
वीरगंज : बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नम्बर २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ।
आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा भएका ९२ वटा सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए।
समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नम्बर २ का ८ जिल्लाको २२५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटमा पार गर्नुपर्ने नियम लागू भएको छ।
प्रदेश नम्बर २ को पथलैयादेखि पूर्वको भारदहसम्म २२५ किलोमिटर तय गर्दा चालक तथा यात्रुलाई सहज होस् भनेर प्रदेश नम्बर २ को मध्य भाग लालगढमा ट्राफिक प्रहरीले बनाएको विश्रामस्थलमा १० मिनेट रोक्न सक्ने व्यवस्थासमेत मिलाइएको छ। त्यहाँ यात्रुका लागि खानपान, शौचालय, स्नानगृहसमेतको व्यवस्था मिलाइएको बताइएको छ।
कुनै सवारीसाधन अत्यधिक गतिमा तोकिएको समयभन्दा चाँडै गएमा त्यस्तो सवारीसाधनलाई कारवाहीसमेत गरिने जनाइएको छ। ‘हाम्रो अभियान सहज र सुरक्षित ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ लागू गरिएको टाइमकार्डका कारण सवारी दुर्घटनामा कमी आउने विश्वास लिइएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ३५२ वटा सवारी दुर्घटनामा परी ४९६ जनाले ज्यान गुमाएका थिए भने ६५६ सख्त घाइते र ९१४ सामान्य घाइते भएका थिए। सोही आवमा ६१ हजार ३७० सवारीसाधनलाई कारवाही गरी एक करोड ९१ लाख आठ हजार रुपैयाँ जरिवानाबापत असुल गरिएको थियो। रासस