काठमाडौं : प्रहरीले अपहरणको 'अभिनय' गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका बडा नम्बर ११ फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई नियन्त्रणमा लिएको हो।
असोज ४ गते गते दिउँसो करिब साढे १ बजे अपहरणमा परेको भनी प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पौडेलको खोजी थालेको थियो। पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी राजकुमार केसीको मोबाइलमा आफू अपहरणमा परेको भन्दै फोन गरेका थिए।
'करिब साढे १ बजेतिर फोन गरेर अपहरण परेँ। अपहरणकारी भागे भन्दै फोन गरेका थिए। मैले प्रहरी कार्यालय आउनु भनेको थिए। तर, आएनन्,' केसीले भने।
तर, भोलिपल्ट नै पौडेलले रुपन्देही जिल्ला पुगेर आफूलाई पोखराबाट अपहरण गरी अपहरणकारीहरुले छाडेर भारततर्फ गएको भन्दै फेरि प्रहरीको सम्पर्कमा आएका थिए।
'केही समयमा नै जिल्ला प्रहरी कार्यालयमा आउछु भनेको मान्छे रुपन्देही पुगेपछि शंका लाग्यो,' डिएसपी केसीले भने।
प्रहरीको सम्पर्कमा आएका पौडेललाई आफन्तको जिम्मा लगाएर प्रहरीले अपहरणकारी खोज्दै जाँदा उनले अपहरणको अभिनय गरेको खुलेको हो। प्रहरीको अनुन्धानमा कसैले अपहरण गरेको नभई जग्गा लेनदेनको विषयलाई लिएर अरुलाई झुक्याउनका लागि अपहरणको अभिनय गरेको खुलेको हो। पौडेलले प्रहरी समक्ष आफूले झुट बोलेको स्वीकारेका छन्।
'लेनदेनको कुरा भएकाले फसाउन नाटक गरेको बताएको छ,' डिएसपी केसीले भने।
अपहरणको अभिनय गर्ने पौडेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।