट धनराज गुरुङ र साझा पार्टीका रवीन्द्र मिश्रको नाम चर्चामा चुलियो। तर, हल्ला चलेको केही समयपछि नै दुई जनाले सार्वजनिक कार्यक्रम मार्फत् कास्कीको चुनावमा उम्मेदवारी नदिने घोषणा गरिसके। नेकपाका वामदेव गौतम र साझाका रवीन्द्र मिश्रले चुनावमा आफ्नो उम्मेदवारी नहुने बताए भने धनराज गुरुङ अहिले सम्म मौन छन्।

उनीहरु एकाएक पछि हट्नुको कारण स्थानीय मतदाताहरुले स्थानीय प्रतिनिधिकै माग गर्नु हो। सामाजिक संजालमा 'आयातित र पर्यटक उम्मेदवारलाई हराउने' भन्ने पोस्ट हुन थालेपछि उनीहरु पछि हटेका हुन्।

कास्की क्षेत्र नम्बर २ पूर्व एमालेको क्षेत्र भएकाले त्यहाँ पूर्व माओवादीलाई टिकट दिने सम्भावना कम छ। त्यसैले बलियो उम्मेदवार भएर पनि पूर्व माओवादीका नेता राजकाजी गुरुङ मौन छन्। त्यसो त उनि यहि क्षेत्रबाट प्रदेश चुनावमा हारिसकेका छन्। बरु, पूर्व एमाले भित्रको गुटहरुमा वामदेव हावी भएको चर्चाले कास्की तातेको छ। त्यसका अवला विद्या भट्टराई, रश्मी आचार्य, सोमनाथ अधिकारी 'प्यासी', तुलबहादुर गुरुङको नाम चर्चामा छ। तुलबहादुर माधव नेपाल नजिक हुन् भने अन्य अध्यक्ष केपी शर्मा ओली पक्षका। तर पनि उनीहरु सबैको बलियो प्रभाव भने छैन।

नेकपाका कास्की जिल्ला अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापाले भने, 'चुनाव हाम्रो जिल्लामा हुने हो र म यो जिल्लाको अध्यक्ष हो। त्यसैले मलाई नै थाहा नदिइकन कसरी चुनाव होला र चुनाव जितिएला?'

बजारमा चलेका सबै हल्ला मात्रै भएको उनको भनाई छ।

'केन्द्रले निर्णय गरेछ भने पनि त्यो भन्दा पहिला जिल्लाको राय माग्ला। अनि त्यसपछि हामीले इमान्दार भएर राय दिउँला। कास्कीका आम नागरिकको चाहना यही छ,' उनले भने।

उनले हल्लाको पछि कुद्नु वेकार हुने धारणा राखे। भने, 'यदि पार्टीले जिल्लालाई नसोधी निर्णय गरेछ भने इमान्दार कार्यकर्ताको हिसाबले त्यसलाई मान्नुपर्छ।'

नेकपा पनि अहिले टोल टोलका संगठनलाई मजवुत बनाउने भन्दै आन्तरिक अभियानमा लागेको अध्यक्ष थापाले जानकारी दिए। नेकपा कास्कीका केही नेता तथा कार्यकर्ताको भनाइलाई आधार मान्ने हो भने अहिलेको बलियो उम्मेदवार अधिकारी पत्नी विद्या भट्टराई हुन्। उनी स्वयमले पनि आफ्ना श्रीमान रवीन्द्र अधिकारीको क्षेत्र भएका कारण  र महिला भएका कारण पनि आफू बलियो उम्मेदवार भएको बताउँदै आएकी छिन्।

उनी भन्छिन्, 'म पार्टीको इमान्दार कार्यकर्ता हुँ। त्यसैले पनि पार्टीले गरेको निर्णयलाई सिरोपर गर्नेछु। पार्टीले मलाई उठाएमा म कुनै पनि हालतमा पछि हट्ने छैन।'

उनका समर्थकहरुले पनि उनी मात्रै अहिलेको उपनिर्वाचनको योग्य उम्मेदवार भएको धारणा सार्वजनिक गर्न थालेका छन्। यता माधव नेपाल पक्षहरु भने तुलबहादुर गुरुङलाई टिकट दिनु पर्ने भन्दै चर्चा चलाउन थालेका छन्। उनीहरुले स्थानीय र २०४८ सालमा २८ वर्षकै उमेरमा चुनाव जितेकाले पनि गुरुङलाई नै टिकट दिनु पर्ने माग गरेका छन्। अन्य बाँकी सबै आकांक्षीका रुपमा मात्रै रहेका छन्।

कस्सियो कांग्रेस पनि

नेपाली कांग्रेसले दोश्रो चरणको जागरण कार्यक्रम अन्तर्गत टोल टोल र वडा वडामा चुनावी रणनीतिमा केन्द्रीत भएर प्रचारप्रसार सुरु गरिसेकेको छ। जति पनि स्थानमा कार्यक्रम हुन्छन्, सबै स्थानमा मुख्य वक्ताले भन्ने कुरा एउटै छ - उम्मेदवार को भन्ने होइन, जो उठे पनि मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारलाई विजयी गराउँ।

स्वास्थ्य समस्याका कारण लामो समय आराममा रहेका कांग्रेस कास्कीका सभापती कृष्ण केसीले भने, 'हामीले अहिले पार्टीलाई आन्तरिक रुपमा बलियो र एक बनाउन सबै संयन्त्र प्रयोग गरेका छौं।'

जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आयोजना गरिएको कार्यक्रममा बोल्ने सबै वक्ताहरुले गएको निर्वाचनमा अन्तर्घात भएका कारण चुनाव हारिएको स्वीकार गर्दै भनेका थिए, 'अबअन्तर्घात नगर्नुहोला र गरे पनि कांग्रेसको रुख चिन्हमा नै मतदान गर्नुहोला।'

अघिल्लो चुनावमा नेकपा एमालेका रवीन्द्र अधिकारीसँग हार बेहोरेका कांग्रेस प्रत्यासी देवराज चालिसेले अन्तर्घात भएको कुरालाई घुमाउरो पारामा भने, 'अहिलेको चुनावमा जो उठे पनि पहिलेको जस्तो हुनु हुँदैन, देखिने गरी हामी सबै एक हुन जरुरी छ।'

कास्की कांग्रेसका सभापति केसीले अहिलेको उप निर्वाचनले व्यक्ति र उम्मेदवार भन्दा पनि विधि र जनमतको पक्षमा निर्णय गर्ने धारणा राखे। भने, 'हामीले चयन गर्ने उम्मेद्वार सोही क्षेत्रको मतदाता हुनुपर्छ अन्य खालको निर्णय कास्कीले गर्दैन।'

उनको भनाई अनुसार पनि कास्कीले अहिलेको चुनावमा अघिल्लो पटकका उम्मेदवार देवराज चालिसेलाई नै उठाउने पक्का पक्की जस्तो भएको छ।

नेपाली कांग्रेस कास्कीका प्रचार विभाग हेर्ने जिम्मा पाएका जिल्ला कमिटी सदस्य नविन सिग्देलले कास्की २ को उपनिर्वाचनका लागि अहिलेसम्म कुनै पनि तहमा छलफल नै नभएको धारणा राखे।

उनले भने, 'नेपाली कांग्रेस कास्कीले सिफारिस गरेको उम्मेद्वारले मात्रै यहाँ चुनावमा लड्ने हो, हामी जागरण अभियानमा व्यस्त भएका कारण अहिलेसम्म जिल्ला वा क्षेत्रको निर्वाचन केन्द्रित बैठक नै बसेको छैन। जिल्लाले सकेसम्म सोही निर्वाचन क्षेत्रभन्दा बाहिरको व्यक्तिलाई सिफारिस गर्दैन। हामीले स्थानीयलाई नै सिफारिस गर्छौं। बाहिरको नेताहरुले उठ्छु भन्नुमा कुनै तुक छैन। अहिले सम्म जे छ त्यो सबै हल्लामात्रै हुन्।'

नेपाली काँग्रेसमा अहिले देवराज चालिसे, वीरेन्द्र नारायण विजुक्छे, सोभियत बहादुर अधिकारी, खेमराज पौडेल, महादेव गुरुङ, गुरु बराल र कृष्ण कार्कीको नाम चर्चामा छ। त्यस्तै नेपाली कांग्रेसबाटै साझा पार्टीमा गएकी चर्चित युवा नेतृ तथा पुर्व मिस पोखरा रजनी केसीको पनि चर्चा उत्तिकै छ। उनलाई केन्द्रीय सदस्य बनाउने र चुनावमा उम्मेदवार बनाउने सर्तमा साझा प्रवेश गरेकी हुन्, रजनी।

पार्टी प्रवेश कार्यक्रममा केसीले भनेकी थिइन्, 'म साधारण सदस्यको हैसियतले पार्टी प्रवेश गरेकी हुँ तर पार्टीले दिएको जिम्मेवारीबाट पछि हट्दिन।'

उनी चुनावमै उठ्ने तयारीका साथ पोखरा विश्वविद्यालयको स्थायी जागिरसमेत छोडेर पार्टी प्रवेश गरेकी थिइन्। त्यसो त साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले नयाँ र स्थानीय योग्य उम्मेद्वार उठाउने तयारी गरेको बताएका छन्। निर्णय भने भइनसकेको उनी बताउँछन्।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडाहरु पर्छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम हेर्ने हो भने रवीन्द्र अधिकारीले २७ हजार दुई सय सात मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत ल्याएका थिए। प्रत्यक्षतर्फ रवीन्द्र अधिकारी ८ हजार ५ सय मतान्तरले अगाडि हुँदा समानुपातिकमा भने ६ हजार ५ सयको मतान्तर रहेको थियो। यसरी हेर्दा रवीन्द्रको व्यक्तिगत मत दुई हजारले बढी थियो। अहिले नेकपाको कार्यशैलीका कारण पनि आम मतदातामा नकरात्मक असर परेकाले योग्य स्थानीय र चर्चित उम्मेदवारले चुनाव जित्ने देखिन्छ।

त्यसैले पनि कास्कीको उपनिर्वाचनमा जिल्लाकै र सोही निर्वाचन क्षेत्रकै उम्मेदवारले जित्ने सम्भावना प्रवल हुन्छ। उम्मेद्वार सार्वजनिक नहुँदै पनि कास्कीका जनताले बाह्य नेतालाई आफ्नो उम्मेदवारको रुपमा विश्वास नगर्दा र पार्टीले पूर्ण समर्थनमा उम्मेदवारी प्रस्तुति नगरेको अवस्थामा कास्कीको निर्वाचनको नतिजा अप्रत्यासित आउने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell