
स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि २–१ को संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १५ मिनेट भित्रै २ गोल गरेको बार्सिलोनालाई त्यही गोल जितका लागि पर्याप्त बन्यो।
एन्टोनी ग्रिजम्यानले खेलको छैठौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। फेरि, त्यसको ९ मिनेट पछि आर्थरले गोल गर्दै अग्रता दोब्बर बनाए।
यता भिल्ला रियलका लागि ४४ औं मिनेटमा काजोर्लाले गोल गरेर आफ्नो टिमलाई खेलमा फर्काउन प्रयास गरे पनि उनको गोल जितका लागि पर्याप्त हुन सकेन।
हिजो भएको खेलमा मेस्सी चोट पछि मैदान फर्किएका थिए, यद्यपि दोस्रो हाफमा भने उनी थाइमा समस्या भएका कारण मैदान बाहिरै रहे।
खेल पछि बार्सिलोनाका प्रशिक्षक एरनेस्टो भाल्भेरेडले मेस्सीको थाइमा सामान्य समस्या भएको बताएका छन्। 'जब मेस्सीलाई केही हुन्छ, सबै जना रोकिन्छन्। मैदानमा मात्रै होइन, जसले खेल हेरिरहेका हुन्छन्।' उनले भनेका छन्।
यो जितसँगै बार्सिलोना तालिकामा चौथो स्थानमा उक्लिएको छ। यो सिजन खराब सुरुवात गरेको बार्सिलोनाको यो जित संगै प्रशिक्षक भाल्भेरेडमाथिको दबाब केही कम भएको छ।
बार्सिलोनाले जारी सिजन ६ खेल खेल्दै ३ जित, २ हार र १ बराबरी गर्दै १० अंक जोडेर तालिकाको चौथो स्थानमा छ। यता ६ खेल खेलेको ग्रानडा र समान ५/५ खेल खेलेका एथ्लेटिको मर्डिड र रियल मर्डिड समान ११ अंक सहित तालिकामा क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।