PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

बञ्चरेडाँडामा निर्माणधीन फोहोर संकलनस्थल निर्माण कार्य रोकियो



पहिलोपोस्ट

बञ्चरेडाँडामा निर्माणधीन फोहोर संकलनस्थल निर्माण कार्य रोकियो
फाइल फोटो

काठमाडौँ शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण सुरु गरेको दीर्घकालीन फोहोर संकलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ। बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको  दीर्घकालीन फोहोर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ।

लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए। उनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ।

डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकेर दुई साताअघि निर्माणकार्य अन्तर्गत माटो मिलाउने काम भइरहेको थियो। हाल निर्माण भइरहेको दीर्घकालीन फोहोर व्यवस्थापनस्थलसम्म जान अहिले फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट दुई किलोमिटर पर पर्दछ। केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्याण्डफिल) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको माग अनुरुप शहरी विकास मनत्रालयले निर्माणको काम अघि बढाएको हो।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ। मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणकार्य शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो। करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ।

निर्णय अनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ। दुई वर्षका लागि भनेर विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन गरिँदै आएको छ। सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आएकाले पछिल्लो समय त्यहाँका स्थानीय बासिन्दाले फोहर विसर्जनस्थल अन्यत्र सार्न दबाब दिएपछि बञ्चरेडाँडामा निर्माणको काम सुरु गरिएको हो। 

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell