PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक



पहिलोपोस्ट

विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

काठमाडौं : आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए। उनले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको बताउँदै उपन्यासमा प्रौढ र खारिएको भाषा आएको बताए। घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको उनको भनाइ थियो।

त्यसैगरी कार्यक्रममा बोल्दै लेखक डा. अर्चना थापाले अहिलेको समयमा वेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताइन्। समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको बताइन्। उनले उपन्यासले बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतिकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको बताइन्।

‘उपन्यासमा पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैलीलाई भंग गरेर नयाँ शैली निर्माणमा जोड दिएका छन्। परम्परागत रूपमा त्याग र समर्पणको यात्रामा पुरुष पात्र नै देखिने गरेको तर लेखक महिलालाई त्यसमा अघि सारेर सामाजिक न्याय र समानताको पक्षमा उभिएका छन्,’ उनले भनिन्। उनले पुस्तक लेखन शैली र कथ्य दुवै हिसाबले बलियो रहेकोमा जोड दिइन्।

कार्यक्रममा बोल्दै जनयुद्धका क्रममा बेपत्ता पारिएको विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए। उनले भने, ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ। छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ।’

उनले लेखकले परिकल्पना गरेजस्तो बेपत्ता परिवारको पीडालाई बुझेर आत्मआलोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकोले उपन्यास अध्ययनले त्यसतर्फ झक्झक्याउनेमा विश्वास व्यक्त गरे।

पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो। ३ सय पृष्ठको उपन्यासको मूल्य ३ सय ९५ रुपैयाँ रहेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell